सोल – उत्तर कोरियाले मंगलबार पूर्वीकोरियाली द्वीपमा दुईवटा साना क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। संयुक्त राज्य अमेरिकासँग वार्ताका लागि आह्वान गरेको केही घण्टा नबित्दै प्योङयाङले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको हो।
उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्ध कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ। प्रतिबन्ध फुकुवा गर्ने तर्फ कुनै कदम नचालिए वार्ताको औचित्य नै नरहने कोरियाली नेता किम जोङ–उनले बताउँदै आएका छन्।
उत्तर कोरियाले गत जुलाई महिनादेखि गरेको यो आठौं हतियार परीक्षण हो। यसअघि प्रहार गरिएका हतियार छोटो दूरीका क्षेप्यास्त्र र रकेट थिए।
उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच पुनःवार्ता सुरु गर्ने सहमति भइसकेको छ तर वार्ताको मिति अझै तय भइसकेको छैन। उत्तर कोरियाले सीमित आणविक निःशस्त्रीकरणको बदलामा कोरियाको सुरक्षाको प्रत्याभूति हुनुपर्ने तथा अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्ध फुकुवा हुनुपर्ने पूर्वसर्त राख्दै आएको छ।
उत्तर कोरियाले मंगलबार प्रहार गरेको सीमित क्षमताका दुई वटा क्षेप्यास्त्र करिब तीन सय ३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेका थिए। यी क्षेप्यास्त्र राजधानी प्योङयाङको बाहिर फ्यानगानबाट प्रहार गरिएका थिए।
दक्षिण कोरियाली सेनाले यी हतियार ब्यालिस्टिक क्षेप्यास्त्र वा रकेट आर्टिलरी के हो भन्ने स्पष्ट नभएको जनाएको छ। कोरियाली सेनाका प्रवक्ता किम जुन–राकले उत्तर कोरियाले प्रहार गरेका हतियारको विस्तृत प्राविधिक क्षमता जाँच्ने कार्य भइरहेको बताएका छन्।
उत्तर कोरियाले गत जुलाई महिनादेखि गरेको यो आठौं हतियार परीक्षण हो। यसअघि प्रहार गरिएका हतियार छोटो दूरीका क्षेप्यास्त्र र रकेट थिए। विज्ञका अनुसार यी हतियार अमेरिकी सैनिक अखडासहित दक्षिण कोरियाका कुनै पनि स्थानमा प्रहार गर्नसक्ने क्षमताका छन्।
सोमबार राति, उत्तर कोरियाली उपविदेशमन्त्री चोई सोन हुईले आगामी सेप्टेम्बरको अन्त्यदेखि अमेरिकासँग पुनःवार्ता हुने बताएका थिए। उनले उत्तर कोरियालाई स्वीकार्य नयाँ प्रस्ताव ल्याउन पनि अमेरिकासँग आग्रह गरेका थिए। उनले यदि अमेरिकाले अघि सार्ने प्रस्ताव उत्तर कोरियालाई स्वीकार्य नभएको अवस्थामा दुवै देशबीचको वार्ता स्वतःअन्त्य हुने स्पष्ट पनि पारेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको घोषणा निकै चाखलाग्दो रहेको बताएका छन्। ‘हेरौं के हुन्छ” ट्रम्पले भने, ‘यहीबीच, हाम्रा सैनिकका अवशेष फिर्ता आएका छन् र लामो समयदेखि नयाँ आणविक परीक्षण पनि भएका छैनन्।’
राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको केही समयमै उत्तर कोरियाले हतियार परीक्षण गरेको विवरण बाहिरिएपछि ह्वाइट हाउसले नयाँ हतियार परीक्षणका बारेमा
जानकारी प्राप्त भएको र यस बारेमा सहयोगी राष्ट्रसँग छलफल भइरहेको जनाएको छ। अमेरिका र उत्तर कोरियाका शीर्ष नेताबीच वार्तालाई निरन्तरता दिने सहमतिपछि पनि हालैका दिनमा यसबारे कुनै प्रगति हुनसकेको छैन। तर दक्षिण कोरियासँग अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास जारी राखेको भन्दै विरोधमा उत्तर कोरियाले पनि एकपछि अर्को गर्दै छोटा दूरीका हतियार परीक्षणलाई निरन्तरता दिँदै आएको छ।
‘अमेरिकासँग हामीले अपेक्षा गरेको वार्ता विस्तारै हराउँदै गएको छ र अहिलेसम्म अपनाइएका उपायलाई हामीले पुनःपरीक्षण गर्न बाध्य पारिएको छ,’ उत्तर कोरियाली उप–विदेशमन्त्री चो सोन हुईले जारी गरेको एक विज्ञप्तिलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ।
यसै साताको सुरुमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाली गतिविधिलाई ‘छलकपटपूर्ण व्यवहार’को संज्ञा दिँदै यसलाई वेवास्ता गर्न नसकिने बताएपछि उत्तर कोरियाको यस्तो भनाइ आएको हो। ‘यो किसिमको भाषा असंगतपूर्ण, उत्तेजक र अपमानजनक थियो। अमेरिकाले हाम्रो धैर्यलाई परीक्षण गर्नु गलत छ। यसले पछि पछुताउनुपर्नेछ,’ नेता चोले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उत्तर कोरियाको अमेरिकी कूटनीतिज्ञप्रतिको कटु आलोचना एक सातापछि पुनः दोहोरिएको छ। अघिल्लो साता पोम्पेओलाई संकेत गर्दै उनको बोली र व्यवहारमा समस्या रहेको भन्दै यसले वार्ताको सम्भावनालाई चुनौती दिएको प्योङयाङले बताएको थियो।
प्रकाशित: २५ भाद्र २०७६ ०४:१६ बुधबार




