२६ माघ २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टर्कीमा भूकम्प : एक किशोरीको मृत्यु, हाम फाल्दा ७० घाइते

टर्कीको तटीय शहर मारमारिसमा मंगलबार ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय अधिकारीहरूले भूकम्पका कारण घरबाट हाम फाल्दा दर्जनौं मानिस घाइते भएकाे जानकारी दिएका छन्। अस्पताल लगिएकी एक किशोरीको मृत्यु भएको हो। 

विपद् व्यवस्थापन प्राधिकरणले भूकम्प स्थानीय समयानुसार बिहान २:१७ बजे गएको जानकारी दिएको छ। त्यसको केन्द्रबिन्दु मारमारिसको रिसोर्ट क्षेत्रभन्दा बाहिर भूमध्यसागरमा रहेको जनाइएको छ। 

ग्रीक टापु रोड्ससहित छिमेकी क्षेत्रमा पनि धक्का महसुस भएको थियो। रातको समय भएका कारण भूकम्पले धेरैलाई निद्राबाट ब्युँझाएको थियो। टर्कीका गृहमन्त्री अली येर्लिकायाले एक्समा लेखेका छन्, ‘एक १४ वर्षीया बालिकालाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो।’ 

बालिकालाई कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्ने स्पष्ट छैन। उनले थपे, ‘आतंकित भएर हाम फालेका करिब ७० जना घाइते भएका छन्, जसको उपचार भइरहेको छ।’ भवनमा क्षति भएको कुनै जानकारी आएको छैन। भूकम्पको धक्का महसुस गरेपछि मानिसहरूले होटल र घरबाहिर रात बिताएका छन्। 

ग्रीसको भूकम्प योजना तथा संरक्षण संगठनका प्रमुख एफ्थिमियोस लेक्कासले भने, ‘यद्यपि भूकम्प फराकिलो क्षेत्रमा महसुस गरिएको थियो। यसको सतहमा खासै प्रभाव पर्ने छैन।’ उनले भूकम्प ६० किलोमिटर गहिराइमा गएको हुन सक्ने बताएका छन्। 

टर्कीमा बारम्बार भूकम्प आउने गर्छ। सन् २०२३ मा ७.८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजारभन्दा बढीको ज्यान लिएको थियो। भूकम्पमा ११ दक्षिणी र दक्षिणपूर्वी प्रान्तका लाखौं भवन ध्वस्त वा क्षतिग्रस्त भएका थिए। छिमेकी सिरियाको उत्तरी भागमा थप ६ हजारको मृत्यु भएको थियो। एपी

प्रकाशित: २० जेष्ठ २०८२ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App