४ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एयर इन्डियाको उडानमा एकपछि अर्काे समस्या : अहमदाबाद-लन्डन उडान रद्द

एयर इन्डियाको उडान एआई-१५९ अहमदाबादबाट लन्डनको गटविक जाने तयारीमा थियो। तर प्राविधिक खराबीका कारण स्थानीय समय अनुसार मंगलबार दिउँसो १:१० बजेको उडान रद्द भयो। 

कम्पनीले यात्रुलाई रकम फिर्ता वा वैकल्पिक उडानको व्यवस्था गर्ने बताएको छ। उसले उडान स्थिति जाँच्न र सम्पर्कमा रहन अनुरोध गरेको छ। यो उडान जुन १२ मा भएको विमान दुर्घटनापछि अहमदाबादबाट लन्डनको पहिलो उडान थियो। सो दुर्घटनामा विमानमा सवार २४१ जना र जमिनमा ३८ जना गरी २७९ जनाले ज्यान गुमाएका थिए। 

प्राविधिक खराबी उडानअघि नै पत्ता लागेको थियो। कम्पनीका अनुसार उडान भोलि पुन: तालिकाबद्ध हुनेछ। दैनिक भास्करका अनुसार यात्रु प्रतीक पाण्डेले भने, ‘जनतालाई यस्तो दुख नदिनुहोस्। यहाँ आएपछि उडान रद्द भएको बताइन्छ। अब २५० यात्रुले के गर्ने, कहाँ बस्ने? एयरलाइन्सबाट कुनै उचित व्यवस्था छैन।’ 

यसअघि मस्कटबाट कोच्चि हुँदै दिल्ली जाने इन्डिगोको विमानलाई बमको धम्कीपछि नागपुरमा आपतकालीन अवतरण गराइएको थियो। नागपुरका डीसीपी लोहित मतानीले भने, ‘सबै यात्रुलाई सुरक्षित ओरालिएको छ, विमानको खोजी भइरहेको छ। अहिलेसम्म केही शंकास्पद भेटिएको छैन।’ 

त्यस्तै अमेरिकाको सान फ्रान्सिस्कोबाट मुम्बई उडानमा रहेको एयर इन्डियाकै अर्को विमानमा सोमबार राति प्राविधिक समस्या देखिएको थियो। त्यसपछि मंगलबार बिहान कोलकाता विमानस्थलमा यात्रुलाई ओरालिएको थियो। 

उडान नम्बर एआई-१७९, बोइङ ७७७-२०० एलआर -वर्ल्डलाइनर), बिहान १२:४५ बजे कोलकाता पुगेको थियो। बायाँ इन्जिनमा खराबीका कारण उडानमा समस्या भएको हो। बिहान ५:२० बजे क्याप्टेनले यात्रुलाई विमानबाट ओर्लन भने। उनले भनेका थिए, ‘उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो।’ 

जुन १६ मा हङकङबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको उडान एआई-३१४, बोइङ ७८७-८ ड्रीमलाइनर, प्राविधिक खराबीले फिर्ता भएको थियो। त्यस्तै, दिल्लीबाट राँची जाने एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ म्याक्स ८ उडान पनि शंकास्पद प्राविधिक समस्याले दिल्ली फर्काइएको थियो। 

त्यसअघि जुन १५ मा लन्डनबाट चेन्नई आउँदै गरेको ब्रिटिश एयरवेजको बोइङ ७८७-८ ड्रीमलाइनर प्राविधिक खराबीले फर्कियो। त्यस्तै, फ्र्याङ्कफर्टबाट हैदराबाद आउँदै गरेको लुफ्थान्सा एयरलाइन्सको बोइङ ७८७-९ ड्रीमलाइनरलाई बमको धम्कीका कारण फर्किनु परेको थियो। एजेन्सी 

प्रकाशित: ३ असार २०८२ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App