इरानका आणविक स्थलहरूलाई लक्षित गरी गरिएको ‘सफल सैन्य कारबाही’ पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समय अनुसार शनिबार राति १० बजे राष्ट्रलाई सम्बोधन गर्ने घोषणा गरेका छन्।
‘म इरानमा हाम्रो सफल सैन्य कारबाहीबारे ह्वाइट हाउसमा राति १०:०० बजे राष्ट्रलाई सम्बोधन गर्नेछु। यो संयुक्त राज्य अमेरिका, इजरायल र विश्वका लागि ऐतिहासिक क्षण हो। इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ। धन्यवाद!’ ट्रम्पले ट्रुथ सोशलमा लेखे।
ट्रम्पले त्यसअघि अमेरिकाले इरानका फोर्डो, नातान्ज र इस्फहानस्थित तीन आणविक स्थलहरूमा ‘सफल हवाई हमला’ गरेको जानकारी गराएका थिए। ‘हामीले इरानका तीन आणविक स्थलहरू (फोर्डो, नातान्ज र इस्फहान) मा सफल हमला गरेका छौं। सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन्। सबै विमानहरू सुरक्षित घर फर्किंदै छन्। हाम्रा अमेरिकी सैनिकहरूलाई बधाई छ। विश्वमा अरू कुनै सेनाले यो गर्न सक्थेन। अब शान्तिको समय हो! यो विषयमा तपाईंको ध्यानका लागि धन्यवाद’ उनले ट्रुथ सोशलमा लेखेका थिए।
इरानी राज्य सञ्चार माध्यम फार्स न्यूजका अनुसार तेहरानबाट करिब ८७ माइल दक्षिणमा रहेको कोम सहरका बासिन्दाहरूले धेरै विस्फोटहरू सुनेका थिए। अमेरिकी अधिकारीका अनुसार इरानमाथिको हवाई हमलामा बी-२ बमवर्षक विमानहरू संलग्न थिए।
रोयटर्सका अनुसार एक अमेरिकी अधिकारीले यी विमानहरू प्रयोग भएको पुष्टि गरेका छन्। यसअघि अमेरिकी बी-२ स्टिल्थ बमवर्षकहरूलाई गुआम टापुमा सारिएको थियो, जसबाट इरानमाथिको हमलामा यी विमानहरू संलग्न हुन सक्ने अनुमान गरिएको थियो। एजेन्सी
प्रकाशित: ८ असार २०८२ ०६:२७ आइतबार