२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

४० पछिको जीवन: दोस्रो इनिङको सुरुवात

चिन्तन

समयको अविश्रान्त गतिमा हाम्रो उमेर केवल अंकहरूको बढोत्तरी मात्र होइन, यो त अनुभवको सञ्चिति र चेतनाको क्रमिक आरोहण पनि हो। जीवनको वेगलाई सरिताको प्रवाहसँग तुलना गर्ने हो भने ४० वर्षको उमेर त्यो विन्दु हो, जहाँ नदीको छालमा हुने युवावस्थाको उत्ताउलो चञ्चलता बिस्तारै शान्त हुन्छ र गहिराइमा एउटा गम्भीर स्थिरता प्रष्फुटन हुन थाल्छ। विडम्बना! हाम्रो समाजले ४० वर्षपछिको जीवनलाई ‘मान्छेको आयु’ सकिएको समेत ठान्ने गरेका छन्।

‘अब त उमेर गयो, के नै बाँकी छ र?’ भन्ने यो रुग्ण र निराशावादी चिन्तनले कतिपय मानिसलाई ऊर्जाशील उमेरमै मानसिक रूपमा मृततुल्य बनाइदिन्छ तर सत्यको धरातल नितान्त भिन्न छ-४० वर्ष ‘मान्छेको आयु’ सकिएको विन्दु होइन, बरु यो त एउटा आध्यात्मिक पुनर्जन्म हो। यो त्यो प्रहर हो, जहाँ मानिसले बाह्य जगतको कृत्रिम कोलाहलबाट विश्राम लिएर आफ्नै अन्तर्मनको मधुर र शाश्वत ध्वनि सुन्न थाल्छ।

जब मानिस ४० को खुड्किलो उक्लिन्छ, उसले जीवनलाई नयाँ र परिपक्व दृष्टिकोणले नियाल्न थाल्छ। युवावस्थाको उरन्ठेउलो जोस, अहंकारको प्रदर्शन र दिशाहीन दौड अब विवेकको उज्यालोमा रूपान्तरित हुन्छ। यो उमेर विगतका गल्तीहरूलाई पश्चातापको आगोमा डढाउने समय होइन, बरु ती गल्तीबाट प्राप्त चोटहरूलाई प्रज्ञा र बुद्धत्वको मोतीमा बदल्ने शुभ साइत हो।

४० वर्षको नेटो काटेपछि मात्र मानिसले बोध गर्छ कि उसको शरीर कुनै निर्जीव मेसिन होइन, बरु यो त एउटा पवित्र मन्दिर हो, जसमा ईश्वरीय चेतनाको वास छ। शरीरलाई खेलौना सम्झेर उपेक्षा गर्ने वा इन्द्रिय सुखमा मात्र केन्द्रित गर्ने कलिलो समय अब व्यतीत भइसकेको छ। अब त यो शरीरलाई मन्दिरजस्तै श्रद्धा, सचेत अनुशासन र सात्विकताले सुशोभित गर्नुपर्ने बेला आएको छ।

बिहानको ब्राह्ममुहूर्तमा ब्युँझनु, प्रकृतिको जीवन्त काखमा सुस्तरी पाइला चाल्नु, योग र प्राणायामको माध्यमबाट प्राणवायुको सन्तुलन मिलाउनु र खानपानमा सात्विकता अपनाउनु केवल स्वास्थ्य रक्षाका प्राविधिक उपाय मात्र होइनन्, यी त आफ्नै अस्तित्वप्रति व्यक्त गरिने अगाध कृतज्ञताका अनुपम स्वरूप हुन्। जसले आफ्नो शरीरलाई सम्मान गर्न जान्दैन, उसले ब्रह्माण्डको कुनै पनि तत्त्वलाई साँचो प्रेम गर्न सक्दैन।

४० पछि गरिने यो ‘देह-साधना’ नै उत्तरार्धको ऊर्जाको अजस्र स्रोत बन्छ, जसले मानिसलाई बुढ्यौलीको भयबाट मुक्त गराई जीवनलाई उत्सवमय बनाउन मार्गप्रशस्त गर्छ। यो उमेरमा गरिने योग र ध्यानले केवल शारीरिक स्वस्थता मात्र दिँदैन, यसले त मनलाई पनि ब्रह्माण्डीय ऊर्जासँग जोड्ने काम गर्छ।

यस उमेरको अर्को महत्त्वपूर्ण र गहन आयाम भनेको मानसिक भारीहरूको विसर्जन हो। हामीले दशकौंदेखि अज्ञात रूपमा बोकेर हिँडेका रिस, कुण्ठा, ईर्ष्या, बदलाको भाव र अहंकारका बोझहरूले हाम्रो आत्मालाई नराम्ररी थिचेका हुन्छन्। ४० वर्ष काट्नु भनेको ती पुराना घाउहरूलाई विस्मृतिको गहिराइमा सेलाएर क्षमा, करुणा र शान्तिको शीतल मार्ग अँगाल्नु हो।

यो उमेरले सिकाउँछ कि अरूलाई चिन्नु र जित्नुभन्दा आफैंलाई चिन्नु र आफैंलाई जित्नु धेरै कठिन र गौरवशाली कार्य हो। जब मानिसले साँझको एकान्तमा आफ्नै आत्मासँग संवाद गर्न थाल्छ, तब उसलाई संसारका कुनै पनि शास्त्र वा बाह्य विद्वान्को परामर्शको आवश्यकता पर्दैन। स्वयंलाई सुन्नु नै सबैभन्दा ठुलो ध्यान हो र आफैंलाई बुझ्नु नै ब्रह्माण्डको सर्वोच्च ज्ञान हो।

४० पछि, विगतमा भएका त्रुटिहरूलाई लिएर गरिने चिन्ताअर्थहीन लाग्न थाल्छन् र वर्तमानको प्रत्येक पललाई ‘होस’पूर्वक बाँच्ने कलाको विकास हुन्छ। विगत त एउटा पुस्तक हो जसलाई हामीले पढिसक्यौं, तर वर्तमान त्यो खाली पाना हो जसमा हामी अझै सुन्दर अक्षरहरू कोर्न सक्छौं।

यही उच्च चेतनाले मानिसलाई अनावश्यक मानसिक द्वन्द्वबाट मुक्ति दिन्छ र आफ्नो ऊर्जालाई सिर्जनात्मक क्षितिजमा फैलाउन मद्दत गर्छ। ४० पछिको मानिसले बुझ्छ कि खुसी कतै बाहिर खोजेर पाइने वस्तु होइन, यो त आफ्नै भित्री बगैंचामा फुल्ने सुगन्धित फूल हो।

सम्बन्धको परिभाषा पनि यो उमेरमा पुगेपछि थप पारदर्शी, निष्कपट र गहिरो बन्छ। जीवनका अनेकन् आँधीहुरी र उतारचढावमा छहारी बन्ने जीवनसाथीप्रति नयाँ श्रद्धाभाव र प्रेम जाग्नु परिपक्वताको लक्षण हो। सन्तानसँग अब अधिकार जमाउने अभिभावक होइन, बरु मार्गदर्शक बनेर मित्रवत् सामीप्य राख्नु र स्वार्थका घेराभन्दा माथि उठेर साथीभाइको छनौट गर्नु यस उमेरको विशिष्टता हो।

४० वर्षपछि मानिसले बुझ्छ कि भिडमा हराउनुभन्दा केही थान असल र वैचारिक मानिसहरूको हृदयमा सुरक्षित रहनु धेरै अर्थपूर्ण हुन्छ। अनावश्यक कोलाहल, व्यर्थका तर्क-वितर्क र सामाजिक सञ्जालको छद्म संसारभन्दा वास्तविक मानिसहरूको न्यानोपन र मौन आँखाको भाषा धेरै प्रिय लाग्न थाल्छ।

यो उमेरले सामाजिक उत्तरदायित्व र पारिवारिक सामीप्यबीच एउटा सुन्दर सन्तुलन कायम गर्न सिकाउँछ। अब सम्बन्धहरूमा अपेक्षाको भार कम र स्वीकारोक्तिको शालीनता धेरै हुन्छ। ‘मैले के पाएँ?’ भन्ने प्रश्न अब गौण हुन थाल्छ। त्यसका सट्टा यतिका समयमा ‘मैले के दिएँ?’ भन्ने प्रश्न प्रधान बन्दै जान्छ।

कसैलाई जबर्जस्ती परिवर्तन गर्ने व्यर्थको जिद्दी छोडेर मानिसलाई उनीहरूकै स्वभाव र सीमामा स्वीकार्न सक्ने सामथ्र्य नै ४० पछिको जीवनको सबैभन्दा हितकारी अलंकार हो। यसले जीवनमा गुनासाहरू कम र सन्तुष्टिको मात्रा बढी गराउँछ।

आर्थिक र भौतिक दृष्टिले पनि ४० वर्षपछिको समय एउटा स्थिरता र बुद्धिमानीपूर्ण व्यवस्थापनको खोजी हो। अनावश्यक ऋणको बोझ, असीमित तृष्णा र अरूसँगको तुलनाले मानिसलाई कहिल्यै शान्त रहन दिँदैनन् तर यो उमेरसम्म आइपुग्दा परिपक्व मानिसले भोलिको सुरक्षाका लागि सानो बचत र सादा जीवनको वास्तविक मूल्य बुझिसकेको हुन्छ।

आर्थिक स्वतन्त्रताले मानिसलाई त्यो मानसिक शान्ति र निर्धक्कता प्रदान गर्छ, जसले गर्दा उसले जीवनका बाँकी अध्यायहरू स्वाभिमानका साथ व्यतीत गर्न सक्छ।

अबको कमाइ केवल सम्पत्ति थुपार्नका लागि होइन, बरु जीवनलाई सहज बनाउन र अरूलाई सहयोग गर्नका लागि हो भन्ने चेत खुल्छ।

धेरै मानिसले आफ्नो वास्तविक पहिचान र सुषुप्त सिर्जनात्मक सामर्थ्य ४० को नेटो काटेपछि मात्र विश्वसामु प्रष्फुटित गरेका छन्। युवावस्थामा जीविकोपार्जनको चटारोले गर्दा पछाडि छुटेका आफ्ना रुचिलाई पुनर्जीवित गर्नु, नयाँ सिप सिक्नु वा नयाँ उद्यममा हात हाल्नु यो उमेरमा थप फलदायी हुन सक्छ। किनकि अब तपाईसँग जोस मात्र छैन, अनुभवको विशाल र अमूल्य खानी पनि छ। अब तपाईका हरेक निर्णयहरू केवल क्षणिक भावुकताको लहरमा होइन, विवेक र यथार्थको कसीमा घोटिएर गरिन्छन्। तपाईसँग अब धैर्यको शक्ति छ, जसले गर्दा कुनै पनि कार्यमा सफलताको सम्भावना प्रवल रहन्छ।

यो यात्रामा ‘सामाजिक विरासत’को प्रश्न पनि टड्कारो भएर आउँछ। ४० कटेपछि मानिसले केवल व्यक्तिगत स्वार्थ र परिवारको परिधिभन्दा बाहिर निस्केर समाज र आगामी पुस्ताका लागि के छोडेर जाँदै छु भन्ने गहन चिन्तन गर्न थाल्छ। आफ्नो ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु एउटा पवित्र मानवीय धर्म बन्न पुग्छ। यसले मानिसलाई ‘म र मेरो’ भन्ने सङ्कुचित अहंकारबाट मुक्त गरी ‘सेवा, समर्पण र परोपकार’ को विराट भावतर्फ डोर्‍याउँछ। जीवनको वास्तविक माधुर्य त तब मात्र अनुभूत हुन्छ, जब हामी आफ्नो ‘अहं’लाई विसर्जन गरेर अस्तित्वको समग्रतामा समाहित हुन्छौं। ४० पछिको जीवन एउटा यस्तो शीतल चौतारी हो, जहाँ विगतका थकानहरू मेटिन्छन् र भविष्यका लागि नयाँ ऊर्जा सञ्चित गरिन्छ।

उमेर त केवल शरीरको एउटा पाटो हो, तर मन सधैं बालक, जिज्ञासु र ऊर्जावान् रहन सक्छ। जो मानिस ४० को उमेरमा नयाँ साहसका साथ ब्युँझन्छ, उसैले ५० को दशकमा चम्किने सामथ्र्य राख्छ र ६० पुग्दा जीवनको सार्थकताको सर्वोच्च शिखर चुम्न सफल हुन्छ। ४० वर्ष भनेको दिनको दोस्रो प्रहर होइन, यो त जीवनरूपी महाकाव्यको त्यो दोस्रो खण्ड हो, जहाँ कथाले गम्भीर, रोचक र अत्यन्त सुखद मोड लिन्छ। यो उमेरले हामीलाई ‘क्वान्टिटी’ (संख्या) मा होइन, ‘क्वालिटी’ (गुणस्तर) मा बाँच्न सिकाउँछ।

परिपक्वताको यो उचाईबाट हेर्दा जीवन एउटा सुन्दर र विशाल क्यानभास जस्तो देखिन्छ, जसमा अब हामी आफ्ना रङहरू अझ स्पष्ट, गाढा र कलात्मक ढंगले भर्न सक्छौं। युवावस्थामा हामीसँग रङहरू त थिए तर ती भर्ने परिपक्व कला र स्थिरताको नितान्त अभाव थियो। ४० पछि हामीसँग कला, दृष्टि र धैर्यको अनुपम त्रिवेणी हुन्छ।

यो उमेरले सिकाउँछ कि सफलता भनेको संसारको नजरमा शिखर चढ्नु मात्र होइन, बरु आफ्नै नजरमा सम्मानित र गौरवान्वित हुनु हो। ससाना कुरामा खुसी खोज्नु, बिहानीको शीतको थोपामा ब्रह्माण्ड देख्नु, प्रकृतिको मुक सुन्दरतामा रमाउनु र मौनताको परमानन्द लिनु नै यो उमेरको वास्तविक वैभव हो। ४० पछिको साधकले बुझ्छ कि जीवन एउटा अन्धदौड होइन, बरु यो त एउटा उत्सवमय यात्रा हो जसको प्रत्येक पाइलाको आफ्नै विशिष्ट गरिमा र लय छ।

निष्कर्षमा भन्नुपर्दा, ४० कट्तैमा कसैको पनि जीवनको इतिश्री हुँदैन, बरु जीवन त वास्तविक रूपमा यहींबाट प्रारम्भ हुन्छ। यो एउटा यस्तो स्वर्ण युग हो, जहाँ अनुभवको खरानीबाट प्रज्ञाको ‘फिनिक्स’ चरा नयाँ पखेटा फिँजाएर उड्न थाल्छ। स्वास्थ्य, परिवार, आर्थिक सुरक्षा र आध्यात्मिक चेतनालाई एकाकार गर्दै अगाडि बढ्ने हो भने ४० वर्षपछिको जीवन एउटा मन्त्रमुग्ध पार्ने भजनजस्तै शान्त, गम्भीर र मधुर स्वरलहरीमा गुञ्जिन थाल्छ।

 आध्यात्मिक झुकावले जीवनलाई पुष्पझैं हलुका, पवित्र र सुवासित बनाउँछ। त्यसैले, ४० लाई उमेरको सन्ध्या नमानौं, यसलाई एउटा शाश्वत जागरण, आत्मबोध र नयाँ सम्भावनाको अवसर ठानौं।

हे समवयी आदरणीय मित्रहरू! अब हामी सबै मिलेर यो जीवनलाई नयाँ रूपमा प्रेम गरौं, नयाँ रूपमा बुझौं र फेरि एकपटक नयाँ उत्साहका साथ यो सुन्दर धर्तीमा आफ्नो अस्तित्वको सुवास छरौं। जसरी अस्ताउनुअघिको सूर्यले आकाशमा सबैभन्दा मोहक, गाढा र रक्तिम रङहरू छर्दै भोलिको उदयको संकेत गर्छ, त्यसरी नै ४० पछिको जीवनले मानिसको व्यक्तित्वमा एउटा स्वर्णिम आभा र ओज थपिदिन्छ।

जीवनको असली यात्रा त बल्ल सुरु भएको छ, र यो यात्रा पहिलो खण्डभन्दा धेरै गुणा रोचक, अर्थपूर्ण, गरिमामय र गौरवशाली हुने निश्चित छ।

प्रकाशित: १० माघ २०८२ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App