१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियाको सुमात्रामा शक्तिशाली भूकम्प, सय बढी घरमा क्षति

शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पका कारण सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन्, तर कुनै मानवीय क्षतिको खबर छैन।

युएसजिएसका अनुसार भूकम्प स्थानीय समय बिहान २:५२ बजे बेङ्कुलु प्रान्त नजिकै समुद्रमा ६८ किलोमिटर गहिराइमा गएको थियो। इन्डोनेसियाको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रविन्दु ८४ किलोमिटर गहिराइमा रहेको र म्याग्निच्युड ६.० मापन गरेको जनाएको छ। एजेन्सीले सुनामीको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ।

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा भने, ‘बेङ्कुलु सहरमा भूकम्पका कारण १४० घर प्रभावित भए। तीमध्ये आठवटा घर पूर्ण रूपमा ध्वस्त भए, जसको मर्मत सम्भव छैन।’

सेन्ट्रल बेङ्कुलु जिल्लामा दुईवटा घरमा सामान्य क्षति पुगेको उनले बताए। उनका अनुसार शुक्रबार बिहानसम्म कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन। इन्डोनेसिया विशाल द्वीपसमूह हो र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले बारम्बार भूकम्पको सामना गर्छ। यो क्षेत्रमा टेक्टोनिक प्लेटहरूको घर्षणले तीव्र भूकम्पीय गतिविधि हुने गर्छ।

सन् २०२१ मा सुलावेसीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा सयभन्दा बढीको ज्यान गएको थियो भने हजारौँ मानिस घरबारविहीन भएका थिए। सन् २०१८ मा सुलावेसीको पालूमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा २,२०० भन्दा बढीको मृत्यु भएको थियो।

सन् २००४ मा आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प र सुनामीमा एक लाख ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए। एजेन्सी

प्रकाशित: ९ जेष्ठ २०८२ १८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App