१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलाई युद्ध मन पर्दैन : ट्रम्प

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपना शान्ति स्थापना गर्नु भएको र विभाजन नभई एकता चाहेको बताएका छन्।

मंगलबार साउदी अरेबियाको राजधानी रियादमा आफूलाई युद्ध मन नपर्ने उल्लेख गरेका उनले भारत र पाकिस्तानबिचको युद्धविरामको श्रेय आफूलाई दिए।

‘मेरो सबैभन्दा ठुलो सपना शान्ति स्थापना गर्नु हो,’ उनले भने, ‘म विभाजन होइन, एकता चाहन्छु। मलाई युद्ध मन पर्दैन।’ भारत र पाकिस्तानबिच युद्धविराम गराउन व्यापारको ठूलो भूमिका खेलेको उनको भनाइ छ।

‘मैले भारत र पाकिस्तानलाई भने, मित्रहरू, एउटै सम्झौता गरौँ। केही व्यापार गरौँ,’ उनले भने, ‘परमाणु मिसाइलहरूको व्यापार नगरौँ। बरु ती सामानहरूको व्यापार गरौँ जुन तपाइहरूले निकै सुन्दर तरिकाले बनाउनुहुन्छ।’

उनले दुवै देशलाई लडाइँ नरोके व्यापार नगर्ने चेतावनी पनि दिए। भारत-पाकिस्तान युद्धविरामबारे यो ट्रम्पको चार दिनभित्रको चौथो बयान हो।

यसअघि सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग उनले भारत र पाकिस्तानबीच सम्भावित परमाणु युद्ध रोकेको दाबी गरेका थिए। त्यतिबेला पनि उनले भनेका थिए, ‘मैले दुवै देशलाई सम्झाएँ– यदि लडाइँ रोकिने होइन भने व्यापार पनि हुने छैन।’

दुवै देशसँग धेरै परमाणु हतियार छन्, र युद्ध भएको भए लाखौं मानिस मारिन सक्थे भन्ने उनको चिन्ता छ। एजेन्सी

प्रकाशित: ३१ वैशाख २०८२ ०७:१८ बुधबार

#trump #NagarikNews #trumpsaudi