इटालीको राजधानी रोमको प्रेन्सटिनो क्षेत्रमा रहेको पेट्रोल पम्पमा शुक्रबार बिहान भएको शक्तिशाली विस्फोटमा ४५ जना घाइते भएका छन्।
रोमका मेयर रोबर्टो ग्वाल्टिएरीले घटनास्थलको निरीक्षण गर्दै १२ जना प्रहरी र ६ जना अग्निनियन्त्रकसहित ४५ जना घाइते भएको बताए। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई अस्पतालमा भेन्टिलेटरमा राखिएको छ।
ग्वाल्टिएरीका अनुसार स्थानीय समयअनुसार बिहान ८:०० बजे ग्यास चुहावटको सूचना पाएपछि आपतकालीन टोली घटनास्थलमा पुगेको थियो। इन्धन भर्ने क्रममा ट्रकले पाइपमा ठक्कर दिएपछि ग्यास चुहिएको र त्यसले आगलागी हुँदा दुई ठूला विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विस्फोटको आवाज शहरभर सुनिएको र नजिकैका भवनका झ्याल हल्लिएको स्थानीयले बताए।
विस्फोटले नजिकैको खेलकुद केन्द्र र न्यायिक भवनमा ठूलो क्षति भएको छ। खेलकुद केन्द्रमा ग्रीष्मकालीन शिविरका लागि ६० जना बालबालिका र स्विमिङ पुलका लागि १२० जना बुक गरिएका थिए। प्रहरीले तत्कालै क्षेत्र खाली गराएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको केन्द्रका प्रमुख फाबियो बाल्जानीले बताए। उनले भने, ‘यदि विस्फोट ४५ मिनेटपछि भएको भए, यो नरसंहार र विपत्तिको कारण बन्थे।’
‘विस्फोट निकै शक्तिशाली थियो। मैले आफ्नो छाला जलिरहेको महसुस गरें,’ खेलकुद केन्द्रमा कार्यरत २३ वर्षीय मिचेल सेकुले एएफपीसँग भने। सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा आकाशमा ठूलो आगोको गोला र कालो धुवाँको मुस्लो फैलिएको देखिन्छ।
अग्निनियन्त्रकका १० टोलीले पेट्रोल, डिजेल र तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) उपलब्ध हुने उक्त पम्पमा आगो नियन्त्रण गर्न काम गरिरहेका छन्। विस्फोटले नजिकैका भवन र सवारीसाधनमा ठूलो क्षति पुगेको छ, जसमा एउटा एम्बुलेन्स पनि जलेर नष्ट भएको छ।
प्रधानमन्त्री जर्जिया मेलोनीले घटनालाई नजिकबाट नियालिरहेको र मेयर ग्वाल्टिएरीसँग सम्पर्कमा रहेको बताएकी छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखिन्, ‘म घाइते सबैप्रति समवेदना व्यक्त गर्छु र उद्धार कार्यमा संलग्न प्रहरी, अग्निनियन्त्रक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिन्छु।’
पोप लियो चौधौंले पनि सामाजिक सञ्जालमा लेख्दै घटनाप्रति दुख व्यक्त गरे र घाइतेका लागि प्रार्थना गरेको बताए। रोम प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ, जसमा ग्यास चुहावटको सम्भावना मुख्य कारण मानिएको छ। एजेन्सी
प्रकाशित: २१ असार २०८२ ०६:३९ शनिबार