कराकस- अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निर्वासनमा जान तयार भएको दाबी गरेका छन्। तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गरेका छन्।
पोम्पेओले सीएनएनलाई दिएको एक अन्तर्वार्ता विमानस्थलमा मडुरोलाई लैजान विमान तयारी हालतमा राखिएको दाबी गरेका थिए। तर रुसले मडुरोलाई देश नछाड्न दबाव दिएको पोम्पेओले बताएका थिए। पोपेम्ओको यो भनाइ एक जोक मात्र भएको मडुरोको भनाई रहेको छ।
विपक्षी नेता ग्वाइदोको आह्वानमा भेनेजुएलाका विभिन्न शहरमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएर प्रदर्शन जारी राखेका बताइएको छ। मडुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देश रहेका छन् भने, ग्वाइदोलाई अमेरिका, थुप्रै युरोपेली देश र छिमेकी ल्याटिन एवम् दक्षिण अमेरिकी देशसहित दर्जनौँ राष्ट्रले मान्यता दिएका छन्।
विपक्षी नेता ग्वाइदोले गत जनवरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। उनको सो घोषणालाई मडुरोले अस्वीकार गरेका छन्। मडुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्दै आएपछि ल्याटिन अमेरिकी देश राजनीतिक र आर्थिक सङ्कटको भुमरीमा परेको छ।
क्युबाले ट्रम्पको चेतावनीलाई अस्विकार गर्ने
यसैबीच क्युबाका राष्ट्रपति मिगेल डायाज कनेल अमेरिकाको चेतावनीलाई वास्ता नगरी भेनेजुएला सरकारको समर्थन गर्ने बताएका छन्।
भेनेजुएलाको समर्थन गरेमा क्युबामा अझै बढी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको बावजूद पनि भेनेजुएलाको समर्थन गर्ने क्युबाले बताएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारले भेनेजुएलाको कानूनी सरकार भएको क्युबाका राष्ट्रपतिले बताएका छन्। एएफपी
प्रकाशित: १८ वैशाख २०७६ १०:०० बुधबार





