रसुवाको विनाशकारी बाढीमा परेर १७ दिनदेखि बेपत्ता त्रियुगा नगरपालिका-५ बगाहाका ४२ वर्षीय इलेक्ट्रिकल इन्जिनियर देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।
गत भदौ १० गते आएको भीषण बाढीपछि जीवित अथवा मृत अवस्थामा कुनै पत्तो नलागेपछि परिवारजनले मृत्यु भएको ठहर गर्दै शनिबार धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरेका हुन्।
छोराको कुनै अत्तोपत्तो नपाएपछि आफन्तजन, इष्टमित्र र गाउँले समाजलाई बोलाएर प्रतीकात्मक शव बनाई अन्तिम संस्कार गरिएको बाबु उद्यब घिमिरेले बताए। घिमिरे रसुवास्थित एक जलविद्युत् आयोजनामा कार्यरत थिए।
सो बाढीमा परेर उदयपुरका मात्रै १५ जना अझै सम्पर्कविहीन छन्। सुरुमा सम्पर्कविहीन भएका २१ जनामध्ये ६ जना सम्पर्कमा आए पनि घिमिरेसहित १५ जनाको अवस्था अझै अज्ञात छ।
सम्पर्कविहीन हुनेहरूमा जलविद्युतमै कार्यरत अन्य ४ जना, नेपाली सेनाका ३ जना तथा चालक र ज्यालामजदुरी गर्न गएका व्यक्तिहरू छन्।
बेपत्ताहरूको खोजी कार्य जारी राखिएको छ। फेला पर्न सक्ने शवहरूको पहिचान सहज बनाउन परिवारजनको ‘डीएनए’ नमुना संकलन गरी पठाइएको छ।
प्रकाशित: २७ भाद्र २०८३ २२:१० शनिबार





