१० माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा तत्काल युद्धविराम गर्न नेतान्याहूमाथि ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासलाई अक्टोबर ७ मा अपहरण गरिएका बन्धकहरू फिर्ता गर्ने उद्देश्यले गाजामा सम्झौता गर्न आग्रह गरेका छन्। 

‘गाजामा सम्झौता गर। बन्धकहरू फिर्ता ल्याऊ!!!,’ उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्। टाइम्स अफ इजरायलले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न दबाब दिइरहेको देखिन्छ भनेर लेखेकाे छ। 

यसअघि ट्रम्पले एक हप्ताभित्र सम्झौता हस्ताक्षर हुने भविष्यवाणी गरेका थिए। उनले इजरायली अधिकारीहरूलाई नेतान्याहूविरुद्धको भ्रष्टाचार मुद्दा बन्द गर्न दोस्रो पटक आह्वान गरेको केही घण्टापछि यो बयान आएको हो। ट्रुथ सोशलमा ट्रम्पले नेतान्याहूविरुद्ध चलिरहेको भ्रष्टाचार मुद्दाको आलोचना गरेका थिए। 

ट्रम्पले पोस्टमा लेखे, ‘इजरायलमा उनीहरूले बीबी नेतान्याहूलाई जे गरिरहेका छन्, त्यो भयानक छ। उहाँ एक युद्ध नायक हुनुहुन्छ र एक यस्ता प्रधानमन्त्री हुनुहुन्छ, जसले संयुक्त राज्य अमेरिकासँग मिलेर उत्कृष्ट काम गर्नुभयो। ...महत्त्वपूर्ण कुरा, उहाँ अहिले हमाससँग सम्झौताको वार्ता प्रक्रियामा हुनुहुन्छ, जसमा बन्धकहरूलाई फिर्ता ल्याउनु पनि समावेश छ।’ नेतान्याहूको बचाउ गर्दै ट्रम्पले थपे, ‘न्यायको यो उपहासले इरान र हमास दुवैसँगको वार्तामा हस्तक्षेप गर्नेछ। अर्को शब्दमा, नियन्त्रणबाहिर रहेका अभियोजकहरूले नेतान्याहूलाई जे गरिरहेका छन्, त्यो पागलपन हो।’

तेल अभिभको होस्टेज स्क्वायरमा भेला भएका हजारौं युद्धविरोधी प्रदर्शनकारीहरूले तत्काल युद्धविराम गरेर बाँकी बन्धकहरू फिर्ता गर्न माग गरेका थिए। अधिकारीहरूका अनुसार अक्टोबर ७, २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि गाजामा युद्ध सुरु भएको थियो, जसमा एक हजार दुई सय जनाको ज्यान गएको थियो। 

सोही घटनामा दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो। जवाफी कारबाहीमा इजरायलले अहिलेसम्म ५६ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एजेन्सी

प्रकाशित: १५ असार २०८२ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App