९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोन्सान्टोलाई २९ करोड डलर हर्जाना तिर्न आदेश

क्यालिफोर्निया (बिबिसी) – विश्वभर विवादित बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ।

एक व्यक्तिले ग्लाइफोसेट नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा मोन्सान्टोलाई दण्डात्मक हर्जना तिर्न आदेश दिइएको बिबिसीले उल्लेख गरेको छ।

एउटा ऐतिहासिक मुद्दामा क्यालिफोर्नियाका जुरीले मोन्सान्टो कम्पनीका राउन्ड अप र रेन्जरप्रोलगायतका झारनाशक विषादी खतरनाक रहेको र त्यसबारे उपभोक्तालाई सचेत गराउन उक्त कम्पनी विफल भएको जनाएको छ।

ग्लाइफोसेट नामक विषादीले क्यान्सर हुनसक्छ भन्ने खालको अदालतमा पुगेको यो पहिलो मुद्दा भएको बिबिसीले उल्लेख गरेको छ।

मोन्सान्टोले भने ग्लाइफोसेटले क्यान्सर हुनसक्छ भन्ने कुरा अस्वीकार गरेको छ र अहिलेको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। ‘जुरीले यसलाई गलत रूपमा लिएको छ,’ सान फ्रान्सिस्कोस्थित अदालतबाहिर उक्त कम्पनीका उपाध्यक्ष स्कट प्याट्रिजले बताए। यो मुद्दाका उजुरीकर्ता डिवेन जनसन मोन्सान्टोविरुद्ध मुद्दा हाल्ने अमेरिकाभरिका करिब ५ हजारमध्येका एक व्यक्ति भएको बिबिसीले जनाएको छ। क्यालिफोर्नियाले गरेको यो आदेशले मोन्सान्टोविरुद्धका अन्य सयौं उजुरीको प्रतिनिधित्व गर्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। सन् २०१४ मा जनसनलाई एक प्रकारको क्यान्सर लागेको देखिएको थियो।

जनसनले क्यालिफोर्नियाको बेनिसियास्थित विद्यालयमा काम गर्दा निरन्तर रूपमा रेन्जरप्रो नामक झारनाशक विषादी प्रयोग गर्ने गरेको उनका वकिलहरुले बताएका छन्। शुक्रबार न्यायाधीशहरुले मोन्सान्टो कम्पनीको झारनाशक विषादीले जनसनलाई रोगी बनाउन उल्लेख्य भूमिका खेलेको बताउँदै हर्जाना तिर्न आदेश दिएको बिबिसीले उल्लेख गरेको छ। ग्लाइफोसेटको प्रयोग लामो समयदेखि विवादमा पर्दै आएको छ। संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पनि यो विषादीले क्यान्सर लगाउनसक्ने जनाएको छ। तर अन्य केही वैज्ञानिकहरूले भने यो प्रयोग गर्न सुरक्षित नै हुने बताउँदै आएका छन्। आठ साता लामो सुनुवाइपछि न्यायाधीशहरूले कृषिसम्बन्धी बहुराष्ट्रिय कम्पनीलाई सबै गरेर करिब २९ करोड डलर दण्डात्मक हर्जाना तिराउने आदेश दिएको बिबिसीले उल्लेख गरेको छ। क्यालिफोर्नियाको अदालत पछि मोन्सान्टोले एउटा विज्ञप्ति जारी गर्दै जनसन र उनको परिवारप्रति आफ्नो सहानुभूति रहे पनि आफ्नो उत्पादनको बचाउमा जोडदार रूपमा लाग्ने जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७५ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App