८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्धमा नयाँ मोड : अमेरिकाले हतियार आपूर्ति बन्द गर्‍यो

युक्रेन र रुसबिच चलिरहेको भीषण युद्धको बिचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले यो कदम 'अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्न' उठाइएको बताइन्। उनले थपिन्, 'हाम्रो सैन्य भण्डारको अवस्था र विश्वभरका अन्य प्राथमिकताहरूलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो।'

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई हतियार आपूर्तिमा रोक लगाउनुको कारण अमेरिकी सैन्य भण्डारको कमी र मध्य पूर्व लगायत अन्य क्षेत्रमा बढ्दो आवश्यकता भएको जनाएको छ। रक्षा सचिव पीट हेगसेथले जुन २०२५ को सुरुमा अमेरिकी भण्डारको समीक्षा गर्न आदेश दिएका थिए, जसले युक्रेनलाई पठाइने हतियारहरूमा कमी आएको संकेत गरेको छ।

फेब्रुअरी २०२२ मा रुसको पूर्ण आक्रमणपछि अमेरिकाले युक्रेनलाई करिब ६७ अर्ब डलरको सैन्य सहायता प्रदान गरेको छ, जसमा प्याट्रियट हवाई रक्षा प्रणाली, १५५ एमएम तोपखाना गोला, र हेलफायर एन्टी-ट्यांक मिसाइलहरू समावेश छन्। तर ट्रम्प प्रशासनका केही अधिकारीहरूले अमेरिकी भण्डार धेरै कम भएकोमा चिन्ता व्यक्त गरेका छन्। विशेषगरी इरान र यमनमा हुथी विद्रोहीविरुद्धको सैन्य कारबाहीले भण्डारमा दबाब परेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रोकिएका हतियारहरूमा प्याट्रियट पीएसी-३ इन्टरसेप्टरहरू, १५५ एमएम तोपखाना गोला, जीएमएलआरएस  रकेटहरू, स्टिङ्गर मिसाइलहरू, र हेलफायर एन्टी-ट्यांक मिसाइलहरू समावेश छन्। यी हतियारहरू बाइडेन प्रशासनले स्वीकृत गरेको थियो। तर ट्रम्प प्रशासनले जुन २०२५ मा यी ढुवानीहरू स्थगित गर्ने निर्णय गरेको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो रोकले तत्कालै ठूलो प्रभाव नपार्ने बताएका छन्। किनभने युक्रेनसँग केही हदसम्म हतियार भण्डार र स्वदेशी ड्रोन उत्पादन क्षमता छ। तर उनले अमेरिकी सहायता, विशेषगरी हवाई रक्षा प्रणाली र सटीक हतियारहरू, युक्रेनको रक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गरे। युक्रेनको रक्षा मन्त्रालयले रुसले हालै ५०० भन्दा बढी ड्रोन र मिसाइलहरूसहित ठूलो हवाई आक्रमण गरेको जनाएको छ, जसले हवाई रक्षा प्रणालीको आवश्यकता झन् बढाएको छ। एजेन्सी

प्रकाशित: १८ असार २०८२ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App