१० माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको सनसनीपूर्ण घोषणा : इरान-इजरायलबिच युद्धविराम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान ट्रुथ सोसलमार्फत इरान र इजरायलबिच ६ घण्टाभित्र पूर्ण युद्धविराम हुने घोषणा गरेका छन्।

उनले पहिलो १२ घण्टा इरान र त्यसपछिको १२ घण्टामा इजरायलले अाक्रमण राेक्ने बताएका छन्। योसँगै १२ दिने युद्ध अन्त्य भएको दाबी उनको छ। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र दुवै देशका जनतालाई शान्तिको बधाई दिए। यद्यपि इरान र इजरायलले यसबारे आधिकारिक बयान दिएका छैनन्।

न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले ट्रम्पको दाबीमा टिप्पणी गर्न अस्वीकार गरेको छ।

 युद्धविराम गराउन कतारले भूमिका खेलेको चर्चा छ। ट्रम्पले लखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु कि इजरायल र इरानबिच १२ घण्टा (अर्थात् अबको ६ घण्टा) मा पूर्ण युद्धविराम लागू हुनेछ। पहिलो १२ घण्टा इरानले आफ्नो हतियार बिसाउनेछ र अर्को १२ घण्टा इजरायलले आफ्नो हतियार बिसाउनेछ।

यो १२ दिने युद्ध अन्त्य गर्न मद्दत गरेकोमा म दुवै देशका नेताहरूलाई धन्यवाद दिन चाहन्छु। यो वर्षौंसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो। मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ। यो संसारको लागि एक महान दिन हो!’

घोषणाअघि इरानले कतारको अमेरिकी हवाई अड्डामा १९ मिसाइल प्रहार गरेको थियो। तर अग्रिम चेतावनीका कारण हताहत भएन। यो युद्ध जुन १३ मा इजरायलको आक्रमणबाट सुरु भएको थियो, जसमा इरानमा ६ सय ३९ र इजरायलमा २४ जनाको मृत्यु भएको जनाइएको छ।

तर विश्लेषकहरूले यसको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएका छन्। इरानको आणविक कार्यक्रम र क्षेत्रीय तनावका कारण यो सम्झौता अस्थायी मात्र हुन सक्ने चेतावनी दिएका छन्। एजेन्सी

प्रकाशित: १० असार २०८२ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App