१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

सर्वोच्च अदालतको आदेश पछि ब्राजिलका पूर्वराष्ट्रपति जेलमुक्त हुने सम्भावना

फाइल फोटो

ब्रासिलिया– ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ। 

फौजदारी मुद्दामा पहिलो सुनुवाई हुँदा कुनै व्यक्ति हारेमा पनि त्यस्तो अभियोग प्रमाणित नहुँदासम्म जेल जानैपर्ने यसअघिको फैसला अदालतले उल्ट्याएको छ। यही आधारमा नेता लुला तत्कालका लागि जेलमुक्त हुनसक्ने अड्कलबाजी गरिएका छन्।

लुलाका वकीलहरुले पूर्व राष्ट्रपति लुलाको तत्काल रिहाईका लागि पहल गरिने बताएका छन्। लुलाका कानुन व्यवसायीहरुले जारी गरेको वक्तव्यमा पूर्व राष्ट्रपति लुलाले कुनै गलत कार्य नगरेको र कानुनी जालोबाट पीडित मात्र बनाइएको जिकिर गरेका छन्। उनीहरुले लुलाको राजनीतिक जीवन समाप्त पार्न कानुनी अडचन झिकेर फसाइएको दाबी गरेका छन्।

सर्वोच्च अदालतमा नयाँ आदेशको पक्ष र विपक्षमा न्यायाधीशहरु बाँडिएका थिए। मतविभाजनका आधारमा गरिएको निर्णयमा तीन वर्ष पहिलेको आदेशलाई उल्ट्याउने पक्षमा ६ र विपक्षमा ५ मत परेको थियो। ‘कार वास’ नामको एक अनुसन्धानमा पूर्व राष्ट्रपति लुलाको संलग्नता रहेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ। 

अदालतको आदेश जेजस्तो भए पनि अभियोजनकर्ता सरकारी वकिलहरुले लुला विरुद्धको भ्रष्टाचार छानबिनलाई निरन्तरता दिने बताएका छन्। आमजनताले पनि ब्राजिलमा मौलाएको भ्रष्टाचारका कारण दैनिक जीवन कष्टकर बनेको तथा राष्ट्रको प्रतिष्ठा रसातलमा पुगेको भन्दै आक्रोश पोख्दै आएका छन्।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोजे एन्टोनियो डायास टोफोलीले नयाँ आदेशको पक्षमा मतदान गरेका थिए, यद्यपी उनले ठूलो संख्याका राजनीतिक नेताहरुले सर्वोच्चको पूर्व निर्णयलाई यथावत राख्न अनुरोध गरेका थिए।

अदालतले यही प्रकृतिका मुद्दामा जेलजीवन व्यतित गरिरहेका पाँच हजारभन्दा बढीको सुनुवाई गर्नु पर्नेछ। तर हिंसात्मक अपराधमा दोषी ठहर भएका व्यक्तिका सन्दर्भमा भने यो आदेश कार्यान्वयनमा आउने छैन।

सर्वोच्च अदालतमा नयाँ आदेशको विपक्षमा मतदान गरेका न्यायाधीश लुइस रोबर्टो बारोसोले पछिल्लो व्यवस्था गरिबका लागि नभई धनीहरुका लागि फलदायी हुने दाबी गरे। लुलाले स्थापना गरेको वर्कर्स पार्टीका सभापति ग्लेसी होफमानले क्रुरताको अन्त्य हुने विश्वास व्यक्त गरे। एएफपी

प्रकाशित: २२ कार्तिक २०७६ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App