२८ असार २०७७ आइतबार
अन्तर्राष्ट्रिय

चन्द्रमामा मान्छेको पाइला परेको ५० वर्ष पूरा

१) जुलाई १९६९ मा लिइएको ‘एपोलो ११’ का ‘क्रु’ सदस्य ः अन्तरिक्षयात्रीहरु नील आर्मस्ट्रङ, माइकल कोलिन्स र बुज एल्ड्रिन। फाइल तस्बिर ः नासा २) सन् १९६९ को जुलाई २० का दिन ‘एपोलो ११’ का लागि लुनार मोड्युल पाइलट अन्तरिक्षयात्री बुज एल्ड्रिन अमेरिकी झन्डासहित

काठमाडौं - चन्द्रमामा मान्छेको पाइला परेको शनिबार ५० वर्ष पूरा भएको छ। सन् १९६९ जुलाई २० का दिन मानव इतिहासमै पहिलो पटक अमेरिकी नागरिक नील आर्मस्ट्रङ र एड्विन बज एल्ड्रिलले चन्द्रमाको सतहमा पाइला चुम्न सफल भएका थिए।

‘एपोलो ११ मिसन’ नाम दिइएको सो अवसर संयुक्त राज्य अमेरिका र सम्रग विश्व इतिहासका लागि विशाल क्षण थियो। अझ अमेरिकाका लागि त त्यो क्षण एउटा महत्वपूर्ण जितकै रूपमा थियो किनभने तत्काली सोभियत संघसँगको अन्तरिक्षा दौडमा उसले बाजी मारेको थियो। सोभियत संघले सन् १९५७ मा स्पुटनिक नाम भूउपग्रह प्रक्षेपण गरेपछि तत्कालनी दुई शक्ति राष्ट्र अमेरिका र सोभियत संघबीच अन्तरिक्ष दौडको सुरुवात भएको थियो।

दुवै राष्ट्र अन्तरिक्ष यात्रामा केही नौलो र फरक कार्यका लागि जुटिरहेकै समयमा सन् १९६१ मा जोन एप केनेडी अमेरिकी राष्ट्रपति बने। उनी राष्ट्रपति बनेसँगै पूँजीवादको नेतृत्व गरिरहेको अमेरिका कम्युनिस्ट धारको नेतृत्व गरिरहेको शीतकालीन शत्रु सोभियत संघसँगको अन्तरिक्ष दौडमा पराजित हुँदै गएको भन्ने अधिकांश अमेरिकीको धारणा रहेको थियो।

सोही वर्ष सोभियत संघले मानव इतिहासमै पहिलो पटक सफलतापूर्वक मानवसहितको अन्तरिक्ष यात्रा ग¥यो। अन्तरिक्ष यात्रामा सोभियत संघले बाजी मारेपछि अमेरिकाले चन्द्रमामा पहिलो पाइला राख्ने देश बन्ने संकल्प अघि सा¥यो। तत्कालीन शत्रु राष्ट्र सोभियत संघसँगको प्रतिस्पर्धामा रहेको अमेरिकाका राष्ट्रपति केनेडीले सन् १९६२ मा एउटा प्रख्यात मन्तव्य राखे। उनको सो प्रख्यात मन्तव्य ‘हामीले चन्द्रमामा जाने निर्णय ग¥यौं’ भन्ने थियो।

केनेडीको यस्तो मन्तव्यपछि सोभियत संघमा झनै प्रतिस्पर्धी धारणाको विकास भयो। अझै भनौं अन्तरिक्ष दौड चलि नै रह्यो। जसको प्रतिक्रियास्वरुप सोभियत संघले सन् १९६५ मा चन्द्रमाको सतहमा अवतरण गराउने उद्देश्यसहित एउटा मानवरहित यान प्रक्षेपण ग¥यो। सोभियत संघको यो प्रयासपछि अमेरिका थप दबाबमा प¥यो। उसको अन्तरिक्ष एजेन्सी ‘नासा’ले एपोलो कार्यक्रम भनेर चिनिएको अभियानका लागि ठूलो मात्रामा स्रोत जुटाउने प्रतिबद्धता व्यक्त ग¥यो। अमेरिकाको यस्तो महŒवाकांक्षी कार्यक्रमका लागि तत्कालीन समयमा करिब २५ अर्ब डलर खर्च सहित करिब चार लाख जनशक्ति प्रयोग गरेको थियो।

‘एपोलो ११’ मिसनका लागि बुज एल्ड्रिन, नील आर्मस्ट्रङ र माइकल कोलिन्स नामका तीनजना अन्तरिक्षयात्रीलाई चयन गरिएको थियो। ‘द स्याटर्न भी’ नामक शक्तिशाली रकेटले एपोलो कमान्ड र सर्भिस मोड्युल तथा चन्द्रमामा छुनका लागि टाँसिएको लुनार मोड्युललाई बोकेको थियो। चन्द्रमाका लागि छुट्नुभन्दा पहिले सबै आवश्यक हार्डवयर पृथ्वीको कक्षमा पठाउने योजना रहेको थियो।

आर्मस्ट्रङ र एल्ड्रिन लुनार मोड्युलमा पस्ने र चन्द्रमाको सतह जाने तय भएको थियो भने कोलिन्स भने कमान्ड र सर्भिस मोड्युलमै बस्ने योजना बनेको थियो।
‘एपोलो ११’ को प्रक्षेपण पूर्व पृथ्वीको कक्षमा जानका लागि सन् १९६७ मै ‘एपोलो १’ परीक्षणका लागि तय गरिएको थियो। तर परीक्षणका बेला दुर्घटना हुन पुग्यो। कमान्ड मोड्युलमा आगलागी भएपछि सो दुर्घटना भएको थियो। दुर्घटनमा परी तीनजना अन्तरिक्षयात्रीको मृत्यु भएको थियो। त्यसपछि कैयौं महिनासम्म मानवसहितको अन्तरिक्ष उडानलाई स्थगन गरिएको थियो। ‘एपोलो ११’ कै मिसनका दौरान पनि ग्राउन्ड कन्ट्रोलसँग सञ्चारसम्बन्धी समस्या उत्पन्न भएको थियो र क्रुका सदस्यले त्यसअघि कहिल्यै नसुनेको अलार्म सन्देश कम्प्युटरमा सुनेका थिए।

लुनार मोड्युल पनि वास्तविक रूपमा निर्धारण गरिएको क्षेत्रभन्दा पर छोएर अन्त्य भएको थियो। यी समस्याका बाबजुत पनि पुथ्वी छोडेको लगभग एक सय १० घण्टापछि जुलाई २० का दिन चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो व्यक्ति बने नील आर्मस्ट्रङ। उनले चन्द्रमामा पाइला टेकेको २० मिनेटपछि बुज एल्ड्रिनले पनि चन्द्रमाको सतहमा पुग्न सफल भए। चन्द्रमाको सतहमा पाइला टेकेपछि आर्मस्ट्रङले दिएको अभिव्यक्ति विश्वभर टेलिभिजनमार्फत प्रसारण गरिएको थियो। उनले ‘मान्छेका लागि सानो कदम, मानवीयताका लागि विशाल कदम’ भएको बताएका थिए। उनीहरुले त्यसबीचमा लुनार मोड्युलबाहिर दुई घण्टा बिताए। उनीहरुले चन्द्रमाको सतहबाट स्याम्पल तस्बिर लिए र कैयौं वैज्ञानिक परीक्षण सम्पन्न गरे।

चन्द्रमाको अध्ययन पूरा गरिसकेपछि सो जोडी सफलतापूर्वक कमान्ड र सर्भिस मोड्युलसँग जोडियो। त्यसपछि पृथ्वीतर्फको उनीहरुको यात्रा सुरु भयो र सोही वर्षको जुलाई २४ का दिन उनीहरु प्रशान्त महासागरमा खसे। मानव इतिहासमै पहिलो पटक मान्छेले चन्द्रमाको सतह टेकेको त्यो पल विश्वभरबाट करिब ६५ करोड मानिसले हेरेको अनुमान गरिएको थियो। चन्द्रमामा मान्छेको सफल अवतरणको यो सफलताले विश्व जगतमा अमेरिकालाई आफ्नो शक्ति प्रदर्शन गर्ने एउटा उचित मौका मिलेको थियो।

सन् १९६० को दशक अमेरिकी इतिहासका लागि अत्यन्तै अशान्तपूर्ण देखिएको थियो। यही दशकमै अमेरिकाले राष्ट्रपति केनेडीको हत्या र देशका प्रमुख सहरमा दंगा देखेको थियो भने एसियाली मुलुक भियतनाममा भएको उसको सैन्य संलग्नतामा असहजता भोगेको थियो। समस्या नै समस्यामा रहेको अमेरिकाका लागि चन्द्रमामा पाइला टेकेर पाएको सफलताले राष्ट्रिय आत्मविश्वास बढाउन र अशान्त दशकको अन्त्य गर्नमा मद्दत पुगेको थियो।

सन् १९७२ सम्ममा चन्द्रमामा ६ वटा अमेरिकी मिसनले मानवलाई अवतरण गराएको थियो। यद्यपि हालसम्म पनि चन्द्रमामा मान्छे पुगेको भन्ने भनाइ पूर्ण रूपमा नाटक मन्चन भएको भन्ने धारणा पनि व्याप्त छ। तर सन् २००९ देखि नासाले प्रक्षेपण गरेको अनुसन्धानात्मक यान चन्द्रमाका कक्षमा घुमिरहेको छ यसले ‘एपोलो ११’ मिसनद्वारा चन्द्रमाको सतहलाई सफलतापूर्वक यात्रा गरेको भन्ने संकेतपूर्ण उच्च कोटीको तस्बिर पठाएको छ। ती तस्बिरमा मान्छेको पाइला र पांग्राले बनाएका बाटो पनि देखिएका छन्। मानिस चन्द्रमाको सतहमा पुगेको भन्ने विषयका लागि भौगोलिक प्रमाणका रूपमा त्यहाँबाट ल्याइएको चट्टान पनि रहेका छन्।

रुस, जापान, चीन, युरोपेली अन्तरिक्ष एजेन्सी, इजरायल र भारतले चन्द्रमाको कक्षमा घुम्नका लागि अनुसन्धान यान वा सतहमा सवारी अवतरण गराएको भए पनि चन्द्रमामा मान्छे पु¥याउने विश्वको एकमात्र राष्ट्र अमेरिका हो। हाल प्राविधिक रूपमा विश्वका शक्ति सम्पन्न राष्ट्रहरु चन्द्रमाबाहेक मंगल ग्रहमा पनि मानव उपस्थितिका लागि अनुसन्धानरत रहेका छन्। विगत ५० वर्षमा मानिसले चन्द्रमाका बारेमा कैयौं अनुसन्धान गरेका छन्। चन्द्रमामा मान्छेको अवतरण गराउनु राष्ट्रहरुका लागि अहिले प्राविधिक खुबीको विषय बनिरहेको छ जसले उसलाई कुलीन क्लबको सदस्यता दिनेछ।

यसबाहेक राष्ट्रहरुले चन्द्रमामा रहेका स्रोतको उपभोग गर्नका लागि पनि इच्छा प्रकट गरिरहेको देखिन्छ। चन्द्रमामा रहेका स्रोत निकाल्न कतिको सहज छ भन्ने विषय प्रष्ट नभए पनि राष्ट्रहरुले चन्द्रमामा रहेका सुन, प्लेटिनम र अन्य धातुहरुको खानी चलाउन पनि इच्छा प्रकट गरिरहेका छन्।

 

 

 

प्रकाशित: ५ श्रावण २०७६ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App