विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार गाजामा इजरायली आक्रमणपछि हृदय रोग र क्यान्सरको उपचार सेवा बन्द भएको जनाएको छ।
सामाजिक सञ्जाल एक्समार्फत डब्लुएचओका महानिर्देशक डा टेड्रोस एधानोम गेब्रेयससले मङ्गलबारको आक्रमणले खान युनूसको युरोपेली अस्पतालमा गम्भीर क्षति पुगेको र हाल सेवा बन्द भएको बताएका छन्।
टेड्रोसले खान युनूसको अस्पताल बन्द हुँदा न्यूरोसर्जरी, मुटु र क्यान्सर उपचार गाजामा कहीं उपलब्ध नभएको बताएका छन्।
यसले अत्यावश्यक स्वास्थ्य सेवाको अभाव भई स्वास्थ्य प्रणाली कमजोर हुने भएकाले अस्पतालको सुरक्षा गर्नुपर्ने उनले जोड दिएका छन्। ‘डक्टर्स विदाउट बोर्डर्स’ले पनि सामाजिक सञ्जाल एक्समा यो अस्पताल अबुध रोगको उपचारसहित गाजाको स्वास्थ्य प्रणालीको अन्तिम सेवा केन्द्र भएको बताएको छ।
गाजाका अधिकांश अस्पताल आंशिक रूपमा मात्र सञ्चालित छन् र क्षमताभन्दा बढी काम गरिरहेका छन्। सङ्गठनले स्वास्थ्य सुविधामा बारम्बार हुने आक्रमणले इजरायलले गाजालाई विनाश गरिरहेको अर्को प्रमाण भएको बताएको छ।
प्रकाशित: २ जेष्ठ २०८२ १८:२४ शुक्रबार





