लाहोर (एजेन्सी) – पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई बुधबार अस्पताल डिस्चार्ज भएका छन्। अस्पतालबाट उनलाई सिधैं घर लगिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ‘सर्भिस इन्स्टिच्युट अफ मेडिकल साइन्स (सिआइएमएस)’ मा केही सातादेखि उपचार गराइरहेका सरिफलाई डिस्चार्ज गरेर आफ्नै निवास जाती उमरा पठाइएको सो अस्पताले बताएको छ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उनलाई गत अक्टोबर २२ तारिखका दिन अस्पताल भर्ना गरिएको थियो। उनको रगतमा समस्या रहेको चिकित्सकहरुले जानकारी दिएका छन्।
सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल—एन) का प्रवक्ता मारियाम औराङजेबले जारी गरेको वक्तव्यका अनुसार सरिफको निजी निवासमा अति सघन कक्ष (आइसियू) को व्यवस्था गरेर उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।
उनले सरिफका लागि घरमै चिकित्सकको समेत व्यवस्था गरिएको तर भेटघाट गर्न भने नदिइने भएको पनि जानकारी दिएका छन्।
रोग थप बढ्न र बल्झिन सक्ने सम्भावना भएकाले चिकित्सकहरुको विषेश टोली नै बनाएर खटाइएको र अरूलाई भने भेट्न नदिइने व्यवस्था गरिएको चिकित्सकहरुलाई उद्धृत गर्दै प्रवक्ता औराङबेजले बताए।
भ्रष्टाचार गरेको ठहरसहित अदालतको आदेशमा कारागारमा रहेका सरिफलाई स्वास्थ्यस्थिति गम्भीर भएपछि उपचार प्रयोजनका लागि अस्पताल लगिएको थियो।
अस्पताल लगिएको केही दिनपछि गत अक्टोबर २९ तारिखका दिन इस्लामाबादको उच्च अदालतले सरिफलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
प्रकाशित: २१ कार्तिक २०७६ ०४:३१ बिहीबार





