युक्रेनले रूस र उसले कब्जा गरेको क्रिमिया जोड्ने केर्च पुलमा पानीमुनि राखिएका विस्फोटक पदार्थ प्रयोग गरी आक्रमण गरेको जानकारी दिएकाे छ। यो सन् २०२२ मा रूसको पूर्ण आक्रमण सुरु भएयता मस्कोको महत्त्वपूर्ण आपूर्ति मार्गमाथिको तेस्रो आक्रमण हो।
युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले टेलिग्राममा आफ्ना एजेन्टले सडक र रेल मार्ग भएको केर्च पुल (क्रिमियन पुल) का पिल्लरहरूमा विस्फोटक राखेका थिए। स्थानीय समय अनुसार मंगलबार बिहान पहिलो विस्फोट गराएका थिए। यो हमला गर्न महिनौँकाे तयारी लागेको दाबी गरिएको छ। उसका एजेन्टले ११ सय किलोग्राम टीएनटी बराबरको विस्फोटक प्रयोग गरी पानीमुनिका पिल्लरहरूलाई ‘गम्भीर क्षति’ पुर्याएको बताइएको छ।
पुलमा मंगलबार बिहान आवागमन रोकिएको थियो। दिउँसो पुन: रोकिएर साँझ ६ बजेअघि खुलेको थियो। क्षतिको पूर्ण विवरण स्पष्ट नभए पनि यो आक्रमणले मस्कोलाई युद्धमा चुनौती दिएको छ।
यसअघि आइतबार युक्रेनले रूसका आणविक बमवर्षक विमानमाथि सयौँ ड्रोन प्रयोग गरी आक्रमण गरेको थियो। सो आक्रमणमा ४१ विमानमा क्षति पुगेको जनाइएको छ। मस्कोमाथि सात अर्ब डलर बराबरको क्षति पुर्याएको बताउँदै रूसका ३४ प्रतिशत रणनीतिक मिसाइल वाहकमा क्षति भएको दाबी कीभले गरेकाे थियो।
एसबीयू प्रमुख वासिल माल्युकले यो आक्रमणको नेतृत्व गरेका थिए। युक्रेनले सन् २०२२ को अक्टोबरमा ट्रक विस्फोट र सन् २०२३ को जुलाईमा समुद्री ड्रोनमार्फत यो पुलमा आक्रमण गरेको थियो। दुवैपटक रूसले मर्मत गरेको थियो। माल्युकले यो पुल रूसले युक्रेनविरुद्धको युद्धमा आपूर्तिका लागि प्रयोग गर्ने भएकाले ‘वैध लक्ष्य’ भएको बताए। करिब चार अर्ब डलर लागतकाे केर्च पुल रूसले सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि बनाएको थियो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा उद्घाटन गरेका थिए। रूसी सञ्चारमाध्यमका अनुसार पुलमा यातायात रोकिएको थियो। क्रिमियाको सबैभन्दा ठूलो सहर सेभास्तोपोलमा समुद्री यातायात पनि अस्थायी रूपमा बन्द गरिएको थियो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई ‘इतिहासमा दर्ज हुने’ भन्दै एसबीयूको प्रशंसा गरेका छन्। एजेन्सी
प्रकाशित: २१ जेष्ठ २०८२ ०९:१५ बुधबार





