११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अहमदावाद त्रासदीले सम्झाएका विश्वका १८ ठुला विमान दुर्घटना

गत साता भारतको ‘गुजरात विमान दुर्घटना’ को त्रासदीपूर्ण वातावरण अझैँ कायम छ। बिहीबार दिउँसो १ः३८ (भारतीय समय) मा अहमदावादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर (उडान एआई १७१) टेकअफ गरेको केही मिनेटमै बीजे मेडिकल कलेजको होस्टल भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। 

दुर्घटनाबाट विमानमा सवार २४२ मध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।  सहरी क्षेत्रमा खसेको विमानमा लागेको आगोका कारण थप व्यक्ति पनि मारिएका छन्। जसले पनि मृतकको संख्या २७९ जना पुगेको छ। जमिनमा ज्यान गुमाउने ३३ जनामा धेरै मेडिकल विद्यार्थीहरू छन्। मृत्यु हुनेमा गुजरात प्रान्तका पूर्व मुख्यमन्त्री विजय रूपानी समेत छन्। 

एकैसाथ यति ठुलो संख्यामा मानवीय हताहती भएको यो विमान दुर्घटनालाई पछिल्लो दशककै सबैभन्दा घातक दुर्घटना मानिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘हृदय विदारक’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिसकेका छन्। घटनाको बेलायती प्रधानमन्त्री केयर स्टार्मर र राजा चार्ल्स पनि गहिरो शोक व्यक्त गरेका छन्।

भारतको विमान दुर्घटना जाँच ब्युरो (एएआईबी), अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी), र बेलायतको वायु दुर्घटना जाँच शाखा (एएआइबी) ले औपचारिक जाँच सुरु गरिसकेका छन्। प्रारम्भिक अनुमानमा दोहोरो इन्जिन फेल, चरा ठोक्किनु, वा इन्धन दूषित भएकोसहित सम्भावनाबारे आंकलन गरिएको छ। फ्लाइट राडार २४ को तथ्याङ्कअनुसार विमान ६२५ फिट उचाइमा पुगेपछि खसेको थियो। ब्ल्याक बक्स (ककपिट भ्वाइस रेकर्डर) फेला परेको छ। यसबाट अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बोइङ र एयर इन्डियाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

दुई दशकका १८ ठुला दुर्घटना
विमानको यात्रा सुरक्षित मानिए पनि पछिल्ला दुई दशकमा विश्वभर भएका दर्जनौँ विमान दुर्घटनाले भने यात्रुहरूलाई सधैँ झस्काउने गरेका छन्। यस्ता दुर्घटना भइरहँदा यात्रुको हवाई यात्राको सुरक्षिततामा आशंका पैदा गर्दै त्रासको वातावरण पनि दिने गरेका छन्। यो सामग्रीमा हामीले दुई दशकमा घटेका १६ ठुला विमान दुर्घटनाको विवरण प्रस्तुत गरेका छौँ।

२०२५, अमेरिका: जनवरी २९ मा अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट (बोम्बार्डियर सीआरजे७००) र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर रोनाल्ड रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमाथि ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। हेलिकप्टरको गलत उचाइ रेडिङ र हवाई ट्राफिक नियन्त्रणसँगको अपूर्ण संचारलाई दुर्घटनाको कारण मानिएको छ। 

२०२४, दक्षिण कोरिया: डिसेम्बर २९ मा जेजु एयरको उडान सातसी२२१६ (बोइङ ७३७–८००) मुयान अन्तर्राष्ट्रिय विमानस्थलमा गियर–अप अवतरणको प्रयासमा रनवेबाट चिप्लिएर खस्दा १७९ जनाको मृत्यु भएको थियो। यो दक्षिण कोरियाको इतिहासमै सबैभन्दा घातक दुर्घटना हो। 

२०२४, काजाकिस्तान: डिसेम्बर २५ मा अजरबैजान एयरलाइन्सको उडान जे२–८२४३ (एम्ब्रेयर ई१९०) रूसको आकाशबाट डाइभर्ट भएर काजाकिस्तानको अक्टाउ नजिकै खस्दा ३८ जनाको मृत्यु भएको थियो। अनुसन्धानमा रूसी हवाई रक्षा प्रणालीबाट मिसाइल हमलाको आशंका गरिएको थियो। तर रूसले उक्त आरोपको खण्डन गरेको छ।

२०२३, नेपाल (पोखरा): जनवरी १५ मा यति एयरलाइन्सको एटीआर ७२–५०० काठमाडौंबाट पोखरातर्फ जाँदै गर्दा अवतरणको क्रममा सेती नदीको खोँचमा खस्दा ७२ जनाको मृत्यु भएको थियो। यस दुर्घटनामा पाइलट त्रुटि र जटिल हिमाली भू–बनावटलाई मुख्य कारण मानिएको छ। 

२०२२, चीन: मार्च २१ मा चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७–८०० गुआङ्सीको पर्वतीय क्षेत्रमा खस्दा १३२ जनाको मृत्यु भएको थियो। चिनियाँ अधिकारीले प्राविधिक त्रुटि र सम्भावित पाइलट त्रुटिका कारण दुर्घटना भएको आशंका गरेका छन्। यो घटनापछि चीनमा बोइङ ७३७ को सुरक्षा प्रोटोकलमाथि छानबिन बढाएको थियो। 

२०२०, इरान: जनवरी ८ मा युक्रेन इन्टरनेशनल एयरलाइन्सको बोइङ ७३७–८०० तेहरानबाट उड्ने क्रममा इरानी सेनाले भुलवश खसाल्दा १७६ जनाको मृत्यु भएको थियो। इरानले रडार त्रुटि र अपरेटरको गल्तीलाई कारण मानेको थियो। 

२०१९, इथियोपिया: मार्च १० मा इथियोपियन एयरलाइन्सको बोइङ ७३७–म्याक्स ८ अडिस अबाबाबाट नैरोबीतर्फ उडान भरेपछि दुर्घटनामा परेको थियो। सो दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो। दुर्घटनामा प्राविधिक खराबीलाई मुख्य कारण मानियो। 

२०१८, नेपाल (काठमाडौं): मार्च १२ मा युएस–बङ्गला एयरलाइन्सको डीएचसी–८–४०२क्यू ढाकाबाट काठमाडौं त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएर खस्दा ५१ जनाको मृत्यु भएको थियो। अनुसन्धानमा पाइलट र हवाई ट्राफिक नियन्त्रणबिच गलत संचार दुर्घटना भएको बताइएको थियो। 

२०१८, इन्डोनेसिया: अक्टोबर २९ मा लायन एयरको बोइङ ७३७–म्याक्स ८ जाकार्ताबाट उडेर जाभा सागरमा खस्दा १८९ जनाको मृत्यु भएको थियो। इन्डोनेसियाले प्राविधिक समस्या र अपर्याप्त पाइलट तालिमलाई कारण मानेको थियो। यो दुर्घटनाले बोइङ ७३७–म्याक्सको डिजाइनमाथि विश्वव्यापी प्रश्न गरिएको थियो।

२०१८, अल्जेरिया: अप्रिल ११ मा अल्जेरियाली सैन्य विमान (इल्युशिन आइएल–७६) अल्जियर्सनजिकै सैन्य अड्डाबाट उडेर खस्दा २५७ जनाको मृत्यु भएको थियो। अल्जेरियाली जाँचले पुरानो विमान र प्राविधिक त्रुटिलाई कारण मानेको छ। यो घटनाले सैन्य उड्डयनमा मर्मत र आधुनिकीकरणको आवश्यकता उजागर गर्यो्।

२०१४, मलेसिया: जुलाई १७ मा मलेसिया एयरलाइन्सको उडान एमएच१७ (बोइङ ७७७) युक्रेनको विद्रोही क्षेत्रमाथि गोली चलेर खस्दा २९८ जनाको मृत्यु भएको थियो। डच नेतृत्वको जाँचले रूसी समर्थित विद्रोहीहरूको मिसाइल हमला गरेको आरोप लगाएको थियो।

२०१४, मलेसिया: मार्च ८ मा मलेसिया एयरलाइन्सको उडान एमएच३७० (बोइङ ७७७) क्वालालम्पुरबाट बेइजिङ जाँदा दक्षिणी हिन्द महासागरमा हराउँदा २३९ जनाको मृत्यु भएको थियो। अन्तर्राष्ट्रिय जाँचले विमानको अवशेष फेला पार्न सकेन। यो विश्व उड्डयन इतिहासको ठूलो रहस्य बनेको छ। 

२०११, इरान: जनवरी ९ मा इरान एयरको बोइङ ७२७–२८६ ओरुमियेहमा अवतरणका क्रममा खराब मौसमका कारण खस्दा ७७ जनाको मृत्यु भएको थियो। इरानी अनुसन्धानले खराब मौसम र पाइलट त्रुटिलाई कारण मान्यो। यो दुर्घटनाले इरानमा पुराना विमानहरूको प्रयोगमाथि प्रश्न उठेको थियो। 

२००९, ब्राजिल: जुन १ मा एयर फ्रान्सको उडान एएफ४४७ (एयरबस ए३३०) रियो दि जेनेरियोबाट पेरिस जाँदा एट्लान्टिक महासागरमा खस्दा २२८ जनाको मृत्यु भएको थियो। फ्रान्सेली जाँचले तूफानी मौसम, पाइलट त्रुटि, र गलत एयरस्पीड डाटालाई कारण मानेको थियो। 

२००५, इन्डोनेसिया: सेप्टेम्बर ५ मा मण्डाला एयरलाइन्सको उडान ०९१ (बोइङ ७३७–२००) मेदानमा टेकअफको क्रममा खस्दा १०० जनाको मृत्यु भएको थियो, जसमा जमिनमा ४७ जना थिए। इन्डोनेसियाली जाँचले इन्जिन फेल र ओभरलोडलाई कारण मानेको थियो।

२००५, नाइजेरिया: डिसेम्बर १० मा सोसोलिसो एयरलाइन्सको उडान ११४५ (डीसी–९) पोर्ट हारकोर्टमा अवतरणका क्रममा खस्दा १०८ जनाको मृत्यु भएको थियो। जमिनमा २ जनाले ज्यान गुमाएका थिए। नाइजेरियाली अधिकारीले खराब मौसम र पाइलटको गलत निर्णयलाई कारण मानेका थिए।

२००३, इरान: फेब्रुअरी १९ मा इरानी रिभोलुसनरी गार्डको इल्युशिन आइएल–७६ केरमानमा खराब मौसमका कारण खस्दा २७५ जनाको मृत्यु भएको थियो। इरानले गरेको अनुसन्धानमा रडार विफलता र खराब मौसमलाई कारण मानेको थियो।

२००१, अमेरिका: नोभेम्बर १२, २००१ मा अमेरिकन एयरलाइन्सको एयरबस ए३०० उडान भरेको केही समयपछि नै न्यूयोर्क सहरको क्वीन्स बरोमा दुर्घटनाग्रस्त भयो, जसमा सवार २६० र जमिनमा पाँच जनाको मृत्यु भएको थियो। उडान ५८७ डोमिनिकन रिपब्लिकको सेन्ट-डोमिंगुतर्फ जाँदै थियो, जुन न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबाट प्रस्थान गरेको थियो। 

नेपालको कुरा गर्दा जटिल हिमाली भू–बनावट, अप्रत्याशित मौसम, पुराना विमान, अपर्याप्त पाइलट तालिम, र कमजोर नियामक निगरानीले दुर्घटना हुने गरेको पाइएको छ। विश्वव्यापी रूपमा प्राविधिक त्रुटि, मानवीय भूल, र बाह्य हस्तक्षेप (जस्तै मिसाइल हमला) प्रमुख कारण रहेका छन्। 

अहमदाबाद दुर्घटनाले उड्डयन सुरक्षामा सुधारको खाँचोलाई पुन: उजागर गरेको छ। टाटा समूहले मृतकका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति र घाइतेको उपचार खर्च बेहोर्ने घोषणा गरेको छ। विश्वभरका यस्ता घटनाले उड्डयन प्रणालीमा प्राविधिक र नियामकीय सुधारको आवश्यकता देखाएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: ४ असार २०८२ १४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App