६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त

जोन बोल्टन

वासिङ्टन (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलबार पदबाट बर्खास्त गरेका छन्।

अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अन्य संकटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याइ छ।

‘मैले जोनलाई राजीनामा दिन भनेको थिएँ। उनले आजै बिहान राजीनामा बुझाए,’ ट्रम्पले मंगलबार गरेको ट्विटमा उल्लेख गरिएको छ।

तीन वर्षको अवधिमा राष्ट्रपति ट्रम्पले तेस्रो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार बदलेका हुन्। राष्ट्रपति ट्रम्पले अर्को साता नयाँ सल्लाहकार नियुक्त गरिने जानकारी पनि ट्विटमार्फत् नै दिएका छन्।

पदबाट बर्खास्त हुनुअघि राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले अर्कै प्रसङ्गमा ह्वाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो। राष्ट्रपतिबाट पदच्युत भएपछि उनले आफूलाई ट्रम्पले बर्खास्त नगरेको बरु आफैंले राजीनामा दिएको दाबी गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ। इराक आक्रमणका मुख्य योजनाकार मानिने उनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रूपमा समेत लिइन्छ।
पछिल्ला दिनमा ह्वाइट हाउसले इरान, उत्तर कोरिया, भेनेजुएलासमेतका मामिलामा लिएको कडा रबैयाका मुख्य सुत्रधार पनि बोल्टन रहेको विश्वास गरिन्छ।

लामालामा जुँगा पाल्न रुचाउने बोल्टनले यसअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतको भूमिका समेत निर्वाह गरिसकेका छन्। उनले अफगानिस्तानका विद्रोही शक्ति तालिबान र उत्तर कोरियाली नेता किम जोङ–उनसँग भइरहेका अमेरिकी वार्तामा कुनै समर्थन गरेका थिएनन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले तालिबान नेतालाई गत साता क्याम्प डेभिडमा आमन्त्रण गरेपनि अन्तिम क्षणमा बैठक रद्द गरेपछि दुवै नेताबीचको असमझदारी चुलीमा पुगेको थियो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बोल्टनको बहिर्गमनको अर्थ अमेरिकाको रणनीति पूरै परिवर्तन भएको ठान्न नहुने जिकिर गरेका छन्। ‘हामीबीचको कोही सदस्य बाहिरिनासाथ अमेरिकी नीतिमा परिवर्तन हुँदैन र त्यसमा सत्यता छैन,’ उनले संवाददातासँग वासिङ्टनमा भने।

राष्ट्रसंघको महासभामा भाग लिन आउने इरानी राष्ट्रपति हसन रौहानीसँग यसपटक राष्ट्रपति ट्रम्पको भेटघाट होला त भनि सोधिएको एक प्रश्नमा विदेशमन्त्री पोम्पेओले भने, ‘पक्कै पनि भेटघाट हुनेछ।’

एता, अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले राष्ट्रपति ट्रम्प र उनका वरिष्ठ सल्लाहकार इरानमाथिका प्रतिबन्धका विषयमा एकमत रहेको बताएका छन्।

प्रकाशित: २६ भाद्र २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App