२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेले २६ वर्षदेखि ‘खाता’ खोल्न नसकेको जिल्ला

कर्णालीमा आफूलाई ‘जनताको पहिलो रोजाइ’ ठान्ने नेकपा एमालेका लागि जुम्ला २०५६ सालदेखि चुनाव हार्नुपर्ने अवस्था बनेको छ। चुनाव आउँदा एमाले जुम्लामा आशा बोकेर प्रवेश गर्छ, मतगणना सकिँदा फेरि हारको बोझ बोकेर फर्किन्छ। कहिले उपविजेताको सान्त्वना, कहिले तेस्रो स्थानमै थन्किएर ‘स्थिति राम्रो थियो’ भन्ने आत्मधोका बाँड्छ। 

जुम्लामा जित एमालेका लागि एउटा पुरानो सम्झना मात्रै बनेको छ। यही हारको लामो श्रृंखलालाई चिर्ने दाबीका साथ यसपटक एमाले जुम्ला अध्यक्ष, ६२ वर्षीय शान्तिलाल महत उम्मेदवारी दिएर मैदानमा उत्रिएका छन्। एमाले जिल्ला कमिटीले सर्वसम्मत एकल सिफारिस गरेको, नेता–कार्यकर्ताको अपार समर्थन रहेको र अब पार्टीको दुर्भाग्य टुंगिने उनको दाबी सुन्दा जुम्लाका मतदातालाई ‘यो त धेरै पटक सुनिसक्यौँ’ भन्ने अनुभूति हुन्छ।

जुम्लाको चन्दननाथ नगरपालिका–७ महतगाउँका स्थायी बासिन्दा महत यसअघि सामाजिक सेवामा क्रियाशील थिए। सामाजिक सेवा, गैरसरकारी संस्था र लामो राजनीतिक यात्रा, सबै पूरा भएपछि अब संसद् प्रवेशको ढोका खुल्ने उनको विश्वास छ। मंगलबार उम्मेदवारी दर्ता गरेसँगै उनी नेता–कार्यकर्ता भेटघाट र खलंगा आसपासका बस्तीमा घरदैलो गर्दै छन्। एमालेले हरेक चुनावमा प्रयोग गर्ने ‘सक्रियता’को नुस्खा यसपटक पनि नयाँ होइन, केवल उम्मेदवार फेरिएको मात्र हो।

एमाले जुम्लाले २०५६ सालमा देवीलाल थापालाई जिताएपछि चुनाव जित्ने सीप नै बिर्सिएको जस्तो देखिन्छ। त्यसयता भएका हरेक निर्वाचनमा पार्टी आफ्नै आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको अहंकारले घाइते बनेको छ। एमाले कार्यकर्ता ‘पार्टीभित्रको झगडा रोक्न सके मात्रै महत जित्छन्,’ भन्छन्। एमालेको सबैभन्दा ठुलो डर विपक्षी दल होइनन्, आफ्नै पार्टीभित्रको गुटबन्दी हो।

२०६४ सालमा उम्मेदवार बनेका डिल्लीबहादुर महत तेस्रो स्थानमा आएका थिए। २०७० सालमा पदम रोकायाले दोस्रो स्थान ल्याएर ‘अब जित नजिक छौँ’ भन्ने सन्देश दिन खोजे। २०७४ सालमा एमाले–माओवादी मिलेर बनेको नेकपामा एमालेले उम्मेदवार दिन पाएनन्। सो समयमा एमालेले तत्कालीन माओवादीका गजेन्द्रबहादुर महतलाई जिताउनुपर्‍यो। २०७९ सालमा एमालेका केन्द्रीय सदस्य रतननाथ योगी उम्मेदवार बने, नतिजा फेरि उस्तै, तेस्रो स्थानमा पुगे। २०७९ मा राप्रपाका ज्ञानबहादुर शाहीले जित हात पारेका हुन्। 

यी सबै हार, सम्झौता र आत्मसमर्पणका अध्याय पल्टाएर एमालेले यसपटक शान्तिलाल महतलाई अघि सारेको छ। महतले राष्ट्रियता विरोधी गतिविधि, भौतिक संरचना जलाउने र हिंसात्मक कार्यका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन्। उनले जुम्ली जनताबिच ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा पनि दोहोर्‍याइरहेका छन्। तर जुम्लाका लागि यी नारा नयाँ होइनन्, चुनावी मौसममा मात्र सुनिने पुराना रेकर्डजस्तै हुन्।

२०३८ सालदेखि नेमकिपाबाट भूमिगत सदस्यता लिएर २०४७ मा नेकपा माले हुँदै एमालेमा आएका महतको राजनीतिक इतिहास लामो छ। वडाध्यक्षदेखि सुकुम्वासी आयोगको अध्यक्षसम्म, गैरसरकारी संस्थामा समाजसेवा गर्दै उनले जीवन राजनीति र संस्थामा बिताएका छन्। तर जुम्लामा एमालेको इतिहासले सहज नतिजाको अपेक्षा धेरैले गरिरहेका छैनन्। लामो राजनीतिक जीवन हुनु जितको ग्यारेन्टी नहुने तर्क गर्ने पनि उस्तै छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगर प्रमुखमा उम्मेदवारी दिँदा महत कांग्रेसकी कान्तिका सेजुवालसँग पराजित भएका थिए। उनी २०७७ देखि एमाले जिल्ला अध्यक्ष छन्। यसपटक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका नौ जना प्रतिस्पर्धीलाई पराजित गर्नुपर्नेछ। मुख्य प्रतिस्पर्धी नेकपाका नरेश भण्डारी, कांग्रेसका दीपबहादुर शाही र राप्रपाका ज्ञानबहादुर शाहीभन्दा धेरै मत ल्याउन नरम प्रचार शैली, आकर्षक एजेन्डा र बस्ती–बस्तीमा पुग्नुबाहेक विकल्प नरहेको कुरा महत स्वयं स्वीकार्छन्।

‘जुम्लामा एमाले पहिलो पार्टी हो,’ महत भन्छन्। तर यही ‘पहिलो पार्टी’ २०५६ सालदेखि संसद् पुग्न नसकेको तथ्य जुम्लाले हरेक चुनावमा प्रमाणित गर्दै आएको छ। यसपटक एमाले जित्छ कि फेरि हारको अर्को मिति थप्छ, उत्तर नारा, दाबी र आत्मविश्वासले होइन, मतपेटिकाले दिनेछ।

प्रकाशित: १० माघ २०८२ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App