coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युवाहरूको उत्थानका लागि पाकिस्तानद्वारा नयाँ कार्यक्रम

इस्लामावाद – युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ ।

‘सफल युवा कार्यक्रम’ नाम दिइएको उक्त आयोजनाले यूवालाई स्रोत तथा अवसर प्रदान गर्ने सरकारी अधिकारीले बताएका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

कार्यक्रमअन्तर्गत यूवालाई कुनै उद्यम सञ्चालनका लागि ऋण उपलब्ध गराइने, शैक्षिक तथा सीप विकासका अवसर दिइने र यूवा वेरोजगारसम्बन्धी समस्यालाई सम्बोधन गरी मुलुकको गरिबी नियन्त्रण र अर्थतन्त्र विकासमा टेवा पु¥याउने बताइएको छ ।

‘कार्यक्रम यूवालाई आर्थिकरूपमा स्वतन्त्र बनाउन र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई महत्व दिन कोसेढुङ्गा सावित हुनेछ,’ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कार्यक्रमको उद्घाटन गर्दै इश्लामावादमा बताए ।

उनले भने, ‘कार्यक्रमले उद्यमका लागि यूवालाई  विभिन्न तीन तहमा ऋण दिनेछ । ऋण ब्याजरहित, छुट तथा नियमित हुनेछ । यस योजनाले मुलुकका विभिन्न शहर तथा ग्रामीण इलाकामा १०० वटा स्मार्ट प्रयोगशाला निर्माण गरिनेछ र यी प्रयोगशालाले यूवालाई आधुनिक सीप दिनेछ ।’
‘सरकारले शुरूमा विभिन्न २५ हजार व्यक्तिलाई प्रशिक्षण दिने र रोजगारीको ग्यारेन्टी गर्नेछ,’ उनले भने ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई विकासको मुलधारमा ल्याउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान गराउनका लागि सरकारले ५०० भन्दाबढी सीप प्रयोगशाला स्थापना गर्ने र उनीहरूलाई सीप सिकाउने सरकारले बताएको छ । कार्यक्रमबाट करिब १० लाख युवाले लाभ लिने बताइएको छ ।

ऋण दिँदा पाकिस्तानको सरकारी सुविधाबाट बञ्चित ४५ जिल्लालाई प्राथमिकता दिइने कार्यक्रमको उद्देश्य रहेको छ । स्थानीय विश्लेषकले युवाको वेरोजगारी समस्या समाधान गर्न र मुलुकमा आर्थिक सुधार ल्याउनका लागि कार्यक्रम प्रभावकारी हुने भन्दै सरकारको प्रसंशा गरेका छन् ।

कार्यक्रमले यूवालाई आर्थिक अभावमा केही गर्न नसक्ने अवस्थाबाट छुटकारा दिलाउने र देशको मुद्रा स्फीति तथा बेरोजगार समस्यामा सहयोगी सिद्ध हुने उनीहरूको भनाइ छ ।
 

प्रकाशित: ३ कार्तिक २०७६ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App