१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

चेतनयुगको महाविम्ब

सुन्दैआएकी छु, ‘यो संसारमा एउटा यस्तो पारस पत्थर छ, जुन पत्थरको स्पर्शले मात्रै पनि फलाम सुनमा परिणत हुन्छ।’  जिज्ञासाले भरिएको मनमा सधैं उत्साह हुन्थ्यो– आहा! सौभाग्य जागृत भयो भने त कुनै दिन मेरो हातमा पनि पारस पत्थर हुनेछ र म पनि भ्याएसम्म फलामका मालताल जम्मा पारेर सुनमा परिणत गर्न सक्नेछु। अनि त समृद्धिको आकाश ओडेर आनन्दले निदाउनेछु।

शंकाको खास्टो ओड्छु र फेरि सोच्छु साँच्चै होला त पारस पत्थरको अस्तित्व? नजिकै बसेका रसायनशास्त्रका अध्यापक श्रीमान्लाई सोध्छु, ‘के साँच्चै अस्तित्व छ पारस पत्थरको?’ मेरो प्रश्न सुनेर उहाँ हाँस्नुहुन्छ।

मलाई पारस पत्थरलाई भेट्ने वाञ्छा जागेको निकै वर्ष भयो। केही दिनदेखि ‘महायुग’को यात्रामा छु। ‘महायुग’मा सीमा आभासले मलाई पारस पत्थरको उद्गम स्थलतिर लिएर गएकी छन्।  मैले भेटेँ, त्यो पत्थर कहाँ प्राप्त गर्न सकिन्छ।

स्त्रीहरूले भोग्दै आएको सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक विभेद, अन्याय, अत्याचार, शोषण, हत्या, हिंसा मात्र छैन, यहाँ विचारको थामि नसक्नु बाढी छ, आँधी छ, तुफान छ। स्त्रीहरूको विप्लवी आत्माको आक्रोश छ।

नारी मस्तिष्कभित्र कतिसम्मको डरलाग्दो आवाज गुन्जिएको छ भन्ने कुरालाई ‘महायुग’ले मुखरित गरेको छ। महायुगको निर्माण गर्ने क्रममा स्त्रीजातिले भोग्दै आएको समाज, सम्बन्ध, राजनीतिको जीवन्त चलचित्र छ।

स्त्रीहरूको आदिम पीडाको संसारबाट महायुग आरम्भ भएको छ। सदियौंदेखि अपहेलना, तिरस्कारलाई भाग्यसँग दाँज्दै आएका छायादेवीहरूको जीवन बोलेको छ। महायुग आरम्भ हुनुभन्दा अगाडिका कथामा ‘कल्याणी धर्ती’की ओलानलाई देख्छु। ‘सेतो धर्ती’की तारा यताउता चलमलाएको भेट्छु, आख्यको भेषमा तपस्वी छाया उठ्दा अग्निस्नानकी माया छटपटाएको पाउँछु, बद्री र सन्तेबिचको विभ्रममा।

 अनौठो संसार सादृश्य हुन्छ ठाउँठाउँमा। कथाले डो¥याउँदै लैजान्छ, विश्वासको घाम उदाउँछ र देख्छु रातो धर्तीमा सेता फूलहरू फुल्न बाध्य छन्, अनेकौं काँडामा कोतरिएर। आफैंमा पूर्णताप्राप्त शक्तिशाली फूलहरू अल्झिन्छन् अनेकौं पासाहरूमा, बन्धनहरूमा। जरा भएर पनि जराहीन पारिएका तिनै स्त्रीजराहरू जब वरको जरामा परिणत हुन्छन् र पृथ्वीको गर्तमा पुगेर परिवर्तनको विगुल फुक्दै कम्पायमान हुन्छन्, तब महायुग आरम्भ हुन्छ।

उपन्यास पढ्दै गर्दा मलाई पिरले छोपेको थियो, कतै नीलञ्जनाको जीवन पनि आमा र हजुरआमाकै यात्रामा त फस्ने होइन? नीलञ्जनाले भोगेको प्रारम्भिक समाजसम्म आइपुग्दा हतासिएकी थिएँ। हैट! दोहोरिँदै आएको इतिहास पुनः भोग्नु नै पर्ने भयो। नीलाञ्जना पनि गर्भवती भई। अब तिरस्कारको संगीनले कति घोच्ने हो, अपमानको हलाहल कति पिउनुपर्ने हो!

उपन्यासकारले जब यक्षणीसँग मेरो भेट गराइन्, तब हृदय गदगद भयो। चेतना नै त रहेछ आखिर पारस पत्थर। विचारहरू नै त रहेछन् फलाम। जुन विचारलाई चेतनाले स्पर्श गर्दैन, ती विचारहरूमा त खिया लाग्ने नै रहेछ। पाशुपत क्षेत्र निकटको पुस्तकालयबाट आरम्भ भएको यक्षणीको यात्रा पढ्न पाठकले धीरताको आसन कस्नै पर्छ।

महायुगको यात्रा चेतनाको यात्रा हो। संवेदनाको आवाज हो। कल्पनाभित्र पनि न्यायोचित मागको शङ्खघोष हो। मान्छे भएर मान्छेसरी बाँच्न नपाएकाहरूको विद्रोही चित्कार हो। वर्तमान समाजमा घटित अनेकौं घटनाहरूको साविती बयान पनि हो। कल्पनाभित्रको शाश्वत सत्य पनि हो। वर्तमान व्यवस्थाप्रति व्यंग्य लाठी पनि हो।

विचारको सुनामी शान्त भएपछि महायुग थामिएको छ। महायुग पढेपछि मेरो मस्तिष्क निकै उत्साही भएको छ। सहअस्तित्व, सहकार्य, सहयोग, ससम्मान, जागृति, आत्मबोध रूपी ज्ञानकुञ्जी प्राप्त भएपछि महायुग पक्कै भेटिन्छ। यक्षणी बन्न नपाएका कयौं स्त्रीहरूको आक्रोश हो महायुग। जिउँदै खाल्टामा पुरिएर बाँच्नुपर्नेहरूको उकुसमुकुसकको उच्छवास हो महायुग।

छायादेवी आफूले कमाएको पैसा खर्च गरेर वेदनिधिलाई पुरुष बनाउन मद्दत गर्छे तर परिणाम वेदनिधिले अर्को विवाह गर्छ। यहाँ स्त्रीले पनि स्त्रीको साथ दिन सक्दैनन्। आफ्नै शरीरले पनि शरीरलाई साथ दिएको छैन। शरीरको भोक डरलाग्दो गरी उठेको छ। जुन सत्य पनि हो। आधारभूत आवश्यकता हो।

आआफ्नो स्वार्थमा संसार चलेको छ।  असल साथी भएर सँगै हुर्किएका छायादेवी र वेदनिधिलाई आखिर कुन तत्त्वको कमीले स्त्री र पुरुष बनायो? कुन तृष्णा पूरा गर्न छायादेवीले घर छोडेर हिँडिन्? शरीरको प्यास दुवै पात्रमा छ तर तमाम हन्डर केवल छायादेवीले खेप्नुपर्ने के शारीरिक कारण मात्र हो? विडम्बना शारीरिक संरचना कमजोर भएकै कारण छायादेवीले हन्डर खाएकी हुन् कि सामाजिक व्यवस्था र संरचनाले? मन आन्दोलित भयो। तर पनि प्रश्नहरू त बाँकी नै छन्।

उपन्यासकारले साधनाले खारिएका स्त्रीहरूलाई किन फेरि पुरुषकै वरिपरि बाँच्न विवश पारिन् भन्ने कुराले मनलाई रनथन्यायो। निकैबेर गम खाएँ अनि पुनः यथार्थको धरातलमा उभिएर स्विकारें– सहअस्तित्वको युगलाई। तर पनि मन छड्किन छाडेन।

आधुनिक युगमा नारीहरू मनोरञ्जनको साधन बनेझैं महायुगमा पुरुषहरू पनि यौन खेलौना या यौनदास त बन्ने होइनन्? शक्तिको उन्मादमा हिँडेका स्त्रीहरूले पुरुषको कुन शक्तिमा आकर्षित हुनेहुन्? पुरुष र स्त्रीको सम्बन्ध यौनभन्दा माथि कुनै युगमा पनि उठ्दैन? सुगठित शरीर नै किन चाहिएको महायुगमा पनि? फेरि सोचेँ– पक्कै यो व्यंग्य होला। वर्तमान समयमा नारीलाई मात्र कामवासनाको रूपमा हेरिनुपर्ने अवस्थाको।

चिन्ताको मदानी घुमि नै रह्यो। शक्ति, सत्ता र सामथ्र्य धारण गरेपछि स्त्रीसत्तामा पनि पुरुषहरूलाई दोस्रो दर्जाको नागरिक बनाउने त होइनन् शक्तिशाली स्त्रीहरूले?

माता पार्वतीले आफ्नै जिउको मयलबाट गणेश बनाएझैं किन बनाउन सकिनन् ऋतुजाले आफ्नै तन्तुबाट अर्को सृष्टि? किन थामेर हिँडिन् गठिलो शरीर भएको आकर्षक, कामुक र शक्तिशाली वीर्यवान्लाई नै? फेरि सोचेँ, सहअस्तित्वबिना संसार अधुरो छ। सहकार्य नै दिगो समाधान हो, सभ्य समाज निर्माणको।

स्त्रीशक्ति शक्तिपीठ र घरघरको पूजाकोठामा मात्र पुजिने देवी होइनन्। पलपलमा सहयोग, सहकार्य र सहअस्तित्वको सारथि हुन् भन्दै हातमा हात मिलाएर काँधमा काँध जोडेर सँगसँगै अगाडि बढ्ने साथी हुन् भन्ने पाठ दाजुले आमाहरूको संस्कारमा देख्यो। आज ऊ पुरुष भए पनि मातृगुणले सुसज्जित छ र आउँदो पुस्तालाई पनि सिकाउँदै छ, आमाको सम्मानपूर्ण संसार निर्माण।

‘महायुग’ले निजै व्यापक विषय उठाउँदा यो बोझिलो पनि भएको छ। मूर्त विषयलाई त आँखा चिम्लिनेहरूले यो अमूर्त संसारलाई फगत कल्पनाको संसार मात्र त ठान्ने होइनन्? यो कल्पना मात्र भने होइन। बुझ्ला सभ्य समाजले– महायुगको यात्रा उकुसमुकुसको उच्छवास हो भन्ने कुरा? जिउँदै खाल्टोमा गाडिएर बाँच्नुपर्ने समुदायको चिच्याहट हो भन्ने वास्विकता?

प्रकाशित: १७ माघ २०८२ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App