७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पसँग सहयोगको अपिल

क्याप्सन : हङकङमा आइतबार अमेरिकी झन्डासहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी। तस्बिर : एजेन्सी

हङकङ (बिबिसी) – १४ सातादेखि लगातार सरकारविरोधी प्रदर्शन गरिरहेका हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष सहयोगको अपिल गरेका छन्।

हङकङस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै आइतबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले आफूहरुलाई सहयोग गर्न अमेरिकी राष्ट्रपति ट्रम्पसँग आग्रह गरेका हुन्।

आइतबारको प्रदर्शनमा सहभागीमध्ये केहीले ‘राष्ट्रपति ट्रम्प, हङकङलाई जोगाउनुहोस्’ र ‘मेक हङकङ ग्रेट अगेन’ जस्ता नारा लेखिएका ब्यानरसमेत बोकेका थिए।

आइतबार हङकङमा भेला भएका प्रदर्शनकारीले अमेरिकी झन्डा फहराउँदै चीनबाट ‘हङकङलाई स्वतन्त्र गर्न’ अमेरिकासँग माग गर्दै नारा लगाएको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शनकारीले अमेरिकी राष्ट्रिय गानसमेत गाएका थिए।

प्रदर्शनकारीले प्रस्तावित ‘हङकङ मानव अधिकार र लोकतन्त्र विधेयक’ प्रस्ताव पारित गर्नसमेत अमेरिकासँग माग राखे। यससम्बन्धी विधेयकलाई अमेरिकाका डेमोक्रेट सांसदहरुले अर्को साता छलफल गर्ने गरी धकेलिरहेका छन्।

हङकङको प्रमुख नेतृत्वले प्रदर्शनकारीका मागमध्येको एउटा प्रमुख माग ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीले १४ औं साताको प्रदर्शनलाई आइतबार निरन्तरता दिएका छन्। प्रदर्शनमा सहभागीले आफूहरुले अघि सारेका पाँचवटै प्रमुख माग सम्बोधन हुनुपर्ने भन्दै नारा लगाएका छन्। हङकङकी प्रमुख कार्यकारी क्यारी लामले गत साता विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।

हङकङको विषय आफ्नो आन्तरिक मामिला भएको भन्दै चीनले भने यस विषयमा हस्तक्षेप नगर्न अन्य देशलाई निरन्तर चेतावनी दिइरहेको छ।

मुख्यभूमि चीनलाई सन् १९९७ मा हस्तान्तरण गरिएको बेलायतको पूर्व उपनिवेश हङकङको वर्तमान अवस्था विशुद्ध रूपमा आफ्नो आन्तरिक मामिला भएको बेइजिङको भनाइ छ।

प्रदर्शनकारी के चाहन्छन् ?
सरकारले गत अप्रिलमा मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने व्यवस्थासहितको विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयकलक्षित हुनसक्ने भन्दै विपक्षीले प्रदर्शन सुरु भएको थियो।

व्यापक प्रदर्शन र असन्तुष्टि भएपछि सो विधेयक गत जुन महिनामा स्थगन गरिएको थियो। हङकङकी प्रमुख कार्यकारी लामले विधेयक ‘मृत’ अवस्थामा रहेको बताए पनि त्यसबेला फिर्ता लिन अस्वीकार गरेकी थिइन्। तर लगातारको प्रदर्शन र तनावपछि लामले गत साता सो विधेयक फिर्ता लिने घोषणा गरिन्।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि हाल आएर हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

एसियाली हब हङकङमा भइरहेको पछिल्लो प्रदर्शन स्वतन्त्रता र स्वायत्तताको मागतर्फ अघि बढिरहेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

यसैबीच, पछिल्लो पटक प्रदर्शनकारीका माग विशेषतः चारवटा प्रमुख मुद्दामा केन्द्रित रहेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्व स्वीकारोक्ति हुनुपर्ने  रहेका छन्।

प्रकाशित: २३ भाद्र २०७६ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App