१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

एमाले सडक र संसद् दुवै मोर्चामा सङ्घर्षरत छ, अझ सशक्त बनाउँछाैं: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा ‘पपुलिष्ट’ राजनीति बढ्दै गएको र अराजकता फैलिएको भन्दै वर्तमान सरकारको आलोचन गरेका छन्।

आइतबार एमाले संसदीय विभागद्वारा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित सांसदहरूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीतर्फ लक्षित गर्दै सस्तो लोकप्रियताका लागि भइरहेका गतिविधिहरूको विरोध गरेका हुन्।

अध्यक्ष ओलीले एमाले अहिले सडक र संसद् दुवै मोर्चामा सङ्घर्षरत रहेको उल्लेख गर्दै ती मोर्चालाई पुनः सशक्त बनाएर लैजाने घोषणा गरे।

‘हामी दुई मोर्चाको सङ्घर्षमा छौं। एउटा सडक सङ्घर्षको मोर्चा र अर्को संसद् सङ्घर्षको मोर्चा,’ उनले भने, ‘अहिले सडक सङ्घर्षको मोर्चामा अलिकति धक्का खाएको अवस्था छ। धक्का खाएको अवस्थामा कसैको मनोबल बुलन्द हुँदैन, तर सडक र संसद् सङ्घर्ष एकअर्काका परिपूरक भएकाले यी दुवै मोर्चालाई फेरि उठाउनुपर्छ।’

रास्वपाका समर्थकहरूले सामाजिक सञ्जालमा गर्ने टिप्पणीबारे बोल्दै अध्यक्ष ओलीले भने- ‘यहाँ प्रश्न पपुलारिटीको मात्र छैन, त्योभन्दा पनि ठूलो भद्दा प्रयास भइरहेको छ,’ उनले थपे, ‘कुनै गलत कुराको सम्बन्धमा टिप्पणी गर्‍यो भने असभ्यता, अश्लीलता र असामाजिकताका साथ आक्रमण गर्ने, मानिसलाई हतोत्साहित बनाउने र महिलाहरूको हुरमत लिनेसम्मका काम भइरहेका छन्।’

सामाजिक सञ्जाल अचेल ‘असामाजिक सञ्जाल’ का रूपमा परिणत भएको दाबी गर्दै उनले दर्ता गर्न नपर्ने र कसैप्रति उत्तरदायी हुन नपर्ने माध्यमबाट निराधार भ्रमहरू फैलाइएको आरोप लगाए।

अहिलेको समग्र राजनीति परिभाषाविहीन, नीतिविहीन, दिशाविहीन र थितिविहीन बनेको ओलीको टिप्पणी थियो।

विगतमा प्रधानन्यायाधीश सोझै प्रधानमन्त्री बन्ने जस्ता असंवैधानिक काम भएको स्मरण गर्दै उनले अहिलेको परिवर्तन र सरकारको प्रारम्भ नै षड्यन्त्र, मान्छे मार्ने र विध्वंश मच्चाउने शैलीबाट सुरु भएको बताए।

लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय पाटाहरू मात्र मान्य हुने भन्दै उनले हिंसा, आगजनी, तोडफोड र कब्जा गर्ने शैलीलाई एमालेले परास्त गर्ने दाबी गरे।

प्रकाशित: ३ श्रावण २०८३ १५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App