नेकपा (एमाले) ले सुनसरीमा चार जनाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र न्यायिक संयन्त्र आवश्यक रहेको बताए। उनले घटनामा भएको चार जनाको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।
बरालले घटनाको वास्तविक कारण पत्ता लगाएर भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए।
‘त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ। यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन,’ उनले संसद्मा भने।
सुनसरी घटनालाई लिएर प्रमुख प्रतिपक्षी एमालेले सरकारमाथि थप जवाफदेहिताको माग गर्दै निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारण हुनुपर्ने अडान दोहोर्याएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १४:०१ मंगलबार

