एलपी ग्यास उद्योग संघ नेपालले बजारमा तत्काल ग्यासको अभाव नभएको दाबी गरेको छ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै संघले हाल भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको छ र आपूर्तिमा कुनै कटौती नभएको जनाएको छ।
उपभोक्ताहरू विभिन्न स्थानमा एलपि ग्यासका लागि लाइन बस्नु परेको र लाइन बस्दा समेत ग्यास नपाएर भौतारिनु परेको परिस्थितिमा संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले विगत केही महिनाको कम आयातका कारण सिर्जिएको प्रभाव अझै बाँकी रहेको उल्लेख गर्दै अहिले १४.२ केजीका पूरा सिलिन्डर वितरण भइरहेको जानकारी दिएको छ। तर धेरै उपभोक्ताले एकैचोटि खाली सिलिन्डर भर्न ल्याउँदा बजारमा अस्थायी अभाव देखिएको बताएको छ।
‘आयात नियमित हुँदा पनि बजारमा ग्यास अभाव देखिनुको मुख्य कारण विगत ६ महिनाको अवधिमा करिब ४५ हजार मेटन ग्यास नियमित खपतभन्दा कम आयात हुँदा आवश्यकताभन्दा धेरै लामो समय आधा सिलिण्डरको प्रयोग हुनु हो। आम उपभोक्तासँग ग्यास पाइपिङका लागि ६ के.जि. भन्दा माथिको सबै खाली सिलिण्डरहरू एकै पटक भर्ने होडबाजी देखिएको छ’ संघले भनेको छ।
संघले कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न आग्रह गरेको छ। साथै विक्रेता र उद्योगीलाई पारदर्शी तथा व्यवस्थित ढंगले ग्यास वितरण गर्न र उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न अनुरोध गरेको छ।
यस समस्याको उचित समाधानका लागि नेपाल आयल निगम लिमिटेड, उद्योगीहरू, विक्रेताहरू र आम उपभोक्ताहरूले एक आपसमा हातेमालो गर्नुपर्ने बताउँदै संघले भनेको छ,‘आम उपभोक्ताहरू जोसँग कम्तीमा एक महिनापुग्ने ग्यास मौज्दात छ, उहाँहरूले तत्काल लाइनमा नबसिदिन र व्यवस्थित ढंगले बजारमा ग्यास पठाउने तथा नियमितभन्दा बढी ग्यास आयात गर्ने कार्यमा सबै पक्ष इमानदार र कर्तव्यनिष्ठ भई लागेमा बजार सहज हुनेछ।’
प्रकाशित: १९ श्रावण २०८३ १३:५८ मंगलबार





