२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेपालमा एमाले मात्रै लोकप्रिय पार्टी थियो, भ्रम फैलाएर अलोपप्रिय बनाइयो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफ्नो पार्टी मात्रै वास्तविक रूपमा लोकप्रिय रहेको भए पनि अनेकौं भ्रम र दुष्प्रचार फैलाएर अलोपप्रिय बनाइएको दाबी गरेका छन्।

आइतबार संसदीय कामलाई प्रभावकारी बनाउने सन्दर्भमा पार्टीका सांसदहरूका लागि आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार लक्षित यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले एमालेले आफ्नो विचार, काम, जनपक्षीय नीति र राष्ट्रप्रतिको समर्पणका कारण लोकप्रियता हासिल गरेको भए पनि विरोधीहरूले यसलाई सुनियोजित रूपमा कमजोर पारेको बताए।

‘हाम्रो पार्टी मात्र लोकप्रिय थियो नेपालमा, तर अलोपप्रिय बनाइयो,’ ओलीले भने, ‘अहिले हाम्रो लोकप्रियतालाई धेरै तल झारिएको छ, जसलाई हामीले फेरि जनताका बीचमा गएर उठाउनु पर्नेछ।’

सम्बोधनका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाहको सरकारअन्तर्गत देशको आर्थिक र सेयर बजारको अवस्था खस्किएको आरोप लगाए।

‘अहिले सेयर मार्केट कस्तो छ ? ५ खर्ब ४२ अर्ब रुपैयाँ गायब भयो,’ उनले भने, ‘हामी रियल दुनियाँमा मात्र होइन फिक्सनको जमानामा छौं। कागजी नोट, सेयर र कार्डको पछाडि ठूलो पुँजी गायब भइरहेको छ।’

विगतमा एमालेले खेलेको ऐतिहासिक भूमिका स्मरण गराउँदै ओलीले हतियार उठाएका माओवादीलाई संवादमार्फत शान्ति प्रक्रियामा ल्याएको र शताब्दीऔं पुरानो राजतन्त्रलाई लोकतान्त्रिक एवं शान्तिपूर्ण ढङ्गले नै बिदा गरेको सुनाए। उनले भने, ‘हामीले बिनातोडफोड र हिंसा, लोकतान्त्रिक एवं विधिसम्मत ढङ्गले नै राजतन्त्र बिदा गर्‍यौं।’

सांसदहरूलाई संसद्मा प्रभावकारी भूमिका खेल्न निर्देशन दिँदै ओलीले संसद्मा ‘स्पून फिडिङ’ ले काम नगर्ने बताए। सांसदहरूलाई प्रविधि, पुस्तक, पुस्तकालय र कृत्रिम बौद्धिकता जस्ता नवीनतम प्रविधिको प्रयोग गरेर अध्ययनशील बन्न उनले सुझाव दिए।

संसद्मा पार्टीको शक्ति सङ्ख्या मात्र नभई तथ्य र सत्य नै सबैभन्दा ठूलो बल हुने उनको भनाइ थियो।

प्रकाशित: ३ श्रावण २०८३ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App