युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले युक्रेनी र रुसी प्रतिनिधिमण्डलबिच टर्कीको इस्तानबुलमा भएको वार्ता सकिएको छ। बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले दुवै देश एक/एक हजार युद्धबन्दी रिहा गर्न सहमति गरेको बताए।
उनले भने, ‘हामीले युद्धविराम र युद्धबन्दी आदानप्रदानको विषयमा छलफल गर्यौँ। एक/एक हजार युद्धबन्दी रिहाइको सहमति हाम्रो बैठकको नतिजा हो।’ रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेदिन्स्कीले पनि युद्धबन्दी आदानप्रदानको सम्झौता भएको पुष्टि गरेका छन्।
उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच प्रत्यक्ष वार्ताको प्रस्ताव राखेको छ। हामीले यो अनुरोध नोट गरेका छौं।’ मेदिन्स्कीले थपे, ‘हामी सहमत भएका छौँ कि दुवै पक्षले सम्भावित युद्धविरामको दृष्टिकोण लिखित रूपमा पेश गर्नेछन्।’
दुवै पक्षले युद्धबन्दी रिहाइको मिति तय गरेका छन्। तर यो सार्वजनिक गरिएको छैन। टर्कीका विदेशमन्त्री हाकान फिदानले यो वार्तालाई ‘विश्व शान्तिका लागि महत्त्वपूर्ण दिन’ भन्दै एक हजार युद्धबन्दीको आदानप्रदानलाई ‘विश्वास–निर्माणको कदम’ को संज्ञा दिए।
वार्तामा युक्रेनले ३० दिनको युद्धविरामको प्रस्ताव राखे पनि यसमा ठोस सहमति नभएको बताइएको छ। युक्रेनी पक्षले रुसी मागलाई ‘अवास्तविक’ भन्दै आलोचना गरेको छ। यो वार्ता सन् २०२२ पछि दुई देशबिच को पहिलो प्रत्यक्ष भेट हो, जसमा टर्कीले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो।
प्रकाशित: २ जेष्ठ २०८२ २१:१७ शुक्रबार