१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हतियारको व्यापार गर्छन्, युद्ध मन नपराउने ट्रम्प

क्याप्शन

युद्ध मन नपराउने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियाद भ्रमणका क्रममा साउदी अरेबियासँग १४२ अर्ब डलरको हतियार सम्झौतामा हस्ताक्षर गरेका छन्। ह्वाइट हाउसले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको यो सम्झौतालाई ‘इतिहासकै ठूलो रक्षा सहकार्य सम्झौता’ भनेको छ।

यो सम्झौता साउदी अरेबियाले अमेरिकामा ऊर्जा, खानी, प्रविधि, र रक्षा क्षेत्रमा गर्ने ६ सय अर्ब डलरको लगानी प्रतिबद्धताको हिस्सा हो। रियादमा आयोजित साउदी-अमेरिका लगानी मञ्चमा ट्रम्पले यो सम्झौतालाई ऐतिहासिक भएको भन्दै भने, ‘आज हस्ताक्षरित सम्झौताहरूले अमेरिका र साउदी अरेबियाबिचको साझेदारीको नयाँ स्वर्ण युगको सुरुवात गर्छ।’

यो सम्झौता ट्रम्पको चारदिने मध्यपूर्व भ्रमणको पहिलो चरणमा भएको हो, जसमा कतार र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण पनि समावेश छ। ह्वाइट हाउसका अनुसार सम्झौतामा हवाई तथा क्षेप्यास्त्र रक्षा प्रणाली, समुद्री सुरक्षा, र साउदी सेनाका लागि व्यापक तालिम समावेश छ।

तर, यो सम्झौताले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया निम्त्याएको छ। केही प्रयोगकर्ताले ट्रम्पको शान्तिको कुरा र हतियार बिक्रीलाई विरोधाभासपूर्ण मानेका छन्। ‘युद्ध मन नपराउनेले यति ठूलो हतियार सम्झौता किन गर्छन्?’ एक प्रयोगकर्ताले एक्समा लेखे। कतिपयले यो सम्झौताले अमेरिकामा रोजगारी सिर्जना गर्ने भन्दै प्रशंसा गरेका छन्। 

ट्रम्पले क्षेत्रीय स्थायित्वको आशा व्यक्त गर्दै भने, ‘हजार वर्षपछि पहिलोपटक यो क्षेत्रलाई अशान्तिको ठाउँ होइन, अवसर र आशाको भूमिको रूपमा हेरिनेछ।’ उनले साउदी अरेबियालाई अब्राहम सम्झौता अन्तर्गत इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्न आग्रह समेत गरेका छन्। यो सम्झौता सिरियामाथिको अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयसँगै आएको हो। 

यसअघि ट्रम्पले भारत-पाकिस्तान तनावको कुरा निकालेर आफ्नो सपना ‘शान्ति स्थापना गर्नु हो विभाजन हैन भन्दै आफूलाई युद्ध मन नपर्ने’ बताएका थिए।  ‘युद्ध मन नपराउनेले किन हतियारको कारोबार गर्नु,’ सामाजिक सञ्जालमा उमेशकुमार लेख्छन्, ‘यो  उनको झनै खतरनाक व्यापार भयो।’ ट्रम्पले भारत र पाकिस्ताबिचको युद्ध विराममा मध्यस्थता गर्न धेरै हदसम्म व्यापारको उपयोग गरेको बताएका थिए। 

यो पनि पढ्नुहोस्

मलाई युद्ध मन पर्दैन : ट्रम्प

 

प्रकाशित: ३१ वैशाख २०८२ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App