अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्चसँग सम्बन्धित ‘बिग ब्युटिफुल बिल’ पारित गरेको छ। यसलाई अमेरिकी राष्ट्रिय राजनीतिमा ट्रम्पको विजयको रूपमा हेरिएको छ।
बिहीबार दिउसो प्रतिनिधि सभाले २१४ देखि २१८ मतले विधेयक पारित गरेको हो। यसअघि मंगलबार सिनेटमा पनि यसलाई ५१-५० को झिनो मतले अनुमोदन गरिएको थियो, जसमा उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिएका थिए।
राष्ट्रपति ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई विधेयकमा हस्ताक्षर गर्न जुलाई ४ सम्मको समयसीमा दिएका थिए।
कंग्रेसनल बजेट अफिसले अनुमान गरे अनुसार विधेयकले आगामी १० वर्षमा संघीय घाटा ३.३ खर्ब डलरले बढाउन सक्छ। साथै, मेडिकेड र खाद्य सहायता जस्ता सामाजिक कार्यक्रमहरूमा कटौतीका कारण लाखौं मानिसहरू स्वास्थ्य बीमाबाट वञ्चित हुन सक्ने अनुमान गरिएको छ, यद्यपि ह्वाइट हाउसले यो दाबीलाई अस्वीकार गरेको छ।
विधेयक पारित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साँझ पत्रकारहरूसँग भनेका थिए, ‘यसले देशलाई तीव्र गतिमा अगाडि बढाउनेछ।’ उनले थप भने, ‘यो देशको लागि एउटा ठूलो विधेयक हुनेछ।’
यो विधेयकमा २०१७ को कर कटौतीलाई स्थायी बनाउने, टिप्स र ओभरटाइममा कर छूट, रक्षा र सीमा सुरक्षामा खर्च वृद्धि, साथै हरित ऊर्जा कर क्रेडिट र सामाजिक कल्याण कार्यक्रमहरूमा कटौती जस्ता प्रावधानहरू समावेश छन्। यद्यपि, यसले राष्ट्रिय ऋणमा वृद्धि र स्वास्थ्य सेवामा प्रभावको चिन्ता पनि निम्त्याएको छ। एजेन्सी
प्रकाशित: २० असार २०८२ १२:०९ शुक्रबार