७ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘चीन–इरानबीचको व्यापारिक सम्बन्धले कसैलाई हानी गर्दैन’

दक्षिणपूर्वी एसियाली राष्ट्रको समूह (आसियान)को विदेशमन्त्रीस्तरीय बैठकका दौरान अगस्ट ३ का दिन सिंगापुरमा भएको द्विपक्षीय बैठकमा इरानी विदेशमन्त्री मोहम्मद जाभाद जारिफ (बायाँ) र चिनियाँ विदेशमन्त्री वाङ यी। तस्बिर : एजेन्सी

बेइजिङ – चीन र इरानबीचको व्यापारिक र ऊर्जा सम्बन्धले कुनै पनि देशको राष्ट्रिय स्वार्थमा हानी नपुगेको चीनको विदेश मन्त्रालयले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि कम्पनीलाई अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि चिनियाँ विदेश मन्त्रालयको यस्तो भनाइ बाहिरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

वासिङ्टनका गठबन्धन राष्ट्रहरुको आग्रह विपरित पनि अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध लगाए पनि चीनले भने इरानसँगको व्यापारिक सम्बन्ध खुला र प्रष्ट भएको भन्दै त्यसको प्रतिरक्षा गरेको रोयटर्सले जनाएको छ । इरानविरुद्ध एकतर्फी रूपमा लगाइएको प्रतिबन्ध र लामो समयसम्म हतियारको क्षेत्रमा लगाइएको क्षेत्राधिकारमा चीनको विदेश मन्त्रालयले शुक्रबार अबेर विज्ञप्ति जारी गर्दै असहमति जनाएको छ।

‘व्यापार, वाणिज्य र ऊर्जाको क्षेत्रमा चीन र इरानबीच लामो समयदेखि खुला, प्रष्ट र साधारण व्यापारिक समझदारी रहेको छ र यस्तो सम्बन्ध अर्थपूर्ण, निष्पक्ष र कानुसम्मत छ,’ चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्तिमा जनाइएको छ। ‘चीन र इरानबीचको व्यापारिक सम्बन्धले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्प तोड्दैन र चीनले गरेको अन्तर्राष्ट्रिय दायित्वको प्रतिबद्धतालाई पनि उल्लङ्घन गर्दैन। त्यसैगरी यसले कुनै पनि देशको राष्ट्रिय स्वार्थलाई समेत हानी गर्दैन। त्यसैले यसलाई सम्मान गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ। कसैलाई एकतर्फी रूपमा प्रतिबन्ध लगाएर र चेतावनी दिएर समस्या समाधान नहुने पनि चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

‘वार्ता र सम्झाता मात्रै विषयलाई सम्बोधन गर्ने सही मार्ग हो,’ चिनियाँ विदेश मन्त्रालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

इरानको प्रमुख तेल खरिदकर्ता चीनले प्रत्येक दिन लगभग छ लाख ५० हजार ब्यारेल कच्चा तेल तेहरानबाट खरिद गर्ने गरेको छ । चीनले आयात गर्ने तेलको मात्रामा इरानबाट ७ प्रतिशत रहेको रोयटर्सले जनाएको छ। अहिलेको बजार मूल्यअनुसार चीनले इरानसँग वार्षिक १५ विलियन अमेरिकी डलरबराबरको तेल खरिद गर्ने गरेको छ। चीनको राज्य सञ्चालित ऊर्जा कम्पनी सिएनपिसी र सिनोपेकले यादाभरन र उत्तरी अजादेगनजस्ता इरानी तेल उत्पादन क्षेत्रमा अर्बौं अमेरिकी डलर खर्च गरेको छ। यी उत्पादन क्षेत्रले चीनलाई तेल पठाउने गरेका छन्। सन् २०१५ मा आणविक कार्यक्रम त्याग्ने शर्तमा विश्वका छ शक्तिशाली राष्ट्र अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनी तथा इरानबीच भएको आणविक सम्झौतामा कायम राख्नका लागि युरोपेली राष्ट्रहरुले तेहरानलाई मनाइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओबामाले गरेको सो सम्झौता काम नलाग्ने भएको भन्दै यसै वर्ष सो सम्झौताबाट बाहिरिने निर्णय गरेपछि इरान र अमेरिकाबीचको सम्बन्धमा थप जटिलता उत्पन्न भएको छ। अमेरिकाले सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानविरुद्ध प्रतिबन्ध लगाएपछि युरोपेली राष्ट्रहरुले भने इरानलाई सम्झाइ रहेका छन्। अमेरिकी राष्ट्रपतिले चेतावनी दिए पनि इरानमा रहेका आफ्ना कम्पनीहरुलाई फिर्ता नल्याउने युरोपेली राष्ट्रहरुले इरानलाई विश्वस्त पारिरहेका छन् । युरोपेली राष्ट्रहरुले यस्तो बताए पनि अमेरिकी राष्ट्रपतिले दिएको चेतावनीलाई मध्येनजर गर्दै इरानमा रहेका युरोपेली कम्पनीहरुले धमाधम इरान छोडिरहेका छन्। उनीहरुले अमेरिकामा रहेका आफ्नो व्यापारलाई धरापमा पार्न नसक्ने बताउँदै तेहरान छोडेको बताइएको छ।

इरानविरुद्ध प्रतिबन्ध लगाउँदै तेहरानसँग व्यापारिक सम्बन्ध कायम राखेका कम्पनीलाई तत्काल फिर्ता हुन वा अमेरिकामा प्रतिबन्ध खेप्न अमेरिकी राष्ट्रपति ट्रम्ले चेतावनी दिएका थिए।

प्रकाशित: २७ श्रावण २०७५ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App