२३ पुस २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालीकाे प्रधानमन्त्रीमा कोट्टारेल्ली नियुक्त

राष्ट्रपति सर्जियो माट्टारेल्लासँग सोमबार बिहान भेटवार्ता गर्दै नवनियुक्त प्रधानमन्त्री कार्लो कोट्टारेल्ली । तस्बिर : एजेन्सी

रोम– अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वअधिकारी कार्लो कोट्टारेल्लीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्दै इटालीका राष्ट्रपति सर्जियो माट्टारेल्लाले सोमबार देशलाई नयाँ निर्वाचनतर्फ धकेलेका छन् ।राष्ट्रपति माट्टारेल्लाले कोट्टारेल्लीलाई यथासक्य चाँडो निर्वाचन गर्न र आगामी वर्षको बजेट पास गर्ने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

कार्लो कोट्टारेल्लीलाई नियुक्त गर्नुको पछाडी युरोपेली संघ तथा विश्वव्यापी आर्थिक बजारको सम्भावनाका रूपमा लिइएको ‘युरो जोन’मा इटालीको भूमिकासँग जुध्नका लागि गरिने निर्वाचन तयारीका लागि कामचलाउ प्रशासन गठन गर्न रहेको बताइएको छ । मार्च महिनामा भएको निर्वाचन अनिर्णायक भएपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको युरो जोनले नयाँ सरकार खोजिरहेको छ ।

संस्थापन विरोधी समूहले सत्तारुढ गठबन्धन बनाउन गरिरहेको प्रयास आइतबार राष्ट्रपतिसँग आमनेसामने भएपछि छोडेका थिए । त्यसपछि राष्ट्रपतिको पछिल्लो निर्णय आएको रोयटर्सले जनाएको छ ।‘फाइभ स्टार मुभमेन्ट’ र अति दक्षिणपन्थी लिग पार्टीले राष्ट्रपतिको निर्णयलाई मतदातासँग धोका भएको आरोप लगाएका छन् ।

इटालीमा यसै वर्षको अगस्ट वा अर्को वर्षको सुरुसम्ममा निर्वाचनहरु भइसक्ने अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कोट्टारेल्लीले बताए । उनले इटालीका लगानीकर्तालाई समेत आश्वस्त पार्ने प्रयास गरेको रोयटर्सले जनाएको छ । ‘अर्थविद्का रूपमा बोल्नु पर्दा केही दिनदेखि आर्थिक बजारमा रहेको तनाब बढिरहेको छ,’ यसअघिको सरकारमा मूल्य कटौती जारका रूपमा काम गरेको कोट्टारेल्लीलाई उद्धृत गर्दैै रोयटर्सले जनाएको छ ।
‘आर्थिक बजारमा तनाब बढिरहेको भए पनि इटालीको अर्थतन्त्र अझै बढिरहेको छ र सार्वजनिक खाता नियन्त्रणमा छ । मेरो नेतृत्वको सरकारमा सार्वजनिक खाताको दूरदर्शी व्यवस्थापन हुने कुरामा विश्वस्त पार्न चाहन्छु,’ उनले बताए ।

नयाँ निर्वाचन युरोपेली संघमा इटालीको सदस्यताबारे जनमत संग्रह हुने आशंका व्यक्त गर्दै लगानीकर्ताहरुमा भय सिर्जना भएको बताइएको छ । पछिल्लो छ महिनाभित्र युरोको दरमा कमी आएको छ जसका कारण इटालीको बोन्ड बजार उकालो लागेको छ ।

राष्ट्रपतिको पछिल्लो कदमलाई लिएर इटलाीका राजनीतिज्ञहरुले अभियानको थालनी गरिसकेका छन् । ‘फाइभ स्टार’ स्रोतका अनुसार उनीहरु लिगसँग चुनावी गठबन्धन बनाउन खोजिरहेका छन् । मार्च महिनाभर फाइभ स्टारले आफ्नो बेग्लै अभियान सञ्चालन गरेको थियो भने लिगले अति दक्षिणपन्थी गठबन्धनका रूपमा अभियान सञ्चालन गरेको थियो । इटालीको संसद्मा फाइभ स्टार र लिगको सामूहिक बहुमत भएपनि र कोट्टारेल्लीले विश्वासको मत प्राप्त गर्न नसके पनि अर्को निर्वाचन नभएसम्मका लागि कोट्टारेल्लीले कामचलाउ सरकारका रूपमा इटालीको सत्ता सञ्चालन गर्ने छन् । कोट्टारेल्लीलाई यसै वर्षको अन्त्यसम्ममा सन् २०१९ को बजेट पारित गर्ने जिम्मेवारी तोकिएको छ जुन संसद्मा विश्वासको मतबिना असम्भव रहेको छ । यस्तो अवस्थामा यसै वर्षको सेप्टेम्बरभित्रै निर्वाचन भइसक्ने छ ।

अर्थविद्ले इटालीलाई युरो जोनबाट फिर्ता ल्याउने चेतावनी दिएका कारण आफूले गठबन्धनका ८१ वर्षीय नेता पाओलो साभोनालाई प्रधानमन्त्रीका रूपमा अस्वीकार गरेको आइतबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति सर्जियो माट्टारेल्लाले बताए ।गठबन्धनका आफ्ना उम्मेद्वारलाई अस्वीकार गर्ने राष्ट्रपतिको निर्णय शक्तिको दुरुपयोग भएको लिग र फाइभ स्टार गठबन्धनले आरोप लगाएको रोयटर्सले जनाएको छ ।


 

प्रकाशित: १५ जेष्ठ २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App