गत शनिबार भारत, महाराष्ट्र मुम्बईको वर्ली डोममा आयोजित आवाज मराठि सभाले प्रदेशको राजनीतिक र सांस्कृतिक परिदृश्यमा ऐतिहासिक मोड ल्यायो। शिवसेनाको विरासतको लडाइमा दुई दशक शत्रु बनेका दाजुभाइ उद्धव ठाकरे (शिवसेना–उद्धव बालासाहेब ठाकरे) र राज ठाकरे (महाराष्ट्र नवनिर्माण सेना–एमएनएस) मराठी भाषा जोगाउने साझा लक्ष्यका साथ एक मञ्चमा उभिए। यो पुनर्मिलन व्यक्तिगत मेलमिलाप मात्र नभएर मराठी भाषाको रक्षा र आगामी बृहन्मुम्बई महानगरपालिका (बीएमसी) निर्वाचनलाई प्रभाव पार्ने रणनीतिक कदम पनि मानिएको छ।
विरासतको लडाइ
महाराष्ट्र सरकारको तीन–भाषा नीति, जसलाई भारतीय जनता पार्टी (भाजपा) को हिन्दीप्रतिको मोहको प्रतिक मानियो। त्यसको विरोधमा ठाकरेका कार्यकर्ताहरूले आन्दोलन र तोडफोडसम्म गरे। यो भाषा विवाद भारतका अन्य राज्यहरूमा पनि देखिएको छ, जहाँ क्षेत्रीय भाषाहरूमाथि हिन्दी थोपरिएको भन्दै विरोध भइरहेको छ। दक्षिण भारतका राज्यहरूमा पनि चर्को विरोध भइरहेको छ। महाराष्ट्र सरकारले जुन २९, २०२५ मा तीन–भाषा नीति फिर्ता लिएपछि ठाकरे दाजुभाइको त्यो सभा विजय उत्सव बन्यो। सभामा उद्धव र राजले आफूलाई ‘गुण्डा’ भन्दै मराठी भाषाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए।
उद्धव र राज शिवसेनाका संस्थापक बालासाहेब ठाकरेका छोरा र भतिजा, अर्थात् दाजुभाइ हुन्। उनीहरू शिवसेनाको गौरवशाली इतिहासका हिस्सा हुन्। सन् १९६६ मा स्थापित शिवसेनाले हिन्दुत्व, अतिराष्ट्रवाद र दक्षिणपन्थी विचार बोक्ने गरेको छ। साथै, मराठी समुदायको हित, भाषा, र संस्कृतिको संरक्षणलाई आफ्नो मूल नारा बनाएको थियो। बालासाहेबको नेतृत्वमा शिवसेनाले मुम्बई र महाराष्ट्रमा मराठी भाषी समुदायको बलियो समर्थन जुटायो। शिवसेनाले मराठी कामदारहरूको रोजगारी, स्थानीय संस्कृति, र क्षेत्रीय गौरवलाई जोड दिंदै महाराष्ट्रको राजनीतिमा शक्तिशाली स्थान बनायो।
सन् १९८० र १९९० को दशकमा भाजपासँगको साझेदारीले शिवसेना थप बलियो भयो। उद्धव र राज दुवैले युवावस्थामा शिवसेनाको युवा शाखामा सक्रिय भूमिका खेले। उद्धव शान्त र रणनीतिक स्वभावका थिए, भने राज आफ्नो जोशपूर्ण भाषण र आक्रामक शैलीका लागि परिचित थिए। तर शिवसेनाको नेतृत्व र बालासाहेबको विरासतको लडाइले यी दाजुभाइहरूलाई शत्रु बनायो, जसले ठाकरे परिवार र शिवसेनालाई विभाजनको बाटोमा पुर्यायो।
सन् २००३ मा उद्धवलाई शिवसेनाको कार्यकारी अध्यक्ष बनाइयो, जसले राजको महत्वाकांक्षामाथि ठूलो आघात पुर्यायो। राजले आफूलाई बालासाहेबको सच्चा उत्तराधिकारी ठान्थे। किनभने उनको वक्तृत्व र जनसम्पर्कले कार्यकर्ताहरूमा उनलाई लोकप्रिय बनाएको थियो। तर बालासाहेबको उद्धवप्रतिको झुकावले राजलाई अपमानित र पछाडि पारिएको अनुभव भयो। सन् २००५ मा आन्तरिक विवाद, विरासतको लडाइ, र व्यक्तिगत शत्रुताले राजले शिवसेना छोड्ने निर्णय गरे। सन् २००६ मा उनले महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) गठन गरे, जसले मराठी भाषा र संस्कृतिलाई केन्द्रमा राखेर शिवसेनासँग मैदानमा उत्रियो।
यो बिछोडले दाजुभाइहरूलाई शत्रु बनायो, महाराष्ट्रको राजनीतिलाई दुई खेमामा बाँड्यो। एमएनएसले सुरुमा मुम्बई र ठाणे जस्ता सहरहरूमा युवाको समर्थन पायो। विशेषगरी सन् २००९ को विधानसभा निर्वाचनमा प्रभाव देखिएको थियो। तर त्यसयता एमएनएसको प्रभाव क्रमश: घट्यो। उद्धवको शिवसेनाले सन् २०१९ मा भाजपासँग गठबन्धन तोडेर कांग्रेस र राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) सँग महाविकास अघाडी बनायो। उद्धव मुख्यमन्त्री पनि बने। तर सन् २०२२ मा एकनाथ शिन्देको विद्रोहले शिवसेनालाई फेरि टुक्रायो, जसकारण उद्धवको पद मात्रै गएन, पार्टी पनि कमजोर भयो।
भाजपाको हिन्दी भाषाप्रतिको मोह
सन् २०१२ मा निधन भएका बालासाहेबले समेत एकसाथ ल्याउन नसकेका यी दाजुभाइहरूको पुनर्मिलनको पछाडि महाराष्ट्र सरकारको तीन–भाषा नीति नै कारण मानिएको छ। भाजपाको हिन्दी भाषाप्रतिको मोहले उनीहरू एकसाथ आए। महाराष्ट्र सरकारले राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० अन्तर्गत स्कूलहरूमा मराठी, अंग्रेजी, र हिन्दीलाई अनिवार्य विषय बनाउने प्रस्ताव गरेपछि मराठी समुदायमा ठूलो आक्रोश देखियो।
उद्धव र राजले यो नीतिलाई भाजपाको हिन्दी लाद्ने रणनीतिको हिस्सा भने। उद्धव पहिलेदेखि नै भाजपाको विरोधी कांग्रेससँग उभिएका थिए। भाजपाले मराठी भाषालाई पछाडि धकेल्ने प्रयास गरेको आरोप उनीहरूको छ। यो विवाद भारतका अन्य राज्यहरूमा पनि देखिएको छ। तमिलनाडुमा, तमिल भाषी समुदायले हिन्दी अनिवार्यताको विरोधमा दशकौंदेखि आन्दोलन गर्दै आएका छन्। कर्नाटकमा, कन्नड भाषाको प्राथमिकताको माग गर्दै ‘कन्नडिगा’ आन्दोलनहरूले हिन्दी साइनबोर्डहरू हटाए।
पश्चिम बंगाल र केरलमा पनि बंगाली र मलयालम भाषी समुदायले हिन्दीप्रतिको भाजपाको नीतिलाई क्षेत्रीय पहिचानमाथिको खतरा मानेका छन्। महाराष्ट्रमा उद्धवले भाजपाको हिन्दी मोहलाई ‘मराठी भाषामाथिको आक्रमण’ भने भने राजले हिन्दी अनिवार्यताले मराठीको सम्मानलाई कमजोर बनाएको बताए। शिवसेना (यूबीटी) र एमएनएसका कार्यकर्ताहरूले मुम्बई, ठाणे, पुणे, र नासिकमा सडक प्रदर्शन गरे। केही स्थानमा आन्दोलन उग्र बन्यो, जहाँ कार्यकर्ताहरूले सरकारी कार्यालय, सार्वजनिक सवारी, र हिन्दी भाषी व्यापारिक पसलहरूमा तोडफोड गरे। कार्यकर्ताहरूलाई ‘गुण्डागर्दी’ गरेको आरोप लाग्यो। ती आन्दोलनले मराठी–गैर–मराठी समुदायबीच तनाव बढ्यो। तीव्र जनदबाब र आन्दोलनपछि सरकारले जुन २९, २०२५ मा नीति फिर्ता लियो।
वर्ली डोममा भएको आवाज मराठि सभामा हजारौं मराठी समर्थकहरू जम्मा भए। सभाको माहोल उत्साहपूर्ण थियो, जहाँ यी दाजुभाइहरूले भाजपाको हिन्दी मोह र महायुति गठबन्धनको नीतिहरूको विरोधमा शक्तिशाली भाषण गरे। राजले मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई व्यंग्य गर्दै भने, ‘फडणवीसले बालासाहेबले पनि गर्न नसकेको काम गरे–हामी दाजुभाइहरूलाई एकजुट बनाए।’ उनले कार्यकर्ताहरूको आन्दोलनको बचाउ गर्दै थपे, ‘हामीलाई गुण्डा भन्छन्, ठीक छ, मराठी भाषाको रक्षाको लागि हामी गुण्डा बन्न तयार छौं।’
उद्धवले पनि त्यो कुरालाई समर्थन गर्दै भने, ‘मराठी भाषा र गौरव जोगाउन हामी जे पनि गर्नेछौं, चाहे त्यसलाई गुण्डागर्दी नै किन नभनियोस्।’ यी बयानहरूले कार्यकर्ताहरूको तोडफोड र आन्दोलनलाई औचित्य पुष्टि गर्न खोजेको देखिन्छ। उद्धवले यो पुनर्मिलन स्थायी हुने दाबी गरेर भने, ‘हामी दाजुभाइहरू एकसाथ आएका छौं, अब सधैं सँगै रहनेछौं।’ भेलामा मराठी साहित्यकार, विद्वान, र अन्य क्षेत्रीय नेताहरूको उपस्थिति थियो। सामाजिक सञ्जालमा सभाको व्यापक चर्चा भइरहेको छ। दाजुभाइ एकसाथ आउँदा भाजपामाथि ठूलो प्रभाव पर्ने अपेक्षा गरिएको छ।
बीएमसी निर्वाचन
यी दाजुभाइहरूको पुनर्मिलनको समय आगामी बीएमसी निर्वाचनसँग जोडिएको छ। बीएमसी एसियाकै धनी नगरपालिकामध्ये एक मराठी मतदाताहरूको प्रभावशाली क्षेत्र हो। उद्धवको शिवसेना (यूबीटी) सन् २०२२ को विभाजनपछि कमजोर भएको छ। उता, राजको एमएनएसले पनि सन् २००९ पछिका निर्वाचनहरूमा खासै प्रभाव पार्न सकेको छैन। भाजपाको हिन्दी मोहविरुद्धको यो पुनर्मिलनले मराठी मतदाताहरूलाई एकजुट गरेर महायुति गठबन्धनलाई चुनौती दिने रणनीति देखिन्छ। कार्यकर्ताहरूको आन्दोलन र ‘गुण्डा’ बयानले मराठी समुदायमा उत्साह जगाएको छ।
तर गैर–मराठी मतदाताहरूलाई टाढा धकेल्न सक्ने देखिएको छ। जानकारहरूले सिट बाँडफाँड वा साझा उम्मेदवारीको सम्भावना औंल्याएका छन्। तर पूर्ण पार्टी एकीकरण असम्भवजस्तै छ। दाजुभाइहरूको संयुक्त शक्तिले मुम्बईको मराठी मतदाताहरूलाई पुनर्जागृत गर्न सक्ने देखिन्छ। तर ग्रामीण क्षेत्रमा यसको प्रभाव सीमित रहन सक्छ। आवाज मराठि सभाले मराठी भाषा र संस्कृतिको संरक्षणलाई मुख्य मुद्दा बनायो। उद्धवले भाजपाको ‘एक राष्ट्र, एक निर्वाचन’ र हिन्दी लाद्ने नीतिहरूलाई मराठी भाषामाथिको चुनौतीको रूपमा चित्रण गरे। राजले मराठी शिक्षाको प्राथमिकता र आधुनिक शिक्षाको सन्तुलनको पक्षमा बोल्दै भने, ‘अंग्रेजी शिक्षाले मराठी भाषा कमजोर पार्दैन, तर हिन्दी थोपरिनु स्वीकार्य छैन।’
यी दाजुभाइहरूको पुनर्मिलनको भविष्य अनिश्चित छ। विगतमा मेलमिलापका प्रयासहरू असफल भएका छन्। सन् २०२४ को लोकसभा निर्वाचनमा राजको भाजपासँगको निकटताले उद्धवलाई आशंकित बनाएको छ। केही विश्लेषकहरूले यो पुनर्मिलनलाई दाजुभाइहरूको ‘राजनीतिक अस्तित्वको संघर्ष’ मानेका छन्। भाजपाले यो एकतालाई ‘स्वार्थी उद्देश्य’ ले भरिएको भनेको छ। कतिपयले भाजपाको हिन्दी मोहविरुद्धको यो एकतालाई मराठी भाषाको विजय मानेका छन्। कतिपयले तोडफोड र ‘गुण्डा’ बयानको आलोचना गरेका छन्। विश्वासको कमी र विगतको शत्रुताले यो साझेदारीलाई अस्थिर बनाउन सक्ने देखिन्छ।
उद्धव र राज, यी दाजुभाइहरूको पुनर्मिलनले महाराष्ट्रको राजनीति र मराठी भाषालाई नयाँ दिशा दिने सम्भावना बोकेको छ। विरासतको लडाइमा दुई दशक शत्रु बनेका यी दाजुभाइहरूलाई मराठी भाषाले एकजुट गरायो। तीन–भाषा नीति विवाद, कार्यकर्ताहरूको आन्दोलन, र ‘गुण्डा’ बयानले यो एकतालाई मराठी समुदायमा शक्तिशाली बनाएको छ। यो साझेदारीले बीएमसी निर्वाचनमा मराठी मतदाताहरूलाई एकजुट गर्न सक्ने आंकलन भइरहेको छ।
तर आक्रामक रणनीति र विगतको शत्रुताले चुनौती सिर्जना हुन सक्ने कुरामा शंका छैन। महाराष्ट्र कांग्रेस नेतृत्वको बैठकले आगामी मुम्बई नागरिक निकायको चुनाव पार्टीले एक्लै लड्न जोड दिने निर्णय गरेको छ। चुनाव यस वर्षको अन्त्यतिर वा २०२६ को सुरुमा हुने जनाइएको छ। मराठी भाषाको यो पुनर्जननले महाराष्ट्र र भारतको भविष्यलाई कसरी आकार दिन्छ, त्यो समयले बताउनेछ। एजेन्सीको सहयोगमा
प्रकाशित: २४ असार २०८२ ०९:०५ मंगलबार





