विगत दुई–तीन दिनदेखि परेको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो जाँदा सडकछेउको ग्याबिन वाल भासिएको छ।
शुक्रबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह तथा एसियाली विकास बैंकका प्रतिनिधिसहितको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपछि जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक काम अघि बढाइएको ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठले सामामजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार हाल माथिल्लो भागमा चार स्थानमा अस्थायी ड्रेन निर्माण गरी वर्षात्को पानी डाइभर्ट गर्ने काम भइरहेको छ। यस्तै, भासिएको भागको ओभरबर्डेन हटाउने तथा एहतियातका रूपमा जलाशयको पानी ४०० लिटर प्रतिसेकेन्डका दरले २४ सै घण्टा निकासी गर्ने व्यवस्था मिलाइएको छ।
हाल तल्लो तटीय क्षेत्रमा उल्लेख्य जोखिम नदेखिएको उनले बताएका छन्। भू–भाग स्थिर भएपछि भासिएको क्षेत्रमा ग्याबिन तथा स्लोप प्रोटेक्सनको स्थायी काम गरिनेछ।
घटनास्थलमा प्राविधिक टोली खटाइएको छ र टोलीले निरन्तर अनुगमन गर्दै आवश्यक प्राविधिक तथा सुरक्षात्मक काम अघि बढाइरहेको उनले जानकारी दिएका छन्।
प्रकाशित: २७ भाद्र २०८३ ११:२५ शनिबार





