२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन्: ‘इरान हमलालाई हिरोसिमा आणविक आक्रमणसँग तुलना गर्न मिल्छ’

गत शनिवार राती इरानका ३ प्रमुख आणविक संरचनामा गरिएका आक्रमण प्रभावकारी नभएको आरोप खेपेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान हमलालाई दोस्रो विश्वयुद्धको अन्तताका हिरोसिमा र नागाशाकीमा गरिएको आणविक आक्रमणसँग तुलना गरेका छन् ।

इरान हमला प्रभावविहीन भएको अमेरिकी गुप्तचर एजेन्सी डिआइएको रिपोर्ट सही नभएको र आक्रमणका कारण इरानी संरचनामा क्षति गम्भीर भएको उनको तर्क छ । 

नाटोको  बैठकमा सहभागी हुन हेग पुगेका राष्ट्रपति ट्रम्पले बुधवार उक्त कुरा बताएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्स, एपी लगायत अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अमेरिकी गुप्तचर एजेन्सी डिआइएले बुझाएको रिपोर्ट  सार्वजनिक गरेका थिए । उक्त रिपोर्टमा अमेरिकी हमलाले इरानको आणविक कार्यक्रमलाई केही महिना मात्र पछाडि धकेलेको  र पूर्ण रुपमा ध्वस्त नपारेको उल्लेख छ ।

‘गुप्तचर  रिपोर्ट धेरै अनिर्णीत थियो,’  ट्रम्पले बुधबार नेटो शिखर सम्मेलनको क्रममा  महासचिव मार्क रुटसँगको भेटपछि पत्रकारहरूलाई भने । उनले डिआइएको रिपोर्ट प्रारम्भिक मात्र भएको दाबी गरे ।

ट्रम्पले उक्त रिपोर्टका बारेमा  रिपोर्टिङ गरेकोमा पत्रकारहरूको समेत कडा आलोचना गरेका छन् ।

‘यो इरानका मुख्य आणविक स्थललाई लक्षित गरी सप्ताहन्तमा भएको बमबारी अभियान सञ्चालन गरेका पाइलटहरू विरुद्धको आक्रमण हो,’ उनले भने । ट्रम्पले इजरायल र इरानबिचको युद्ध अन्त्य गर्न अमेरिकी हमला जिम्मेवार रहेको बताए।

‘हिरोसिमा र नागाशाकीमा भएको आणविक आक्रमणले दोस्रो विश्वयुद्धलाई अन्त गरेको थियो । यो आक्रमणले फरक हिसाबले युद्ध समाप्त गर्‍यो ,’ उनको कथन थियो । 

त्यसो त, राष्ट्रपति ट्रम्पको अमेरिकी गुप्तचर समुदायसँग सम्बन्ध असहज छ । यी हमलाहरूको सफलता उनको लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । 

उनका दक्षिणपन्थी समर्थकहरूले समेत यो  सैन्य हस्तक्षेप ट्रम्पको घरेलु केन्द्रित “मेक अमेरिका ग्रेट अगेन“ भन्ने नारा र विदेशी संलग्नताबाट बच्ने अजेण्डासँग  मेल नखाने तर्क गरेका छन् ।

रक्षा मन्त्री पीट हेगसेथले पनि  मिडियाप्रति निकै  आक्रोश पोखेका छन् । उनले एफविआईले रिपोर्ट कसरी बाहिर आयो भन्ने बिषयमा अध्ययन गर्ने बताएका छन् । 

प्रकाशित: १२ असार २०८२ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App