पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले मित्र राष्ट्रसँग व्यापार र विकासमा जोड दिनुपर्ने बताएका छन्। शनिबार क्वेटाको कमाण्ड एण्ड स्टाफ कलेजमा सैनिकहरूलाई सम्बोधन गर्दै उनले भने, ‘पाकिस्तानका मित्र राष्ट्रहरू हामी उनीहरूकहाँ भीख माग्न आओस् भन्ने चाहँदैनन्।’
शरीफले भने, ‘चीन, साउदी अरेबिया, टर्की, कतार, युएई सबै पाकिस्तानका भरपर्दो साथी हुन्। उनीहरूले हामीसँग व्यापार, वाणिज्य, नवप्रवर्तन, विकास, शिक्षा, स्वास्थ्य र लगानीमा संलग्न हुने अपेक्षा गर्छन्।’
उनले थपे, ‘उनीहरू अब हामीलाई भीखका कचौरा लिएर जाओस् भन्ने चाहँदैनन्।’ शरीफले सेना प्रमुख असीम मुनिरसँगै आफू यो बोझ काँधमा बोक्न चाहने अन्तिम व्यक्ति भएको बताए। ‘अन्तत: यो बोझ देशको काँधमा पर्छ,’ उनले भने। शरीफले प्राकृतिक स्रोतहरूको पूर्ण उपयोग गरी सही उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए।
क्वेटाको अर्को कार्यक्रममा उनले बलुचिस्तानका जनतालाई आतंककारीहरूले बहकाएको उल्लेख गर्दै सही बाटोमा फर्काउनु महत्त्वपूर्ण भएको उल्लेख गरेका थिए। ‘आतंककारीहरूलाई न जनताले सहन्छ, न सरकारले, न सेनाले,’ उनले भने।
उनले बलुचिस्तानको समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्। ‘यदि कुनै समस्या छन् भने बसेर समाधान गर्नुपर्छ,’ उनले भने। शुक्रबार सेना प्रमुख असीम मुनिरले पनि क्वेटाको कमाण्ड एण्ड स्टाफ कलेजमा सम्बोधन गरेका थिए। उनले कश्मीर विवादको शान्तिपूर्ण समाधानको आवश्यकतामा जोड दिए।
मुनिरले भारतले कश्मीरमा बनाइरहेको जलविद्युत परियोजनाको विरोध गर्दै पाकिस्तानलाई कहिल्यै दबाउन नसक्ने दाबी गरेका छन्। उनले भारतसँगको द्वन्द्वमा मारिएकाहरूलाई श्रद्धाञ्जली दिँदै पाकिस्तानी जनता देशको रक्षामा फलामको पर्खाल बनेको बताए।
प्रधानमन्त्री शरीफ हालै मे २५ देखि ३० सम्म टर्की, इरान, अजरबैजान र ताजिकिस्तानको भ्रमण गरेका थिए। उनले भारतसँगको सैन्य तनावका बेला यी देशका राष्ट्रप्रमुखहरूको सहयोगका लागि धन्यवाद दिन ती देशको भ्रमण गरेका थिए। सो अवसरमा शरीफले भारतसँग वार्ताको इच्छा व्यक्त गरेका थिए। उनले कश्मीर, आतंकवाद र पानीका मुद्दाहरूमा छलफल गर्न चाहेको बताएका हुन्। एजेन्सी
प्रकाशित: १८ जेष्ठ २०८२ १३:२२ आइतबार





