१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

केरला बाढीपीडितलार्इ राहतको घोषणा

भारतको दक्षिणी राज्य केरलाको इर्नाकुलम जिल्लाको अलुभा क्षेत्रमा रहेका बाढी प्रभावित स्थानीयलाई उद्धार गरिँदै। तस्बिर : एजेन्सी

केरला – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढीपहिरो प्रभावितलाई राहत रकमको घोषणा गरेका छन्।

भारतको दक्षिणी राज्य केरलामा आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँको दरले राहत रकम दिने घोषणा गरेका हुन्। उनले बाढीपहिरोमा परी घाइते भएकालाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने पनि बताएका छन्। उनीहरुलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। प्रधानमन्त्री मोदीले केरलाका लागि पाँच सय करोड सहायता रकमको घोषणा यसअघि नै गरिसकेका थिए।

केरलाका मुख्यमन्त्री पिनारायी भिजायनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समीक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्नोतर्फबाट सो सहायता रकम दिने घोषणा गरेका हुन्। केरलाका केही जिल्लामा परेको अविरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ।

शताब्दीकै खराब भनिएको बाढीका कारण केरलाका १३ वटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीले जानकारी दिएका छन्। उद्धारका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकप्टरको पनि बन्दोबस्त गरिएको उनीहरुको भनाइ छ। उद्धारकर्ताले स्थानीय वासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेको बताइएको छ। बाढी पहिरोका कारण केरला राज्यमा अहिलेसम्म दुई लाख मानिस आफ्नो घर छोडेर शिविरमा बसिरहेका छन्।

एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन तीन सयभन्दा बढी डुंगा प्रयोग गरिएका छन्। भारतको गृह मन्त्रालयले दिएको जानकारीअनुसार यस बर्षको बर्षायाम सुरु भएदेखि अहिलेसम्म देशभर नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: ३ भाद्र २०७५ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App