पाकिस्तानपछि इजरायलले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेको छ। यसअघि पाकिस्तानले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेको थियो। त्यसपछि ट्रम्पले इरानमाथि आक्रमण गरेपछि सो मनोनयन विवादमा परेको थियो।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरेका हुन्।वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँगको भेटमा इजरायली प्रधानमन्त्री नेतन्याहुले नोबेल शान्ति पुरस्कारको लागि राष्ट्रपति ट्रम्पलाई मनोनयन गरेको बताए।
‘हामी बोल्दै गर्दा, उनले एकपछि अर्को देशमा, एकपछि अर्को क्षेत्रमा शान्ति निर्माण गरिरहेका छन्,’ नेतन्याहुले बैठकमा पुरस्कार समितिलाई सम्बोधन गरिएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै भने।
यसअघि राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई स्वागत गर्दै गाजामा युद्ध अन्त्य गर्न ‘धेरै राम्रो वार्ता भइरहेको’ विश्वास व्यक्त गरेका थिए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले २१ महिने लामो द्वन्द्व अन्त्य गर्न हमास तयार रहेको बताए। ‘उनीहरू भेट्न चाहन्छन् र युद्धविराम चाहन्छन्,’ उनले भने।
कतारमा इजरायल र हमासबिच भएको अप्रत्यक्ष युद्धविराम सम्बन्धी वार्ता अनिर्णीत रहेपछि यो बैठक भएको हो। यद्यपि यी वार्ताहरू यो हप्ता पनि जारी रहने अपेक्षा गरिएको छ। सोमबार जब ट्रम्पलाई एक पत्रकारले गाजामा शान्ति सम्झौताको कारण के हो भनेर सोधे, जवाफमा उनले भने, ‘मलाई लाग्छ यसमा कुनै बाधा छैन, सबै कुरा धेरै राम्रो भइरहेको छ।’ नेतन्याहुले ‘प्यालेस्टिनीहरूको लागि राम्रो भविष्य प्रदान गर्ने’ देशहरू खोज्न अमेरिकासँग काम गरिरहेको बताएका थिए। एजेन्सी
प्रकाशित: २४ असार २०८२ १३:३८ मंगलबार





