२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

मेलमिलाप दिवस: कांग्रेसभित्रै छैन मिलाप

नेपाली कांग्रेसका संस्थापकमध्ये एक बिपी कोइराला २०३३ पुस १६ गते देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला भएको जनाउँदै राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए।

प्रजातन्त्र पुनर्प्राप्तिका लागि भारतको निर्वासित जीवनमा रहेका बिपीसहितका नेता ४९ वर्षअघि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर स्वदेश फर्केका थिए। अहिले देशमा लोकतन्त्र त छ तर बिपी कोइरालासहितका नेताहरूले त्यतिबेला भनेजस्तै देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको नै बोलवाला छ।

संविधानसभाबाट जारी संविधान एक प्रकारले ‘कोमा’ मा पुगेको छ। जनताको सर्वोच्च निकाय संसद्को विघटन गरिएको छ। जननिर्वाचित सरकार विस्थापित भएर अन्तरिम सरकार गठन भएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न भन्दै निर्वाचनको मिति घोषणा गरेको छ।

फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा मात्र भएको छैन, राजनीतिक दलले सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। एक प्रकारले निर्वाचनको गाडीले आधा मार्ग पार गरिसकेको छ तर निर्वाचनप्रतिको संशय अझै हटेको र टरेको छैन।

तोकिएको समयमा निर्वाचनसम्पन्न भए देश लोकतान्त्रिक शासन व्यवस्थाको राजमार्गमा कुद्नु छ। तर बिपी कोइरालाले २०३३ सालमा स्वदेश फर्कनुअघि भनेजस्तै ‘हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। त्यो हो, देशको अस्तित्वको रक्षा गर्ने’।

राष्ट्र रहेन भने हामी रहन्नौं भन्ने बिपी कोइरालाको भावनाले प्रेरित रहेको देखिन्छ, त्यतिबेलाको भनाइ। कांग्रेससहितका राजनीतिक दलका नेताहरूसँग भेटमा उनीहरूको चासो र चिन्ता मुलुकको राष्ट्रियता नै संकटमा पर्न लागेको जस्तो देखिन्छ।

यस्तो बेलामा मुलुकका सबै राजनीतिक दल र समूहलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने कांग्रेस भने आफैं कुहिरोको कागजस्तो बन्न पुगेको छ। भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वंसपछि पनि कांग्रेसका नेता सत्ता, शक्ति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा उभिन सकेका छैनन्।

नेताका अघिपछि स्वार्थ समूहरूको लावालस्कर भए पनि पार्टीभित्र एकता र भाइचारा हराउँदै जाँदा कांग्रेस आफ्नै महाधिवेशन कहिले गर्ने भन्ने निर्णयमा पनि पुग्न सकेको छैन। ४९ दिन लगाएर १५औं महाधिवेशन पुस २६ गतेदेखि गर्ने निर्णय कांग्रेसले गरेको थियो। तर उक्त समयसीमामा कांग्रेस महाधिवेशन नहुने निश्चित छ।

तोकिएको मितिमा महाधिवेशन नभए विशेष महाधिवेशनका लागि यसअघि दर्ता गरिएको निवेदनका आधारमा भेला बोलाउने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले जनाउँदै आएका छन् तर सभापति शेरबहादुर देउवाले मंगलबार केही सञ्चारकर्मीसँग कुरा गर्दै विशेष महाधिवेशन कुनै पनि हालतमा नहुने स्पष्ट पारेका छन्।

नियमित महाधिवेशन गर्न आफूले पहिला नै भनिसकेको उनले जनाएका छन्। यसले पार्टीभित्रको कटुता बढ्ने मात्र होइन, महाधिवेशन पञ्चायतले पार्टीकै नेता–कार्यकर्तालाई आफूविरुद्ध प्रयोग गर्न सक्ने आशंका र भय तत्कालीन समयका नेताहरूमा भएजस्तै अहिले कांग्रेसका नेताहरू एकअर्काविरूद्ध विषवमन गर्दै मात्र आएका छैनन्, आशंका र भय पनि रहेको देखिन्छ।

गुट विवादले महाधिवेशनदेखि अर्को महाधिवेशन आउँदासम्म केन्द्रदेखि गाउँसम्मको कार्यसमिति र निकायलाई पूर्णता दिन कांग्रेस असफल भएको छ। एकले अर्कालाई कमजोर साबित गरेर पार्टीको नेतृत्वमा पुग्ने होडमा केन्द्रदेखि गाउँ तहसम्मका नेता–कार्यकर्ता सक्रिय छन्।

आफैंभित्रको एकता र मेलमिलाप खलबलिन पुग्दा भदौ २४ गतेपछि उत्पन्न विषम परिस्थितिमा त कांग्रेस भूमिकाविहीन बन्न पुगेको छ। न कुट्ने न त कुटाइ खाने, कांग्रेस कसैको पक्षमा पनि नदेखिएको जनाउँदै कांग्रेस ललितपुरका नेता लाओस राईले भने, ‘कांग्रेसभित्रको बृहत् एकता अहिलेको आवश्यकता हो। नेताहरूको ध्यान आफूमा केन्द्रित हुनु गलत भयो।’

धादिङ कांग्रेसका नेता विकास श्रेष्ठले पनि अहिलेको समयमा पार्टीका नेताहरू व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर देश, जनता र पार्टीको हितमा केन्द्रित हुनुपर्ने बताउँछन् तर केन्द्रीय नेताहरू आआफ्नो जोडघटाउमा रमाउँदा देश, जनता र पार्टी कमजोर बन्न पुगेको आशंका व्यक्त गर्दै उनले भने, ‘पार्टीभित्रको बृहत्तर एकतासहित देशका अन्य राजनीतिक शक्ति र समूहलाई गोलबद्ध गरेर अहिलेको संकटबाट मुलुकलाई बाहिर निकाल्ने नेतृत्व कांग्रेसले लिनुपर्छ।’

कांग्रेस चौबाटोमा उभिएको बटुवाजस्तो बन्न पुगेको आरोप लागिरहेका बेला कांग्रेस नुवाकोटका नेता जयराम दाहालले भने, ‘महाधिवेशनसहितका विषयमा पार्टीले स्पष्ट नीति तथा कार्यक्रम तय गर्नुपर्छ। अहिले धेरै अलमल भयो। त्यसले कांग्रेस माथि नै प्रश्न उठ्न थालेका छन्। त्यसलाई नेतृत्वले कार्यक्रममार्फत जवाफ दिनुपर्छ।’

बिपी कोइरालाले राष्ट्रिय एकताले प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्था बलियो हुने बताएका थिए। कांग्रेस दाङका नेता विपुल पोखरेलले राष्ट्रियता, प्रजातन्त्र, विकास तथा उन्नति एक अर्काका परिपूरक रहेको जनाउँदै पार्टीभित्रको बृहत्तर एकताले नै मुलुकको विद्यमान संकटबाट मुलुकलाई बाहिर निकाल्न सकिने बताए। त्यसका लागि निर्वाचन नै एक मात्र विकल्प र बाटो रहेको जनाउँदै पोखरेलले कांग्रेसले पार्टीभित्र मात्र होइन, अन्य शक्तिहरूलाई पनि आश्वस्त बनाएर लोकतन्त्र र एकताको बाटोमा अघि बढाउनुपर्ने बताउँछन्।

कांग्रेसभित्र सम्पूर्ण एकताको विकल्प छैन: शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता राजनीतिभन्दा माथि उठेर नेपालीहरूको जागरुक सतर्कतासहित ऐक्यबद्धताको खाँचो औंल्याएका छन्। २०३३ पुस १६ गते बिपी कोइरालासहितका नेताहरू राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई स्मरण गर्दै कोइरालाले मंगलबार एक सन्देश जारी गर्दै पाँच दशकपछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरूको दबाब र स्वार्थहरू अगाडि आएको अनुभव भएको उल्लेख गरेका छन्।

यस्तो अवस्थामा राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्त्व आज कांग्रेस एक्लैको विषय नभएको स्पष्ट गर्दै उनले भनेका छन्, ‘राष्ट्रिय एकता र मेलमिलापका लागि आज सत्ता राजनीतिभन्दा माथि सार्वभौम सम्पूर्ण नेपालीहरूको जागरुक सतर्कतासहित ऐक्यबद्धताको खाँचो छ।’

राष्ट्रिय मेलमिलापको सन्देश दिएर आठ वर्ष भारतको प्रवास जीवन त्यागी बिपी कोइराला नेपाल फर्केको स्मरण पनि उनले गरे। त्यस समयमा विश्वका महाशक्ति राष्ट्रहरूमा देखिएका द्वन्द्व र खिचातानीबाट नेपालजस्तो सानो र अत्यन्त संवेदनशील भूराजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्ण राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको सन्देश बिपीले दिएको उनले जनाए। ‘यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बिपीको विचारलाई फेरि एकपटक मन, वचन र कर्मले मनन गर्नुपरेको छ,’ शेखरले भनेका छन्।

राष्ट्रिय एकता र मेलमिलापले मात्र हामीले हाम्रो देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्छौं भनी बिपी सन्देशको मर्मलाई आज यो देशको सोच, उद्देश्य र साझा प्रतिबद्धता बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उनको भनाइ थियो।

‘आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धिको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्त्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प छैन,’ उनले भनेका छन्।

कांग्रेसभित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुड्किलो मात्र होइन, राष्ट्रको आवश्यक तत्त्व रहेको जनाउँदै शेखरले त्यसलाई सबैले मनन गर्न जरुरी रहेको औंल्याएका छन्।

‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो। यो गम्भीर तथ्यमा चुक्यौं भने हामी भूमिकाविहीन हुने खतरा रहन्छ,’ उनले भनेका छन्, ‘राजनीतिक परिदृश्यमा उदाएका नयाँ चुनौतीहरूको सामना गर्न हामीसँग सम्पूर्ण एकताको विकल्प छैन।’

प्रकाशित: १६ पुस २०८२ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App