coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महात्मा गान्धीको हत्यारालाई देशभक्त भनेपछि हंगामा

नयाँ दिल्ली – भारतको सत्तारुढ भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीको हत्यारालाई देशभक्त भनेपछि भारतभर हंगामा भएको छ। महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई ‘एक देशभक्त’ व्यक्ति भन्ने सांसद ठाकुरलाई महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ। त्यसैगरी, यस विषयमा सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएपछि भारतीय जनता पार्टीले पनि खेद व्यक्त गरेको छ।

सांसद ठाकुरले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई ‘देशभक्त’ भनेको यो दोस्रो पटक हो। यसअघि उनले गत मे महिनामा यस्तो अभिव्यक्ति दिएकी थिइन्। विवादास्पद छवि भएकी सांसद ठाकुरमाथि सन् २००८ को ६ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते हुने गरी गराइएको एउटा विस्फोटमा संलग्न रहेको आरोप पनि यथावत् नै छ। यद्यपि उनले आफूमाथि लागेका आरोपको अस्वीकार गर्दै आइरहेकी छन् र हाल उनी धरौटीमा छुटेर जेलबाहिर रहेकी छन्।

यसअघि पनि महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई राष्ट्रभक्तको संज्ञा दिएकी सांसद ठाकुरले यसपटक भने संसद्को तल्लो सदनमा बुधबार भएको एउटा छलफलका क्रममा पुनः सोही विषय दोहो-याएकी छन्। संसद्को छलफलकै क्रममा विवादास्पद अभिव्यक्ति दिएकी सांसद ठाकुरको भनाइलाई लिएर चौतर्फी विरोध भइरहँदा उनको दल भारतीय जनता पार्टी र त्यसको नेतृत्वमा रहेको केन्द्रीय सरकारले पनि आलोचना गरेको बिबिसीले उल्लेख गरेको छ।

केन्द्र सरकारका रक्षामन्त्री राजनाथ सिंहले बिहीबार देशको संसद्मा बोल्दै सांसद ठाकुरले बुधबार संसदीय छलफलका क्रममा दिएको अभिव्यक्तिको कडा शब्दमा आलोचना गरे। ‘हामी नाथुराम गोड्सेलाई देशभक्त भनेर व्याख्या गर्ने कुनैपनि दर्शनप्रति खेद व्यक्त गर्छौ,’ भारतीय जनता पार्टीका नेता एवं रक्षामन्त्री राजनाथ सिंहले भने।

सिंहले गान्धीको दर्शन अझै सान्दर्भिक रहेको भन्दै उनलाई मार्गदर्शकको रूपमा व्याख्यासमेत गरेका छन्। बिहीबार ठाकुरको नाम ट्विटरमा सबैभन्दा धेरै प्रयोग गरिएको नाम बनेको छ र अधिकांश ट्विटमा उनको आलोचना गरिएको छ।
ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा सांसद ठाकुरलाई उनको दल भारतीय जनता पार्टीले निष्कासन गर्नुपर्ने आवाज पनि उठेको छ।

कंग्रेस नेता राहुल गान्धीले पनि सांसद ठाकुरको अभिव्यक्तिलाई ट्विटमार्फत आलोचना गरेका छन्। उनले सांसद ठाकुरलाई आतंकवादीको संज्ञासमेत दिएका छन्। तर ठाकुरको अभिव्यक्ति गान्धीलाई नरमपन्थी मान्ने कतिपय दक्षिणपन्थी हिन्दुको विचारसँग मेल खान्छ। सन् १९४८ मा राष्ट्रवादी दक्षिणपन्थी समूहका कार्यकर्ता रहेका गोड्सेले नजिकैबाट गान्धीको छातीमा तीन गोली प्रहार गरेका थिए। हिन्दु चरमपन्थीले गान्धीलाई मुसलमानप्रति नरम रहेको र त्यसकै कारण बेलायतसँगको स्वतन्त्रतापछि देश टुक्रिएको र हिंसा फैलिएको आरोप लगाउने गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७६ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App