१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

बन्दी आदानप्रदान गर्न युक्रेन र रुसीच ऐतिहासिक सहमति

रुसबाट रिहा भएर युक्रेन पुगेका बन्दीहरु परिवारका सदस्यसँग खुसी साट्दै। तस्बिरः एजेन्सी

मस्को – ऐतिहासिक सम्झौता गर्दै युक्रेन र रुस बन्दी आदानप्रदान गर्न सहमत भएका छन्। लामो समयदेखि प्रतीक्षा गरिएको बन्दी आदानप्रदान सन्धि गरिएसँगै आफ्ना देशमा रहेका एकअर्काका बन्दीलाई रिहा गर्न दुई देश सहमत भएका हुन्।

बन्दी आदानप्रदान गरिएकामा २४ जना युक्रेनी डुंगा चालकसहित एक जना विवादित व्यक्ति पनि रहेका छन्। ‘स्वार्थका व्यक्ति’ भनेर चिनिने ती विवादित व्यक्तिले ‘एमएच१७’ विमान खसाल्दा दुई सय ९८ जनाको मृत्यु भएको थियो। आ–आफ्ना देशमा रहेका बन्दीलाई आदानप्रदान गर्ने सम्झौतासँगै दुई देशबीच लामो समयदेखि विद्यमान तनाव कम हुने आँकलन गरिएको बिबिसीले उल्लेख गरेको छ।

रुसबाट रिहा भएर घर फर्र्किएका युक्रेनी नागरिकलाई स्वागत गर्न विमानस्थलमा रहेका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने, ‘यो तनावग्रस्त युद्ध अन्त्य गर्नका लागि हामीले सबै कदम चाल्नुपर्छ।’ उता, रुसले भने आफ्ना नागरिक स्वदेश फर्र्किएकोमा गर्व लागेको बताएको छ।

युक्रेनको क्रिमियन पेनेन्सुलालाई अनपेक्षित रूपमा सन् २०१४ मा रुसले आफ्नो भूभागमा गाभेपछि र रुस समर्थित विद्रोहीले पूर्वी युक्रेनका दुईवटा क्षेत्रमा द्वन्द्व सुरु गरेपछि यी दुई देशबीच नाटकीय रूपमा समस्या सुरु भएको थियो। युक्रेनको पूर्वी भागमा पर्ने डोनेटस्क र लुहान्स क्षेत्रमा जारी द्वन्द्वका कारण हालसम्म १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

आफ्नो प्रमुख उद्देश्य नै द्वन्द्व अन्त्य गर्नु भएको बताउँदै आएका जेलेन्स्कीलाई गत अप्रिलमा युक्रेनका जनताले राष्ट्रपति निर्वाचित गरेका थिए। बन्दीहरुलाई रिहा गर्ने कदम ‘युक्रेनको संकटलाई समाधान गर्नका लागि वातावरण बनाउनका लागि सहयोगी हुने’ रुसी अधिकारीहरुले विश्वास व्यक्त गरेको बिबिसीले उल्लेख गरेको छ।

कुनै पनि चुहावट सम्झौता गर्नका लागि बाधक हुनसक्ने भन्दै रुसी र युक्रेनी अधिकारीहरुले अति नै संवेदनशील मुद्दामा गोप्य रूपमा वार्ता सम्पन्न गरेका थिए। गत अगस्ट ३० मा युक्रेनका नयाँ अभियोजनकर्ताले रुससँग नयाँ सम्झौताको प्रक्रिया सुरु भएको भन्ने व्यवहोराको एउटा फेसबुक पोस्ट सेयर गरेका थिए। यद्यपि त्यसलाई राष्ट्रपति जेलेन्स्कीको कार्यालयले अस्वीकार गरेको थियो।

बन्दी आदानप्रदानमा को परे ?
रुसले युक्रेनसमक्ष हस्तान्तरण गरेका बन्दीको सूचीमा २४ जना युक्रेनी डुंगा चालक पनि रहेका छन्। उनीहरुलाई गत नोभेम्बरमा रुसले क्रिमिया क्षेत्रबाट पक्राउ गरेको थियो। क्रेर्च स्ट्रेटबाट जाँदै गर्दा उनीहरुलाई तीनवटा जहाजसहित रुसी सेनाले पक्राउ गरेको थियो। क्रेर्च स्ट्रेट अजोभ समुद्रमा रहेको युक्रेनी बन्दरगाह पुग्ने एकमात्र रुट हो। उनीहरुलाई पक्राउ गर्ने क्रममा रुसी नौ सेनाले गोली चलाएका थिए जसका कारण कैयौं युक्रेनी नागरिक घाइते भएका थिए। गत मे महिनामा अन्तर्राष्ट्रिय ट्रिबुनलले रुसले नियन्त्रणमा लिएका युक्रेनी डुंगा चालक र जहाजलाई मुक्त गर्न आदेश दिएको थियो।

क्रिमियामा आतंकवादी गतिविधि गरेको भन्दै सन् २०१५ मा २० वर्ष जेल सजाय तोकिएका युक्रेनका चलचित्र निर्माता ओलेग सेन्तसोभ पनि घर फर्किएका छन्। उनलाई जेल सजाय हुँदा संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसको कडा आलोचनासमेत गरेका थिए। उनलाई रुसमा रहेका युक्रेनका बन्दीमध्ये एक नम्बरको राजनीतिक बन्दीका रूपमा लिइन्थ्यो। त्यसैगरी सन् २०१६ मा मस्कोमा पक्राउ परेका एक युक्रेनी पत्रकार रोमन सुस्चेन्को पनि मुक्त भएका मध्येका एक हुन्।

उनलाई ‘जासुसीसम्बन्धी कार्य गरेको’ भन्दै रुसले पक्राउ गरेको थियो। साथै, मस्कोबाट मुक्त भएकाको सूचीमा युक्रेनका अति–दक्षिणपन्थी अभियन्ताहरु म्योकोला कार्पियुक र स्टानिस्लाम क्ेलेख पनि रहेका छन्। उनीहरु दुवैलाई सन् २०१४ मा रुसले पक्राउ गरेको थियो। उनीहरुमाथि ९० को दशकमा भएको पहिलो चेचेन विद्रोहको पक्षमा लडेको आरोप लगाइएको थियो। उता, रुसले भने युक्रेनले मुक्त गरेका आफ्ना नागरिकका नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।
 

प्रकाशित: २२ भाद्र २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App