११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन वर्षपछि अन्त्य नजिक युक्रेन युद्ध : ट्रम्प-पुटिनबिच सोमबार वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी गर्ने घोषणा गरेका छन्। सोमबार दुई नेताबिच कुराकानी हुने जनाइएको छ। 

‘यो कुराकानीको उद्देश्य हप्तामा औसत पाँच हजार भन्दा बढी रुसी र युक्रेनी सैनिकको ज्यान लिने रक्तपात रोक्ने र व्यापार सुरु गर्ने हो,’ ट्रम्पले शनिबार ट्रुथ सोसलमा लेखेका छन्। गत शुक्रबार टर्कीमा युक्रेन र रुसका प्रतिनिधिहरूले आमने-सामने वार्ता गरेपछि यो घोषणा भएको हो। तीन वर्षमा दुवै देशले कुनै पनि तहमा प्रत्यक्ष वार्ता गरेको यो पहिलो पटक थियो। वार्ताको परिणामस्वरूप एक हजार कैदी आदानप्रदान गर्ने सम्झौता भएको छ। ट्रम्पले यसअघि पुटिनसँग आफूले प्रत्यक्ष कुरा नगरेसम्म शान्ति वार्तामा ठोस प्रगति नहुने बताउँदै आएका थिए। 

‘मलाई लाग्छ तपाईंलाई मन परोस् वा नपरोस्, पुटिन र म सँगै नभएसम्म केही हुनेछैन,’ ट्रम्पले यस हप्ताको सुरुमा पत्रकारहरूलाई भनेका थिए। ट्रम्पले पुटिनसँग कुरा गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नेटोका विभिन्न सदस्यसँग कुराकानी गर्ने योजना बनाएका छन्। ‘आशा छ, यो उत्पादक दिन हुनेछ, युद्धविराम हुनेछ, र यो अति हिंसात्मक युद्ध, जुन कहिल्यै हुनुहुँदैनथ्यो, समाप्त हुनेछ,’ ट्रम्पले शनिबार लेखे।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार पुटिन र ट्रम्पबिचको फोन वार्ताको तयारी भइरहेको पुष्टि गरेका छन्। ‘कुराकानीको तयारी भइरहेको छ,’ पेस्कोभले थप विवरण नदिई रुसी समाचार एजेन्सी टाससँग भने। युक्रेन, युरोप र अमेरिकाका सहयोगीहरूले रुस र युक्रेनबिच ३० दिने युद्धविरामका लागि मस्कोलाई दबाब दिएका थिए। पुटिनले यो प्रस्ताव अस्वीकार गरे। उनले टर्कीमा प्रत्यक्ष वार्ताको आह्वान गरे, जसलाई ट्रम्पले जेलेन्स्कीलाई स्वीकार गर्न दबाब बनाए। जेलेन्स्कीले पुटिन उपस्थित भएमा मात्र जाने जवाफ फर्काए। 

रुसले ‘निम्न तह’ को प्रतिनिधिमण्डल पठायो, पुटिन वार्तामा सहभागी भएनन्। युक्रेनले पनि ‘निम्न तह’ को प्रतिनिधिमण्डल पठायो, जसमा जेलेन्स्की गएनन्। २०२२ पछिको पहिलो वार्तामा कैदी आदानप्रदान सम्झौता सम्भव भयो। ट्रम्पले मध्यपूर्व यात्रामा पत्रकारहरूलाई भनेका थिए, ‘पुटिन र म सँगै नभएसम्म केही हुनेवाला छैन। म आउँन लागेको सोचेर उनी टर्की वार्तामा जान लागेका थिए। तर म नजाने भएपछि उनी पनि आएनन्।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग कुरा गर्दै द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याए। ‘सचिव रुबियोले मे १६ मा इस्तानबुलमा भएको युक्रेन-रुस वार्तामा कैदी आदानप्रदान सम्झौताको स्वागत गरे र राष्ट्रपति ट्रम्पको सन्देश दिए : अमेरिका रुस–युक्रेन युद्धको स्थायी अन्त्यका लागि प्रतिबद्ध छ,’ विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले भने।

‘अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनाले अगाडिको बाटो देखाउँछ। सचिवले तत्काल युद्धविराम र हिंसा अन्त्यको ट्रम्पको आह्वानमा जोड दिए।’ रुबियोले एक्समा लेखेका छन्, ‘अमेरिकाले बलियो शान्ति योजना प्रस्तुत गरेको छ र इस्तानबुलमा भएको युद्धबन्दी आदानप्रदान सम्झौताको स्वागत गर्छ। यो अवसर गुमाउनुहुँदैन। युद्ध अन्त्य गर्ने समय हो।’

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले युद्ध वार्तामा अरूलाई पठाउँदा पठाउँदा आफू थाकेको बताएका छन्। ‘पुटिन यो बैठक चाहन्थे। मलाई लाग्छ, मबिना सम्झौता हुँदैन। हामीले सँगै बस्नुपर्छ,’ उनले भने। ट्रम्पले पुटिनलाई युक्रेनसँग शान्तिको बाधकको रूपमा चित्रण गर्न चाहेका छैनन्। तर फक्स न्यूजसँग उनले भने, ‘पुटिन यो सबैबाट थाकेका छन्। उनी राम्रो देखिन चाहन्छन्। यो युद्ध एक हप्तामा सकिन्थ्यो।’ एजेन्सी

प्रकाशित: ४ जेष्ठ २०८२ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App