अमेरिकालाई लामो समयदेखि विश्वभरका वैज्ञानिक प्रतिभाको केन्द्र मानिन्थ्यो। तर, अब यो आकर्षण घट्दै गएको छ।
८० वर्षमा पहिलो पटक अमेरिकाले ठूलो संख्यामा वैज्ञानिक पलायनको सामना गरिरहेको छ। यसले अमेरिकाको विश्वव्यापी हैसियतलाई चुनौती मात्रै दिएको छैन, नवप्रवर्तनको आधारलाई समेत कमजोर बनाएको छ।
अमेरिकन एसोसिएसन फर द एडभान्समेन्ट अफ साइन्सको सर्वेक्षणअनुसार ७५ प्रतिशत वैज्ञानिकहरू अमेरिका छोडेर युरोप वा एसियामा अवसर खोजिरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धान कोष कटौती, आप्रवासी विद्यार्थीमाथिको प्रतिबन्ध र शैक्षिक स्वतन्त्रतामाथिको हस्तक्षेपजस्ता नीतिहरू यो पलायनका मुख्य कारण हुन्।
ट्रम्प प्रशासनले २०२६ का लागि राष्ट्रिय स्वास्थ्य संस्थानको अनुदानमा ४० प्रतिशत कटौती गरेको छ। साथै, राष्ट्रिय विज्ञान प्रतिष्ठानबाट २ अर्ब डलरको अनुदान रद्द गर्ने प्रस्ताव अघि बढिरहेको छ। कोष कटौतीले वैज्ञानिकहरू परियोजना बन्द हुने चिन्तामा छन्। सन् २०१५ सम्म हरेक वर्ष ६० हजारभन्दा बढी विदेशी अनुसन्धानकर्ता अमेरिका पुग्थे। तर, २०२४ मा यो संख्या २३ हजारमा झरेको छ र यो वर्ष १५ हजारभन्दा कम हुने अनुमान छ।
विश्वका विभिन्न देशले आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु विज्ञान, जेनेटिक्स र न्यूरोसाइन्सजस्ता क्षेत्रका वैज्ञानिकलाई आकर्षित गर्न प्रस्ताव ल्याइरहेका छन्। युरोपेली संघले तीन वर्षमा ५ खर्ब युरो लगानी गरेर अनुसन्धानकर्तालाई आकर्षित गर्ने योजना बनाएको छ। फ्रान्सको मार्सेली विश्वविद्यालयले ‘सेफ प्लेस फर साइन्स’ कार्यक्रम सुरु गरेको छ।
क्यानडाले पनि ठूलाे लगानी गरेर वैज्ञानिकलाई आकर्षित गरिरहेको छ। चीन पनि यस क्षेत्रमा काम गरिरहेकाे छ। अमेरिकाले चार सयभन्दा बढी नोबेल पुरस्कार जितेको छ, जसमध्ये एक तिहाइ आप्रवासीले प्राप्त गरेका छन्। एजेन्सी
प्रकाशित: २१ जेष्ठ २०८२ १४:१४ बुधबार





