१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

‘उत्तर कोरियाली आणविक कार्यक्रम रोक्न सुरक्षा ग्यारेन्टी अपर्याप्त’

रुसको भ्लादिभोस्तकमा बिहीबार भएको भेटवार्तामा हात मिलाउँदै उत्तर कोरियाली नेता किम जोङ–उन (बायाँ) र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिरः एजेन्सी

मस्को – उत्तर कोरियालाई उसको आणविक कार्यक्रम रोक भन्नका लागि अमेरिकी सुरक्षा ग्यारेन्टीमात्रै सम्भवतः पर्याप्त नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनसँग बिहीबार पहिलो पटक शिखर बैठक गरेपछि रुसी राष्ट्रपति पुटिनको यस्तो धारणा बाहिर आएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर बैठक कुनै सहमतिबिना समापन भएको दुई महिनापछि उत्तर कोरियाली नेता किमसँग रुसी राष्ट्रपति पुटिनको बैठक भएको हो।

दुई नेताबीच रुसको भ्लादिभोस्तक सहरमा शिखर बैठक भएको हो। यद्यपि किम र पुटिनबीचको बैठकमा पनि कुनै महत्वपूर्ण ‘ब्रेकथ्रु’ नभएको रोयटर्सले जनाएको छ। किमसँग बैठक गरेर आफ्नो कूटनीतिक दायरालाई विश्वव्यापी रूपमा बढाउन चाहेका रुसी राष्ट्रपति पुटिनले प्योङयाङको सुरक्षा ग्यारेन्टीबारे अमेरिकाले दिएको आश्वासनका लागि छ राष्ट्रको समर्थन पनि आवश्यक रहेको बताएका छन्। जसको अर्थ अमेरिकाले एकतर्फी रूपमा प्योङयाङसँग वार्ता गर्ने प्रयास गरेर रुस, चीन, जापान र दक्षिण कोरियाका साथै अमेरिका र उत्तर कोरियाको संलग्नतालाई पर पु¥याएको रुसको बुझाइ छ।

‘उत्तर कोरियालीहरु आफ्नो सुरक्षाको ग्यारेन्टी चाहन्छन्। यति हो। हामी सबैले यसबारे सोच्न आवश्यक छ,’ उत्तर कोरियाली नेता किमसँगको बैठकपछि पत्रकारसमक्ष बोल्दै रुसी राष्ट्रपति पुटिनले बताए।
‘उत्तर कोरियाको हकमा कुनै एक पक्षबाट सुरक्षा ग्यारेन्टी उपलब्ध गराउनुपर्छ भन्ने विषयमा म विश्वस्त भएको छु। त्यस्तो ग्यारेन्टी अन्तर्राष्ट्रिय ग्यारेन्टी सिवाय केही हुन्न। दुई देशबीचको सम्झौतामात्रै पर्याप्त नहुने मैले बुझेको छु,’ पुटिनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

उत्तर कोरियाले खोजेको जस्तो सुरक्षा ग्यारेन्टी अन्तर्राष्ट्रियस्तरको, कानुनले बाँधिएको र उत्तर कोरियाको सार्वभौमसत्ता सम्मान गर्ने खालको हुनुपर्छ।

उत्तर कोरियाले खोजेको जस्तो सुरक्षा ग्यारेन्टी अन्तर्राष्ट्रियस्तरको, कानुनले बाँधिएको र उत्तर कोरियाको सार्वभौमसत्ता सम्मान गर्ने खालको हुनुपर्छ,’ उनले बताए। पहिलो पटक भएको पुटिन र किमबीचको शिखर बैठक दुई चरणमा भएको थियो। बैठक एकदमै सौहार्दपूर्ण भएको बताइएको छ। बैठकको पहिलो सत्रमा केही सीमित सहयोगीसहित नेता किम र पुटिन बसेर बैठक गरेका थिए भने दोस्रो चरणको बैठक ५० मिनेटसम्म अन्य अधिकारीहरुसहित चलेको थियो।
बैठकपछि उत्तर कोरियाली नेता किमसँग बोल्दै रुसी राष्ट्रपति पुटिनले भने, ‘ नेता किम अत्यन्तै खुला दिलका, सोचेर बोल्ने र रमाइला रहेछन्।’

उत्तर कोरियाली सर्वोच्च नेता किमसँगको बैठकबारे संक्षिप्तमा अमेरिकी र चिनियाँ नेतृत्वलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले प्योङयाङको आणविक कार्यक्रमबारेको सम्झौता सम्भव रहेको र विश्वास बढाउनका लागि चरणबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। आफ्नै सुविधा सम्पन्न रेलमा बुधबार रुसको भ्लादिभोस्तक आइपुगेका उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपको अवस्थाबारे बोल्दै भने, ‘यो विश्वले ध्यान दिएको विषय हो।’

पुटिनसँगको बैठकपछि भने नेता किमले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ। यद्यपि लेमोजिन कारमा चढ्नु अघि उनले रुसी राष्ट्रपति पुटिनसँग हात भने मिलाएका थिए। बिहीबारको औपचारिक बैठकअघि बुधबार दुई नेता गाला डिनरमा सहभागी भएर रुसी कलाकारले  प्रस्तुति रहेको परम्परागत साँस्कृतिक कार्यक्रममा सहभागी भएका थिए।

दुई नेताले एकअर्कालाई उपहारसमेत प्रदान गरेका थिए। किमले रुसी राष्ट्रपति पुटिनलाई उपहारका रूपमा परम्परागत कोरियाली तरबार दिएका थिए भने पुटिनले नेता किमलाई उनको सुविधा सम्पन्न रेलमा राख्ने मिल्ने खालको चिया बनाउने उपकरण दिएका थिए।

‘जब आधुनिक हतियार अस्तित्वमा थिएन हामीहरुले तरबार प्रयोग गर्ने गरेका थियौं,’ रुसी राष्ट्रपति पुटिनलाई तरबार दिँदै नेता किमले भनेको रुसको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App