अमेरिकी डोनाल्ड ट्रम्पले बिहीबार हमासबाट २४ घण्टाभित्र जवाफ आउने अपेक्षा व्यक्त गरेपछि गाजामा ६० दिने युद्धविरामको सम्भावना बढेको छ। हमासले गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिएको बताएको छ।
हमासले एक विज्ञप्तिमा तत्काल वार्ताका लागि तयार रहेको जनाएको छ। वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले प्रस्तावको रूपरेखा स्वीकार गरेको छ। तर अमेरिकी प्रस्तावमा संशोधनको माग गरेको छ। यद्यपि अमेरिका र इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
एक पत्रकारले हमासले युद्धविराम र बन्धक सम्झौतामा सहमति जनाएको छ कि छैन भनेर सोध्दा ट्रम्पले भने, ‘हामी हेर्नेछौं के हुन्छ, हामी अर्को २४ घण्टामा थाहा पाउनेछौं।’ कतारले यस हप्ताको सुरुमा इजरायल र हमासलाई नयाँ प्रस्ताव पेश गरेको थियो, जसलाई इजरायलले मंगलबार स्वीकार गरेको छ।
हमासले अन्य प्यालेस्टिनी समूहसँग सल्लाह गरेपछि आफ्नो निर्णय घोषणा गर्ने जनाए पनि समयसीमा खुलाएको छैन।
ट्रम्पले युद्धविरामका लागि जोड दिएका छन्। मंगलबार उनले इजरायलले ६० दिने शान्तिका लागि सम्झौताका ‘आवश्यक सर्तहरूमा सहमति’ जनाएको भनेका थिए। ट्रम्पले हमासलाई यो प्रस्ताव स्वीकार गर्न आग्रह गरेका छन्। उनले ट्रुथ सोशलमा भने, ‘मलाई आशा छ, मध्य पूर्वको हितमा हमासले यो सम्झौता स्वीकार गर्नेछ, किनकि यो राम्रो हुनेछैन - यो केवल खराब हुँदै जानेछ,’ साथै कतार र इजिप्टको भूमिकाप्रति कृतज्ञता व्यक्त गरे।
यो प्रस्ताव अघिल्ला योजनाहरूभन्दा खासै फरक छैन। रिहा गरिने बन्धकहरूको संख्या र अस्थायी युद्धविरामको अवधि उस्तै छ। तर यसले हमासका दुई प्रमुख मागलाई सम्बोधन गर्छ: बन्धक रिहाइको समयसीमा र युद्धविराम ६० दिनभन्दा लामो हुने ग्यारेन्टी, जुन ट्रम्पले प्रत्यक्ष रूपमा दिएका छन्।
वार्तासँग परिचित स्रोतका अनुसार योजनामा १० जीवित र १८ मृत बन्धकलाई रिहा गर्ने उल्लेख छ। पहिलो दिन हमासले आठ जीवित बन्धक रिहा गर्नेछ। बदलामा इजरायलले केही प्यालेस्टिनी कैदी र बन्दी रिहा गर्नेछ र उत्तरी गाजाबाट सेना फिर्ता लिनेछ। सातौं दिनमा धेरै मृत बन्धक रिहा भएपछि दक्षिणी गाजाका केही क्षेत्रबाट फिर्ता हुनेछ।
युद्धविराम लागू भएपछि इजरायल र हमासले स्थायी शान्तिका लागि तत्काल वार्ता गर्नेछन्। गाजामा ५० बन्धक बाँकी छन्, जसमध्ये कम्तिमा २० जीवित रहेको अनुमान छ। पचासौं दिनमा बाँकी दुई जीवित बन्धक रिहा हुनेछन्। पाँच मृत बन्धक सातौं र तीसौं दिनमा र बाँकी आठ अन्तिम दिनमा रिहा हुनेछन्।
सम्झौताअनुसार इजरायलको अनुरोधमा बन्धकहरू बिना समारोह रिहा हुनेछन्, विगतमा हमासले गरेको प्रचारजस्तो हुने छैन। अघिल्लो युद्धविरामजस्तै, संयुक्त राष्ट्रसंघ र अन्य संस्थाहरूबाट मानवीय सहायता तुरुन्त गाजामा प्रवाह हुनेछ।
बिहीबार इजरायली-अमेरिकी बन्धक एडान अलेक्ज्याण्डरले वाशिंगटनमा ट्रम्पलाई भेटेर भनेका थिए, ‘मलाई डर छ कि निरन्तर लडाइँले बन्धकहरूलाई खतरामा पार्छ र आशा छ कि तपाईंले अर्को ऐतिहासिक सफलता हासिल गर्न सक्नुहुन्छ-ती सबैलाई मुक्त गर्ने एक व्यापक सम्झौता, सबै ५० बन्धकहरूलाई। तपाईं त्यो व्यक्ति हुनुहुन्छ जसले यो सम्भव बनाउन सक्नुहुन्छ।’ एजेन्सी
प्रकाशित: २१ असार २०८२ १२:२४ शनिबार