२० पुस २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको केरलामा बाढी, २२ को मृत्यु

नयाँ दिल्ली – भारतको केरला राज्यमा बुधबारदेखि आएको भीषण वर्षाका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ।

अत्यधिक वर्षापछि आएको बाढी तथा पहिरोले अरु कैयौं बेपत्ता भएको पनि समाचाहरुमा जनाइएको छ। स्थानीय अधिकारीहरुले बाढीका कारण के कति हताहत भए भन्ने पूर्ण जानकारी नआइसकेको बताएका छन्।

बाढीका कारण मृत्यु हुनेहरु इडुक्की, मालापुराम, कोझीकोडे र इर्नाकुलाम जिल्लाका बासिन्दा भएको समाचारमा जनाइएको छ।

केरला राज्यका मुख्यमन्त्री पिनारायी विजयनले स्थानीय नदीमा पानीको सतह बढेपछि बाँधमा पानीको मात्रा बढ्दा २६ वर्ष यता पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका ढोकाहरू खोलेर पानीको निकास गरिएको बताए। बाढीले थप क्षति नपु¥याओस् भनेर चेरुथोनी बाँधका ढोकाहरू खोल्नुपरेको मन्त्री विजयनले बताएका छन्।

प्राप्त पछिल्लो विवरणअनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भएपछि मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो। बाढीका कारण इडुक्कीमा ११, मालापुराममा छ, कोझीकोडेमा दुई र वायानाडमा एक जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीले जनाएका समाचारमा उल्लेख छ । ‘तल्लो भूभागमा रहेको अधिकांश ठाउँमा बाढी पसेको छ, पालाक्काड, वायालाड र कोझिकोडे जिल्लामा केही व्यीक्त बेपत्ता भएको खबर आएका छन्,’ ती अधिकारीले भने।

बाढीका कारण हवाइ यातायात अवरुद्ध भएको थियो भने मौसम पनि अत्यन्तै खराब भएको थियो । सो अवस्थामा केही सुधार भएको अधिकारीहरुले बताएका छन्। ‘अवरुद्ध हवाइ सेवाहरू पुनः सुचारु भएका छन् भने मौसममा सुधार देखिएको,’ केरला राज्यमा रहेको विमानस्थलका एक अधिकारीले बताए।

बाढीका कारण स्थानीयको जनजीवन प्रभावित भएको थियो भने विद्यालय र कलेजहरू बन्द गरिएका थिए।

प्रकाशित: २५ श्रावण २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App