अत्यधिक वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–८ आहालेमा शुक्रबार राति गएको भीषण पहिरोमा घरसँगै बगेर बेपत्ता भएका मेहरमान राई शनिबार बिहान सकुशल सम्पर्कमा आएका छन्।
शुक्रबार राति करिब साढे ९ बजे घरसहित बगेका राई पहिरोले केही तलसम्म पुर्याए पनि भाग्यवश जोगिन सफल भएका थिए।
उनी रातभर जंगलमा ओत लागेर बसेको र शनिबार बिहान ११ बजेतिर नजिकैको बस्तीमा पुगेर गाउँलेको सम्पर्कमा आएको नगरप्रमुख अशोक कार्कीले जानकारी दिए। स्थानीयले खबर गरेलगत्तै टोली खटाएर उनको उद्धार गरिएको थियो। हाल उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
उक्त पहिरोले मेहरमानको घर पूर्ण रूपमा बगाउनुका साथै छिमेकी वीरसिंह राई, अरुणकुमार राई र बमप्रसाद राईको घर उच्च जोखिममा पारेको वडाध्यक्ष जयकुमार राईले बताए।
पहिरोका कारण चार परिवारका ३२ जना सदस्य विस्थापित भएका छन्। विस्थापितहरूलाई छिमेकीको घरमा अस्थायी आश्रयको प्रबन्ध मिलाई वडा र नगरपालिकाबाट तत्काल राहत उपलब्ध गराइएको छ।
करिब ५०० मिटर फराकिलो जमिन चिरा परेर सुरु भएको पहिरो डेढ किलोमिटर तलसम्म पुगेको छ। पहिरोले ग्रामीण सडकहरू विभिन्न ठाउँमा अवरुद्ध हुँदा उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयलाई घटनास्थल पुग्न दुईदेखि तीन घण्टा पैदल हिँड्नुपरेको वडाध्यक्ष राईले बताए।
हाल पीडितको उद्धार र अस्थायी पुनर्वासलाई प्राथमिकता दिइएकाले क्षतिको यकिन विवरण संकलन गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ।
पहिरो वर्षाका कारण मात्र गएको हो वा अन्य कुनै भूगर्भीय कारणले हो भन्नेबारे विस्तृत अध्ययन गरिने नगरप्रमुख कार्कीले बताए।
प्रकाशित: २७ भाद्र २०८३ २२:३८ शनिबार





