१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

गान्धीले लेखे मोदीलाई पत्र

नयाँ दिल्ली – केरलामा निरन्तरको मुसलधारे वर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय बस्तीहरुलाई प्रभावित बनाएपछि ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।

दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको संख्या ३० पुगेको छ । बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका बस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका छन्। विपक्षी दलका अध्यक्षसमेत रहेका गान्धीले शनिबार केन्द्र सरकारका प्रधानमन्त्री मोदीलाई पत्र लेखेका हुन्। पत्रमा गान्धीले केन्द्रमार्फत् केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त बजेटको प्रबन्ध गर्न आग्रह गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। बाढीले केरलाका कैयौं जिल्लामा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि बालीलाई व्यापक प्रभावित बनाएको छ।

विगत पाँच दशककै सबैभन्दा ठूलो विपद् केरला राज्यमा देखिएको र यसबाट ठूलो मानवीय तथा आर्थिक क्षति भएको नेता राहुलले पत्रमा जनाएका छन्। बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि पत्रमा उल्लेख गरिएको एएनआईले जनाएको छ। अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव परेको र यो माछा पालन गर्ने किसानका लागि ठूलो धक्का भएको, नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा बताएका छन्।

केरलामा बाढी तथा पहिरो र डुबानका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भएको छ।  बाडी पहिरोका कारण सडकहरु भत्किएका छन् भने ठूलो मानवीय विपत् आएको छ जसलाई पुरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेको समेत पत्रमा उल्लेख गरिएको छ। कंग्रेस अध्यक्षले केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरला सरकारसँग समन्वयका साथ अघि बढ्ने र यसबाट पीडितले राहतको महसुस गर्ने गरी बजेटको निकासा हुनेमा विश्वास व्यक्त गरेको एएनआईले जनाएको छ।

केरला सरकारले शनिबार हालैको वर्षापछि बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाएका मृतकका परिवारजनलाई चार लाख भारतीय रुपैयाँ बराबरको राहतको घोषणा गरेको छ। बाढीमा घर तथा व्यापक खेतीबाली गुमाएका नागरिकलाई प्रतिपरिवार १० लाख भारतीय रूपैयाँ दिने प्रतिबद्धतासमेत केरला सरकारले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७५ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App